तीन वर्षमै एआई मानिसभन्दा बढी बुद्धिमान बन्न सक्ने नोबेल विजेता हिन्टनको चेतावनी

२९ कार्तिक काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का ‘गडफादर’ मानिने नोबेल पुरस्कार विजेता कम्प्युटर वैज्ञानिक प्राध्यापक जेफ्री हिन्टनले एआईको तीव्र विकासलाई लिएर गम्भीर चेतावनी दिएका छन् । यो प्रविधिको विकास र विस्तारलाई नियन्त्रण गर्न नसकिए आगामी ३ देखि १० वर्षभित्र एआई मानिसभन्दा कैयौँ गुणा बुद्धिमान बन्न सक्ने र त्यसपछि यसलाई नियन्त्रणमा राख्न असम्भव हुन सक्ने उनको आशंका छ ।

अमेरिकी टेलिभिजन कार्यक्रम ‘फायरिङ लाइन विद मार्गरेट हुभर’ मा आफ्नो आगामी पुस्तकको सन्दर्भमा कुराकानी गर्दै हिन्टनले ‘सुपर इन्टेलिजेन्स’ को सम्भावना र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमबारे चर्चा गरेका थिए ।

उनका अनुसार एआई अपेक्षा गरिएभन्दा निकै तीव्र गतिमा मानिसभन्दा बढी बुद्धिमान बन्दै गएको छ । यदि यसले आफैँ निर्णय लिन र आफ्ना उद्देश्यअनुसार काम गर्न थाल्यो भने मानिसले यसमाथिको नियन्त्रण गुमाउन सक्नेछ । हिन्टनले आगामी एक दशकभित्र एआईका कारण मानव अस्तित्व नै संकटमा पर्ने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको अन्य अनुसन्धानकर्ताहरूको अनुमानलाई पनि समर्थन गरेका छन् ।

हिन्टनको बुझाइमा एआईबाट उत्पन्न हुन सक्ने जोखिम अपरिहार्य भने होइन । यसलाई रोक्न सरकारले कडा नियम–कानुन बनाउनुपर्ने र वैज्ञानिकहरूले मानिसलाई हानि पुर्‍याउने उद्देश्य नराख्ने खालका एआई प्रणाली विकास गर्नुपर्ने उनको धारणा छ ।

आफ्नो तर्क स्पष्ट पार्दै हिन्टनले मानिस पृथ्वीको सबैभन्दा शक्तिशाली प्राणी हुनुको कारण उसको शारीरिक शक्ति नभई अन्य जीवको तुलनामा विकसित बुद्धि भएको बताए । उनका अनुसार जब एआईको बौद्धिक क्षमता मानिसको भन्दा कैयौँ गुणा बढी हुनेछ, त्यसपछि त्यसलाई नियन्त्रण गर्ने क्षमता मानिसको हातबाट गुम्न सक्छ ।

हिन्टनका अनुसार अहिलेका एआई प्रणालीले मूलतः मानिसले सिकाएका र निर्देशन दिएका काम गर्छन् । तर निकट भविष्यमै यस्ता प्रणाली विकास हुन सक्छन्, जसले आफैँ आफ्नो कोड लेख्ने र आफ्नै क्षमतामा सुधार गर्दै पहिलेभन्दा अझ बुद्धिमान बन्नेछन् । यस्तो अवस्था आएपछि एआईको विकास र त्यसको नियन्त्रण थप जटिल बन्न सक्ने उनको चेतावनी छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours