१८ साउन, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा मौसम बदली हुने तथा विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने पहाडी भेगका धेरै तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागले बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशसँगै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने उल्लेख मौसम बुलेटिनमा गरिएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्र्यान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। साथै प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गरी पालना गर्न पनि अनुरोध गरेको छ।


+ There are no comments
Add yours