चीनमा बिक्री घटेपछि बीएमडब्लूले रोजगारी कटौती तीव्र बनाउने, नाफामा दबाबसँगै खर्च नियन्त्रणमा जोड

तेस्रो त्रैमासिकमा खुद नाफा १५ प्रतिशत घट्यो, चीनमा सवारीसाधनको आपूर्ति झन्डै २५ प्रतिशत खस्किएपछि पुनर्संरचना योजना अघि बढाउँदै कम्पनी

१९ कार्तिक, काठमाडाैँ । चीनमा सवारीसाधनको बिक्री र माग घटेपछि जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले रोजगारी कटौती योजनालाई तीव्र बनाउने भएको छ। विश्वकै ठूलो सवारीसाधन बजार चीनमा बढ्दो प्रतिस्पर्धा र कमजोर मागका कारण कम्पनीको नाफा घटेपछि व्यवस्थापनले खर्च नियन्त्रण र संगठनात्मक पुनर्संरचनालाई प्राथमिकता दिएको हो।

कम्पनीका प्रमुख कार्यकारी मिलान नेदेल्कोभिकले बुधबार नयाँ योजनाअन्तर्गत कति रोजगारी कटौती गर्ने भन्ने यकिन नभए पनि कम्पनीको आवश्यकताअनुसार कटौती अघि बढाउने बताएका छन्। कर्मचारीको सहभागिता अपेक्षाभन्दा राम्रो रहेकाले यसअघि तय गरिएको समयभन्दा अगावै कटौती कार्यक्रम पूरा गर्न सकिने उनको भनाइ छ।

बीएमडब्लूले गत जुलाईमा सुरु गरेको कार्यक्रमअन्तर्गत सन् २०२७ को अन्त्यसम्ममा ८ हजार रोजगारी कटौती गर्ने लक्ष्य राखेको थियो। तर, स्वैच्छिक रूपमा कर्मचारीको सहभागिता बढेपछि निर्धारित समयभन्दा पहिले नै थप कटौती गर्न सकिने अवस्था बनेको कम्पनीको भनाइ छ।

सेप्टेम्बरमा समाप्त भएको तीन महिनामा बीएमडब्लूको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशत घटेर १ अर्ब ४५ करोड युरोमा झरेको छ। यस अवधिमा कम्पनीको बिक्री पनि करिब ६ प्रतिशत घटेर ३० अर्ब ५० करोड युरोमा सीमित भएको छ।

कम्पनीका सवारीसाधनको विश्वव्यापी आपूर्ति ६.३ प्रतिशतले घटेको छ। चीनमा मात्रै आपूर्ति २४.८ प्रतिशतले खस्किएको छ। चीनको बजारमा स्थानीय विद्युतीय सवारी उत्पादकसँग बढेको प्रतिस्पर्धा र मागमा आएको कमीले बीएमडब्लूलगायत जर्मन कार निर्मातालाई आफ्नो व्यावसायिक रणनीति पुनरावलोकन गर्न बाध्य बनाएको छ।

चीनमा बिक्री घट्नुको असर बीएमडब्लूमा मात्र सीमित छैन। मर्सिडिज–बेन्जले पनि कर्मचारी कटौती कार्यक्रम पुनः सुरु गर्ने भएको छ। त्यस्तै, फोक्सवागनले सन् २०३० सम्ममा आफ्ना १० ब्रान्डअन्तर्गत विश्वभर १ लाख २० हजार रोजगारी कटौती गर्ने योजना बनाएको छ। यसले जर्मनीको अटोमोबाइल उद्योग लागत घटाउने र उत्पादन संरचना पुनर्गठन गर्ने दबाबमा रहेको देखाउँछ।

बीएमडब्लूले भने चीनको बजार हिस्सा पुनः प्राप्त गर्ने रणनीतिअन्तर्गत त्यहाँ बिक्री हुने सवारीसाधनको आपूर्ति शृङ्खलाको ठूलो हिस्सा चीनमै स्थानान्तरण गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीका अनुसार चीनमा सञ्चालन भइरहेको व्यवसायबाट प्राप्त अनुभव र प्रविधि अन्य बजारमा समेत उपयोग गर्न सकिनेछ।

नेदेल्कोभिकले चीनमा स्थानीय साझेदार मोमेन्टासँगको सहकार्यमा विकसित चालक सहायता सफ्टवेयरलाई यसको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार कानुनी रूपमा सम्भव भएसम्म चीनमा विकसित प्रविधि र ज्ञान अन्य बजारमा तथा अन्य देशको प्रविधि चीनमा हस्तान्तरण गर्ने काम भइरहेको छ।

बीएमडब्लू, मिनी र रोल्स–रोयस ब्रान्ड समेटिएको कम्पनीले चीनको बजारमा प्रतिस्पर्धी बन्न स्थानीय उत्पादन र आपूर्ति शृङ्खलालाई प्राथमिकता दिन थालेको छ। तर, बिक्रीमा आएको गिरावट र नाफामा परेको दबाबका कारण कम्पनीले रोजगारी कटौती तथा लागत नियन्त्रणलाई पनि उत्तिकै तीव्र बनाउने संकेत गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours