१९ कार्तिक, काठमाडौँ । मिती २०८३ साल कार्तिक २० गते शुक्रबार कार्तिककृष्णपक्ष द्वादशी तिथी बिहान ११ / १० बजेसम्म त्यस उपेरान्त त्रयोदशी तिथी भएकोले यो दिन धनत्रयोदशी (धन्तेरस) हो भने २१ गते शनिबार धन्वन्तरि जयन्ती रहेको छ र यो दिन यम दीपदान हो।
धनतेरस पूजा विधि-
धनतेरसको दिन सबैभन्दा पहिले बिहान उठेर दिनचर्याको चिन्ता छोडेर धनतेरस पूजाको तयारी गर्न थाल्नुहोस्।यसपछि घरको उत्तर–पूर्व कुनामा भगवान धन्वंतरीको पूजा गर्नुहोस्।ध्यान राख्नुहोस् कि पूजा गर्दा आफ्नो अनुहार सधैं उत्तर, पूर्व वा उत्तर दिशामा राख्नुहोस्।
पूजा गर्दा पञ्चदेव अर्थात् सूर्यदेव, भगवान गणेश, माता दुर्गा, भगवान शिव र भगवान विष्णुको मूर्ति स्थापना गर्नुपर्दछ।यसपछि भगवान धन्वंतरीको षोडशोपचार पूजा गर्नुहोस्।पूजाको अन्त्यमा, सिद्धिको लागि निश्चित रूपमा दक्षिणा चढाउनुहोस्।पूजा समापन पछि भगवान धन्वंतरीको अगाडि धूप, दीप, बेसार, कुमकुम, चन्दन, अक्षत र फूल अर्पण गरी पूजा गर्नुहोस्।
यसपछि घरको मुख्य प्रवेशद्वार वा आँगनमा दियो बाल्नुहोस्।यम देवताको नाममा दीप अवश्य बाल्नु।त्यसैगरी यस दिन यमदीपदान गर्ने चलन पनि छ ।धार्मिक विधि अनुसार दिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्छ ।यसो गर्दा मृत्युपछि यमराजले दिने यातना खप्नु पर्दैन भन्ने विश्वास गरिन्छ ।
मृत्युना पाशदण्डाभ्यां कालेन श्यामलया सह ।त्रयोदश्यां दीपदानात् सूर्यजः प्रीयतां मम ॥
अर्थात- त्रयोदशीका दिन दीपदान गर्नाले पाश र दण्ड लिएका मृत्युका देवता यमराज (सूर्यपुत्र) आफ्नी शक्ति (श्यामा) र काल सहित ममाथि प्रसन्न होऊन्।
धनतेरसको दिन घरमा आफ्नो मनपर्ने देवताको पूजा गर्दा स्वस्तिक, कलश, नवग्रह देवता, पञ्च लोकपाल, षोडश मातृका र सप्त मातृकाको पूजा गर्न नबिर्सनुहोस्।
धनतेरसको पौराणिक कथा
भगवान धन्वंतरीलाई स्वास्थ्यका देवताको रुपमा पुजिन्छ ।पौराणिक कथा अनुसार सागर मन्थनका बेला भगवान धन्वंतरी अमृत कलश लिएर अवतरण गर्नु भएको थियो।
अर्को किंवदन्ती अनुसार एक पटक भगवान विष्णुले श्राप पाएपछि लक्ष्मीले तेह्र वर्ष किसानको घरमा बस्नुपर्ने भयो ।माता लक्ष्मीको त्यो किसानको बासले गर्दा उनको घर धनसम्पत्तिले भरियो।तेह्र वर्षपछि भगवान विष्णु लक्ष्मीलाई लिन आउँदा किसानले लक्ष्मीलाई त्यहीँ बस्न अनुरोध गरे ।
यसबारे लक्ष्मीले किसानलाई भोलि त्रयोदशी रहेको भन्दै दीप सफा गरी दीप प्रज्वलन गरी पूजा गरेमा कृषकले ऐश्वर्य र धन दौलत प्राप्त हुने बताउनु भयो।यसपछि किसानले माता लक्ष्मीले भनेजस्तै गरे ।तब माताको कृपाले धन र वैभव प्राप्त भयो।त्यसबेलादेखि धनतेरसको दिन लक्ष्मीको पूजा गर्ने चलन सुरु भएको जनविश्वास छ। धन्तेरसको दिन कौडा,कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडा कमलगट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ ।
कथा: राजा हेमका छोरा र यमदूतको संवाद, शास्त्र अनुसार राजा हेमको घरमा धेरै समयपछि एक संस्कारी छोराको जन्म भयो। ज्योतिषहरूले बालकको कुण्डली हेरेर एउटा भयानक भविष्यवाणी गरे— “यो बालकको विवाह भएको चौथो दिनमा नै सर्पको डसाइबाट अकाल मृत्यु हुनेछ।” राजाले आफ्नो छोरालाई मृत्युबाट बचाउनका लागि यमुना नदीको किनारमा एउटा भूमिगत र सुरक्षित दरबार बनाएर त्यहीँ राखे। तर, संयोगवश राजकुमारको विवाह एक राजकुमारीसँग भयो।
विवाहको ठीक चौथो दिन, भविष्यवाणी अनुसार यमराजको काल-प्रेरित सर्प (वा यमदूत) त्यहाँ पुग्यो र राजकुमारको प्राण हरण गर्यो। विवाहको चौथो दिनमै आफ्ना पतिको मृत्यु भएपछि राजकुमारीले अत्यन्तै करुण विलाप गर्न थालिन्।
जब यमदूतहरूले राजकुमारको प्राण लिएर यमलोक जाँदै थिए, तब राजकुमारीको त्यो हृदयविदारक रोदन र नवविवाहित दम्पतीको यो अवस्था देखेर कठोर यमदूतहरूको मन पनि पग्लियो। उनीहरूका आँखाबाट आँसु बग्न थाले।
यमलोक पुगेपछि एक यमदूतले असमञ्जसमा परेर यमराजलाई सोधे— “हे प्रभु! हजुरको आज्ञा पालन गर्नु हाम्रो कर्तव्य हो। तर आज एक नवविवाहित राजकुमारको प्राण हनन् गर्दा हाम्रो हृदय छियाछिया भयो। के यो संसारमा मनुष्यका लागि अकाल मृत्युबाट बच्ने कुनै उपाय वा व्रत छैन?”
दूतको यस्तो करुण प्रश्न सुनेर यमराजले भन्नुभयो— “हो, अकाल मृत्यु अवश्यम्भावी छ, तर यसबाट बच्ने एउटा उपाय छ। जसले कार्तिक कृष्ण पक्षको त्रयोदशी (धनतेरस/कागतिहार) का दिन साँझको समयमा मेरो (यमराजको) निमित्त दक्षिण दिशातर्फ मुख राखेर आदरपूर्वक दीपदान (बत्ती बाल्ने) गर्दछ, उसको घरमा कहिल्यै पनि अकाल मृत्यु हुने छैन र म ती मनुष्यलाई पाशबाट मुक्त गरिदिनेछु।”
त्यस समयदेखि नै यो यमदीपदान परम्परा कार्तिक कृष्ण त्रयोदशीका दिन सनातन धर्ममा चलिआएको हो, जसलाई शास्त्रले अकाट्य मानेको छ।
पं-बालमुकुन्द देबकोटा


+ There are no comments
Add yours