युरोपका अधिकांश देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिजका खानेकुरा कुहिए

१९ कात्तिक, स्टकहोम । युरोपेली सुपरमार्केटहरूमा लक्षित गरेर सोमबार बिहान भएको एक नयाँ साइबर आक्रमणले स्विडेन, लक्जम्वर्ग,आयरल्यान्ड, बेल्जियमलगायत देशका पसलहरूलाई प्रभावित बनाएको छ । ह्याकरहरूले पसलहरूमा रहेका फ्रिज र फ्रिजरको तापक्रम अत्यधिक बढाएर लाखौँ रुपैयाँ बराबरको खाना नष्ट गर्न बाध्य पारेका छन् ।

स्टकहोमको एक स्टोरकी सेल्स म्यानेजर इन्ग्ला इन्ग्वालले भनिन्, ‘सबै कुरा नष्ट भयो । सोमबार बिहान २ बजेतिर भएको यो आक्रमणबाट हाम्रा फ्रिजरको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्यो ।’ यसले गर्दा स्टोरहरूले कुहिएका तथा बिग्रिएका खाद्यान्नहरू फ्याँक्नु परेको छ ।

गत महिना फ्रान्समा यस्तै किसिमको आक्रमण भएको थियो । जसमा सयौँ सुपरमार्केटका कुलिङ युनिटहरू ह्याकरले नियन्त्रणमा लिँदा आगलागी र खाद्यान्नको क्षति भएको थियो । यसपटकको घटनामा बेल्जियम र लक्जेम्बर्ग, स्विडेनका ठूला ग्रोसरी चेनहरू प्रभावित भएका छन् ।

यस आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । रुस–युक्रेन युद्धपछिको सुरक्षा तनाव र हाइब्रिड खतराका कारण युरोपेली अधिकारीहरू चिन्तित बनेका छन् । बेल्जियमको साइबर सुरक्षा केन्द्रकी कात्रिएन एगर्सले एआईको प्रयोगमार्फत जुनसुकै आईटी प्रणाली पनि जोखिममा पर्न सक्ने चेतावनी दिएकी छन् ।

साइबर सुरक्षा अनुसन्धानकर्ता टम हेगेलले खुद्रा व्यापार क्षेत्रलाई यस्तो आक्रमणको जोखिममा रहेको बताए । किनकि, रिफ्रिजरेसन कन्ट्रोलर र अन्य डिजिटल प्रणालीहरूको विशाल नेटवर्क यस्तो व्यापार क्षेत्रमा हुन्छ । युरोपेली संघका कृषि आयुक्त क्रिस्टोफ हानसेनले यसलाई खाद्य आपूर्ति शृखंला ध्वस्त पार्ने गम्भीर प्रयास भन्दै कडा चेतावनी दिएका छन् । रोयटर्स

You May Also Like

More From Author

+ There are no comments

Add yours