३० कार्तिक, काठमाडाैँ । ‘ओरल रिन्स’ वा ‘माउथ रिन्स’ पनि भनिने माउथवासमा सामान्यतया दाँतका बिचको भाग सफा गर्न एन्टिब्याक्टेरियल तत्त्वहरूका साथै स्वाद दिने अन्य पदार्थहरू मिसाइएका हुन्छन्।
केही प्रकारका माउथवासमा निष्क्रिय तत्त्वका रूपमा मदिरा (अल्कोहल) प्रयोग गरिएको हुन्छ भने केही अल्कोहलमुक्त हुन्छन्।
कतिपय मानिसका लागि माउथवासले केही अप्रिय दुष्प्रभावहरू (साइड इफेक्ट) निम्त्याउन सक्छ। यस्ता दुष्प्रभावहरूले दैनिक रूपमा पसलबाट किनेर प्रयोग गरिने माउथवासको फाइदालाई ओझेलमा पार्न सक्छन्।
केही व्यक्तिहरूले भने निश्चित ब्रान्डका माउथवासमा प्रयोग गरिने रासायनिक रङ र स्वादप्रति चासो तथा चिन्ता व्यक्त गरेका छन्। त्यसो भन्दैमा, माउथवास आफैँमा नराम्रो भने होइन। आउनुहोस्, माउथवासका दुष्प्रभावहरू र यसको सुरक्षित प्रयोगका लागि जान्नैपर्ने कुराहरूबारे चर्चा गरौँ।

अल्कोहल मिसिएको माउथवासका दुष्प्रभावहरू
माउथवासमा अल्कोहलको प्रयोग एन्टिसेप्टिकका रूपमा नभई प्रिजर्भेटिभ र अन्य सक्रिय तत्त्वहरूलाई घोलकका रूपमा बोक्ने माध्यमका रूपमा गरिन्छ।
माउथवासका सबै दुष्प्रभावहरू प्रत्येक व्यक्तिमा देखिन्छन् भन्ने हुँदैन, र यसमा प्रयोग गरिएका निश्चित मिश्रणअनुसार दुष्प्रभाव कम वा बढी हुन सक्छ।
मुखको घाउ निम्त्याउन वा बल्झाउन सक्ने
मुखमा ‘झाग’ वा फिँज निकाल्नका निम्ति केही मन्जन र माउथवासहरूमा सोडियम लोरिल सल्फेट (एसएलएस) नामक तत्त्व प्रयोग गरिन्छ।
मुखमा बारम्बार घाउ-खटिरा (क्यानकर सोर) आइरहने समस्या भएका व्यक्तिहरूले एसएलएसयुक्त माउथवास (वा मुखसम्बन्धी कुनै पनि उत्पादन) प्रयोग गर्दा घाउ निस्कने वा भएको घाउ अझ बल्झिने सम्भावना रहन्छ। क्यान्सरको केमोथेरापी गराइरहेका बिरामीहरूमा समेत यस्तो समस्या देखिन सक्छ।

यस्तो किसिमको संवेदनशीलता वा समस्या नभएका व्यक्तिहरूमा यो दुष्प्रभाव नदेखिने सम्भावना बढी हुन्छ।
मुख सुक्खा बनाउन सक्ने
‘जेरोस्टोमिया’ अर्थात् मुख सुक्खा हुने समस्या त्यस्तो अवस्था हो, जहाँ जिब्रोलाई ओसिलो राख्न र दाँतलाई कीरा लाग्नबाट जोगाउन र्या ल ग्रन्थिहरूले पर्याप्त र्यालल उत्पादन गर्न सक्दैनन्।
‘अमेरिकन डेन्टल एसोसिएसन’ का अनुसार मुख सुक्खा हुने समस्या भएकाहरूलाई फ्लोराइडयुक्त माउथवास प्रयोग गर्न सल्लाह दिन सकिन्छ। तथापि, अल्कोहल मिसिएको माउथवासले मुख सुक्खा हुने समस्यालाई झन् गम्भीर बनाउन सक्छ।
प्रयोग गर्दा पोल्ने वा दुख्ने हुन सक्ने
कसै-कसैलाई अल्कोहल मिसिएको माउथवास प्रयोग गर्दा मुखभित्र हुने झमझमाहट र चसक्क हुने अनुभूति मन पर्न सक्छ। तर अरू कतिपयका लागि यो अनुभूति असह्य पोलाइ वा दुखाइ जस्तो हुन सक्छ।
कुनै-कुनै माउथवासमा २५ प्रतिशतसम्म अल्कोहल हुने भएकाले यस्तो पोलाइ झन् तीव्र महसुस हुन्छ।
माउथवासका कतिपय दुष्प्रभावहरू यसको मिश्रणमा अल्कोहल हुनु वा नहुनुसँग सम्बन्धित हुँदैनन्।

मुखका स्वस्थ जीवाणु नष्ट गर्न सक्ने
अल्कोहल भएको वा नभएको, जुनसुकै प्रकारको माउथवासले पनि मुखभित्रका ठुलो सङ्ख्याका ब्याक्टेरिया नष्ट गर्न सक्छ।
मुखमा रहेका केही ब्याक्टेरियाले दाँतमा कीरा लाग्ने र सास गन्हाउने समस्या निम्त्याए तापनि अन्य ब्याक्टेरिया भने ‘ओरल माइक्रोबायोम’ भनिने मुखको प्राकृतिक प्रणालीका अङ्ग हुन्; जसले खाना पचाउन सहयोग गर्नुका साथै दाँत तथा गिजालाई स्वस्थ राख्न मद्दत गर्छन्।
नियमित रूपमा मुखका सबै ब्याक्टेरिया नष्ट गर्नु उचित नमानिने हुँदा तुलनात्मक रूपमा नरम एन्टिसेप्टिक मिश्रण रोज्नु स्वास्थ्यका दृष्टिले उत्तम विकल्प हुन सक्छ।
दाँतमा दाग बस्न सक्ने
सन् २०१९ मा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार माउथवास प्रयोगको सबैभन्दा सामान्य दुष्प्रभाव दाँतमा दाग बस्नु थियो।
चिकित्सकको सिफारिसमा मात्र पाइने ‘क्लोरहेक्सिडिन’ (सीएचएक्स) नामक तत्त्व भएको माउथवासको प्रयोगपछि दाँतमा अस्थायी दाग बस्ने सम्भावना बढी हुन्छ।
रङ नमिसाइएका माउथवासको तुलनामा चहकिला रङ प्रयोग गरिएका माउथवासले दाँतमा दाग बसाल्ने जोखिम बढी हुन्छ।

क्यान्सरको जोखिम वृद्धिसँग जोडिन सक्ने
माउथवासमा केही निश्चित क्यान्सरको जोखिम बढाउनेसँग जोडिएका कृत्रिम रासायनिक तत्त्वहरू पनि हुन सक्छन्।
सन् २०१६ को एक अध्ययनले कहिल्यै माउथवास प्रयोग नगर्ने मानिसहरूको तुलनामा नियमित प्रयोग गर्नेहरूमा टाउको तथा घाँटीको क्यान्सर हुने जोखिम थोरै बढी हुनसक्ने निष्कर्ष निकालेको थियो।
यो सम्बन्ध कत्तिको यथार्थपरक हो र कुन तत्त्वले जोखिम बढाउँछ भन्ने यकिन गर्न अझ धेरै अनुसन्धान हुन बाँकी छ।
माउथवासको अत्यधिक प्रयोग भइरहेको देखाउने सङ्केतहरू
माउथवासको आवश्यकताभन्दा बढी प्रयोग हुनु पनि एउटा समस्या हो।
डाक्टरको सिफारिसविना किन्न पाइने अधिकांश माउथवासहरूले ब्रस र फ्लस गर्नाका साथसाथै दिनमा दुई पटक प्रयोग गर्न सल्लाह दिन्छन्। कतिपय व्यक्तिहरू भने सास ताजा राख्न वा खाना खाएपछि ‘मुख सफा भएको’ महसुस गर्न त्योभन्दा धेरै पटक माउथवास प्रयोग गर्न रुचाउँछन्।
निम्न लक्षणहरू देखिएमा माउथवासको प्रयोग घटाउनु वा पूर्ण रूपमा बन्द गर्नुपर्छ:
- लामो समयसम्म निको नहुने वा सुन्निएका मुखका घाउहरू
- माउथवास कुल्ला गर्दा गिजाबाट रगत आउनु
- मुख सुक्खा हुने लक्षण देखिनु
- माउथवास प्रयोगपछि ब्रस गर्दा दुखाइ वा सिरिङ्ग हुने समस्या (सेन्सिटिभिटी) हुनु
- दाँतमा दाग बस्नु
कसले माउथवास प्रयोग गर्नु हुँदैन?
‘अमेरिकन डेन्टल एसोसिएसन’ का अनुसार ६ वर्षमुनिका बालबालिकालाई माउथवास प्रयोग गराउनु हुँदैन भने ६ वर्षभन्दा माथिका बालबालिकाले प्रयोग गर्दा अभिभावकको प्रत्यक्ष निगरानी हुनुपर्छ।
मुखभित्र घाउ-खटिरा भएका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका वा हाल केमोथेरापी गराइरहेका व्यक्तिहरूले माउथवासको प्रयोगबाट बच्नु उपयुक्त हुन्छ।
माउथवासमा प्रयोग हुने कुनै तत्त्व (जस्तै: मेन्थोल, जाइलिटोल वा एसएलएस) प्रति एलर्जी छ भने जलन गराउने उत्पादन पर्न नदिन बट्टामा लेखिएका विवरणहरू ध्यानपूर्वक हेर्नुपर्छ।
के माउथवास अनिवार्य छ?
माउथवासका निश्चित स्वास्थ्य फाइदाहरू अवश्य छन्। यद्यपि, ‘अमेरिकन डेन्टल एसोसिएसन’ को आधिकारिक प्रमाणीकरण छाप प्राप्त मान्यताप्राप्त उत्पादनहरू मात्र रोज्नु बुद्धिमानी हुन्छ।

सामान्य माउथवासले:
- सास ताजा बनाउन र दुर्गन्ध हटाउन मद्दत गर्छ
- गिजाको रोग (जिन्जिभाइटिस) को जोखिम कम गर्छ
- दाँतमा कीरा लाग्नबाट जोगाउन पत्र (प्लाक) जम्न दिँदैन
- दाँतलाई तुलनात्मक रूपमा सफा र सेतो देखाउँछ
यति हुँदाहुँदै पनि, कुनै पनि माउथवास दिनको दुई पटक गरिने नियमित ब्रस र फ्लसको विकल्प हुन सक्दैन; जुन दाँतको पूर्ण सरसफाइको मूल आधार हो।
माउथवासका विकल्पहरू
माउथवास प्रयोगका राम्रा विकल्पहरू उपलब्ध छन्। दिनमा दुई पटक ब्रस र फ्लस गर्दा धेरै प्रमाणित लाभ मिल्नुका साथै दुष्प्रभावको जोखिम पनि निकै कम हुन्छ।

यसका अतिरिक्त, चिकित्सकको सिफारिसमा पाइने विशेष माउथ रिन्सबारे दन्तचिकित्सकसँग परामर्श लिन सकिन्छ। यी रिन्सहरूमा निश्चित सक्रिय औषधीय तत्त्वहरूको मात्रा बढी हुने भएकाले मुखका निश्चित समस्याहरूको अल्पकालीन उपचारमा यिनीहरू प्रभावकारी मानिन्छन्। सिफारिस गरिएका यस्ता रिन्सहरू निम्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ:
- मुख सुक्खा हुने समस्या समाधान गर्न
- गिजासम्बन्धी रोगबाट बच्न
- मुखका घाउ तथा खटिराको दुखाइ कम गर्न
- दाँत उखेलेपछि वा मुखको शल्यक्रियापछि सङ्क्रमण र ‘ड्राइ सकेट’ बाट जोगिन
निष्कर्ष
माउथवासका केही अप्रिय दुष्प्रभावहरू हुन सक्छन्। तीमध्ये धेरैजसो दुष्प्रभावहरू अल्कोहल वा निश्चित अन्य रसायन मिसाइएका मिश्रणका कारणले हुने गर्छन्।
तर समग्रमा हेर्दा, माउथवास स्वास्थ्यका लागि खराब वा हानिकारक वस्तु होइन। यसलाई मुखको नियमित सरसफाइको एक अङ्ग बनाउन वा प्रयोग नै नगर्न पनि सकिन्छ। यो पूर्णतया व्यक्तिगत रुचि र छनोटको विषय हो।
निरन्तर सास गन्हाउने समस्या छ, दाँतमा फोहोरको पत्र जम्ने वा गिजाको रोगको चिन्ता छ, अथवा दाँतको स्वास्थ्य सुधार गर्न चाहनुहुन्छ भने दन्तचिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ।


+ There are no comments
Add yours