बहुप्रतीक्षित फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, रणवीर राम र यश रावणको भूमिकामा

ट्रेलरमा रणवीर कपूर भगवान् रामको भूमिकामा शान्त, तेजस्वी र मर्यादा पुरुषोत्तमको छविमा देखिएका छन्। रवि दुबे लक्ष्मण, साई पल्लवी सीता र यश रावणको भूमिकामा देखिएका छन्।

१४ साउन, कााठमाडौँ । निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित फिल्म ‘रामायण’ को पहिलो भागको ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ। निर्माण पक्षले हिन्दू परम्पराअनुसार ब्रह्ममुहूर्तको शुभ अवसर पारेर भारतीय समय अनुसार बिहीबार बिहान ४:१५ बजे ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलर हिन्दीसहित तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा एकसाथ डिजिटल प्लेटफर्ममार्फत रिलिज गरिएको छ।

ट्रेलरमा रणवीर कपूर भगवान् रामको भूमिकामा शान्त, तेजस्वी र मर्यादा पुरुषोत्तमको छविमा देखिएका छन्। रवि दुबे लक्ष्मण, साई पल्लवी सीता र यश रावणको भूमिकामा देखिएका छन्।

विशेषगरी यशको रावण अवतार र सशक्त स्क्रिन उपस्थिति सामाजिक सञ्जालमा धेरै चर्चामा रहेको छ। १९८७ को चर्चित टेलिभिजन श्रृंखला रामायणमा रामको भूमिका निभाएका अरुण गोविल यस फिल्ममा राजा दशरथको भूमिकामा छन्।

ट्रेलर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। धेरै दर्शकले ट्रेलरको प्रशंसा गर्दै यसलाई पुस्तौंदेखिको भावनासँग जोडिएको प्रस्तुति बताएका छन्। साई पल्लवीको सीता अवतार र यशको रावणको भूमिकाको पनि प्रशंसा गरिएको छ। तर केही दर्शकले यश र साई पल्लवीको हिन्दी संवाद, साई पल्लवीको लुक तथा ट्रेलरमा कथाभन्दा दृश्य प्रभाव (भीएफएक्स)लाई बढी प्राथमिकता दिइएको भन्दै आलोचना गरेका छन्।

फिल्ममा रणबीर कपूर, साई पल्लवी, यश, रवि दुबे, सनी देओल, अरुण गोविल, लारा दत्ता, रकुल प्रीत सिंह, विवेक ओबेरोय र कुणाल कपूरको अभिनय रहेको छ। सनी देओलले हनुमानको भूमिका निभाएका छन्।

फिल्मको संगीत ए.आर. रहमान र हलिउडका चर्चित संगीतकार हान्स जिम्मरले संयुक्त रूपमा तयार गरिरहेका छन्। निर्माण नमित मल्होत्राको प्राइम फोकस स्टुडियोज, डीएनईजी र इशको मोन्स्टर माएन्ड क्रियशन्सले गरेका हुन्। भीएफएक्सको जिम्मेवारी पनि अस्कर विजेता डीएनईजीले सम्हालेको छ ।

दुई भागमा निर्माण भइरहेको फिल्मको पहिलो भाग सन् २०२६ को दिपावलीमा र दोस्रो भाग २०२७ को दिपावलीमा प्रदर्शन गर्ने तयारी छ। भारतीय सञ्चारमाध्यमका अनुसार दुवै भागको कुल बजेट करिब ४ हजार करोड भारतीय रुपैयाँ रहेको बताइन्छ, जसले यसलाई भारतीय सिनेमाकै सबैभन्दा महँगा परियोजनामध्ये एक बनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours