भदौ २४ मा भएका घटना ‘आपराधिक कार्य’, सूक्ष्म अनुसन्धान गरी कारबाही गर्न सिफारिस

१४ जेठ, काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २४ गते भएको घटनालाई आपराधिक कार्य भनेको छ भने यसमा संलग्न व्यक्तिमाथि सुक्ष्म अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको छ।

आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा भदौ २४ गतेको घटना भदौ २३ गतेको घटनाबाट प्रभावित भएको देखिए पनि देशभर एकै प्रकृतिको देखिएकाले पूर्वयोजना अनुसार भएको जनाएको छ। जेनजी आन्दोलनका क्रममा युवाको मृत्यु भएपछि भदौ २४ गते देशभर आगजनी र तोडफोड गरिएको थियो। त्यसलाई आयोगले पूर्वयोजना अनुसार भएको ठहर गरेको छ।

आयोगको प्रतिवेदनमा भनिएको छ, ‘भदौ २४ गतेको घटनाको प्रकृति अवस्था एकै समयमा एकै उद्देश्य लिई देशैभरी भएको देखिँदा यी घटनाहरू अगाडिदेखि नै गरिएको पूर्वयोजना अनुसार संगठित रुपमा गरिएको आपराधिक कार्य हुन् भन्नेमा अनुसन्धान प्रतिवेदनको रायलार्य अन्यथा भनी रहनु पर्ने अवस्था देखिएन।’

भदौ २४ मा तीन जना प्रहरीको हत्या गरिएको, राजनीति दलका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका कर्मचारीमाथि सांघातिक आक्रमण, प्रदर्शनकारीले गरेको आगजनीमा परि २१ जनाको मृत्यु भएको आयोगले उल्लेख गरेको छ। त्यस दिन मृत्यु भएकामध्ये अझै पनि १२ जनाको पहिचना नहुन नसकेको, प्राध्यापक रवि लक्ष्मी चित्रकारलगायत कयौँ व्यक्ति जलेर गम्भीर घाइते भएको, देशभरी अर्बौँ रुपैयाँको धनसम्पत्ति तोडफोड र आगजनी भएको आयोगले उल्लेख गरेको छ।

यी सबै घटनाको जिकिर गर्दै आयोगले भनेको छ, ‘उक्त दिनका प्रायः सबै घटनालाई आपराधिक गतिविधिको रुपमा हेरी र सम्बोधन गर्नुपर्ने देखियो।’

आयोगले भदौ २४ का घटनामा थप सुक्ष्म अनुसन्धान गर्न भनको छ। ‘२४ गतेको घटनाको विषय अधिकांश आपराधिक कार्य हो भनी माथि विभिन्न प्रकरणमा विवेचना गरी सकिएको हुँदा त्यस्तो आपराधिक घटनाका सम्बन्धमा थप सुक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानुन बमोजिम कारबाही गर्न,’ आयोगको सिफारिसमा भनिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours