२१ बैशाख, काठमाडौँ । टेस्लाले क्यानडामा चीनमा बनेका टेस्ला मोडल ३ लाई अहिलेसम्मकै सबैभन्दा कम मूल्यमा बिक्री सुरु गरेको छ।
टेस्लाले क्यानडामा विद्युतीय गाडीको पहुँचलाई अझ सस्तो बनाउँदै नयाँ मोडल ३ प्रिमियम रियर व्हील ड्राइभ (आरडब्लूडी) संस्करण पुनः बिक्रीमा ल्याएको छ। यस नयाँ विकल्पको मूल्य ३९ हजार ४९० क्यानेडियन डलर (लगभग २९ हजार अमेरिकी डलर) बाट सुरु हुनेछ।
इन्ग्याजेटका अनुसार यो मूल्य क्यानडामा मोडल ३ को पहिलेको सुरुआती मूल्यभन्दा झन्डै आधा हो। पहिलेको बेस भेरियन्ट ७९ हजार ९९० क्यानेडियन डलर (लगभग ५९ हजार अमेरिकी डलर) बाट सुरु हुन्थ्यो।
उच्च भेरियन्टतर्फ पनि मूल्य घटाइएको छ। मोडल ३ पर्फर्मेन्सको मूल्य ८९ हजार बाट घटाएर ७४,९९० (लगभग ५५ हजार अमेरिकी डलर) बनाइएको छ।
यो अचानक परिवर्तनलाई विश्वव्यापी आपूर्ति श्रृंखला र निरन्तर परिवर्तन भइरहेको ट्यारिफ नीतिसँग जोडेर हेर्न सकिन्छ। पहिले क्यानडाका ग्राहकले टेस्ला मोडल ३ को चीनको शाङ्घाई कारखानामा बनेका संस्करण किन्न पाउँथे। तर पछि क्यानडाले चीनमा बनेका ईभीमा शत प्रतिशत अतिरिक्त कर लगाएपछि टेस्ला ले अमेरिका (फ्रेमण्ट, क्यालिफोर्निया) मा बनेका गाडी बेच्न थालेको थियो।
तर पछि अमेरिकासँगको व्यापार नीति तनावका कारण क्यानडाले अमेरिकी गाडीमा २५ प्रतिशत प्रतिशोधात्मक कर लगायो, जसले मोडल ३ को मूल्य ७९ हजार ९९० क्यानेडियन डलर सम्म पुर्याएको थियो।
हालको नयाँ परिवर्तनसँगै क्यानडाले चीनमा बनेका ईभीमा कर घटाएर ६.१ प्रतिशत मात्र बनाएको छ। यसले टेस्लालाई फेरि आफ्नो टेस्ला मोडल ३ गाडी चीनको गिगाफ्याक्ट्री शाङ्घाईबाट क्यानडामा पठाउन र सस्तो मूल्यमा बिक्री गर्न अनुमति दिएको छ।
तर नयाँ मोडल ३ प्रिमियम आरडब्लूडी क्यानडाको इलेक्ट्रिक भेहिकल अफोर्डेबिलिटी प्रोग्राम अन्तर्गतको ५ हजार क्यानेडियन डलर सहुलियतमा समावेश छैन, किनभने यो क्यानडामा उत्पादन गरिएको होइन।


+ There are no comments
Add yours