०४ बैशाख, काठमाडौँ । इसरायल र लेबननबीच युद्धविराम भएको छ। बिहीबार मध्यरातिदेखि लागू हुनेगरी दुई देशबीच युद्धविराम भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइल-लेबननबीच १० दिनको युद्धविराम लागु भएको घोषणा गरेका छन्।
युद्धविराम लागू भएसँगै बेरुतका विभिन्न स्थानमा उत्साहजनक हवाई फायरिङ गरिएको प्रत्यक्षदर्शीहरूले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग बताएका छन्।
तर, शान्ति कायम रहने संकेत भने कमजोर देखिएको छ। लेबननको सेनाले शुक्रबार बिहानै एक विज्ञप्ति जारी गर्दै इसरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।
‘युद्धविराम लागू भइसकेपछि पनि दक्षिणी क्षेत्रका केही गाउँहरूमा छिटफुट गोलाबारी भएको छ,’ सेनाले भनेको छ।
इजरायली पक्षबाट औपचारिक प्रतिक्रिया नआए पनि सैन्य प्रवक्ताले हिज्बुल्लाहको गतिविधि जारी रहेकाले सेना तैनाथ नै रहेको संकेत दिएका छन्। ‘हाम्रो तैनाथी क्षेत्रको सुरक्षा अवस्थाका आधारमा गरिएको हो,’ प्रवक्ताले सामाजिक सञ्जालमा लेखेका छन्।
इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहले पनि युद्धविराम लागू हुनुअघि आफ्नो सैन्य गतिविधिबारे विवरण सार्वजनिक गरेको छ।
समूहका अनुसार अन्तिम आक्रमण स्थानीय समयअनुसार राति ११:५० बजे गरिएको थियो। यो युद्धविराम सुरु हुनुभन्दा १० मिनेटअघि हो। ट्रम्पले हिज्बुल्लाहलाई युद्धविरामको सम्मान गर्न आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘म आशा गर्छु हिज्बुल्लाहले यो महत्त्वपूर्ण समयमा राम्रो व्यवहार गर्नेछ। अब थप हत्या होइन, अन्ततः शान्ति हुनैपर्छ।’
विश्लेषकहरूका अनुसार यो युद्धविराम केवल लेबनन–इसरायल द्वन्द्वमा सीमित नभई व्यापक क्षेत्रीय समीकरणसँग जोडिएको छ। यदि यो सहमति टिकाउ भयो भने इरानसँगको सम्भावित ठूलो शान्ति सम्झौताका लागि आधार बन्न सक्छ।
ट्रम्पले पनि यो सप्ताहन्तमा अमेरिका र इरानबीच वार्ता हुने बताएका छन्।
फेब्रुअरी २८ अमेरिका र इसरायलले इरानमा संयुक्त हमला गरेपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट इसराइलमा जबाफी हमला गरेको थियो। त्यसयता इसराइलले लेबननमा व्यापक हमला गर्दै आइरहेको छ।
अमेरिका र इरानबीच युद्धविराम हुँदा लेबनन पनि लेबनन पनि समेटिएको भनेर मध्यस्थ गर्ने देशहरू पाकिस्तान र इजिप्टले बताएका थिए। पछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा लेबनन नसमेटिने बताएका थिए।
त्यसपछि इसरायलले लेबननमा अझै सशक्त हमला गरिरहेको छ।
केही दिनअघि अमेरिकामा विदेशमन्त्री मार्को रूबिओको पहलमा इसराइल र लेबननका राजदूतहरूबीच प्रारम्भिक वार्ता भएको थियो। त्यो वार्ताबाट औपचारिक वार्तामा बस्ने सहमति जुटेको थियो।
युद्धविराम लागू भएपछि इसराइल र लेबनन दुवैले शान्तिका लागि ढोका खुलेको भन्दै खुशी व्यक्त गरेका छन्।


+ There are no comments
Add yours