अमेरिकी-इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

१७ फागुन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन्। यद्यपि, इरानले भने अमेरिकी दाबीलाई ‘मनोवैज्ञानिक युद्ध’ को संज्ञा दिँदै आफ्ना सर्वोच्च नेता पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानको राजधानी तेहरानमा गरिएको कारबाहीमा खामेनीको ज्यान गएको दाबी गरेका हुन्। खामेनीको अन्त्यसँगै इरानी, अमेरिकी र विश्वभरका नागरिकले ‘न्याय’ पाएको ट्रम्पको टिप्पणी छ।

यसअघि ‘एबीसी न्युज’लाई दिएको टेलिफोन अन्तर्वार्तामा पनि ट्रम्पले अमेरिकी कारबाहीबाट इरानमा ठूलो क्षति पुगेको र नेतृत्व तहका अधिकांश शीर्ष व्यक्तिहरू ‘हटीसकेको’ बताएका थिए। उनले इरानको आगामी नेतृत्वमा को-को आउन सक्छन् भन्नेबारे अमेरिकासँग स्पष्ट जानकारी रहेको दाबीसमेत गरेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि संयुक्त आक्रमणपछि खामेनी जीवित नरहेका संकेतहरू बढ्दै गएको बताएका थिए। पश्चिमा सञ्चारमाध्यमहरू रोयटर्स, फक्स न्युज लगायतले इजरायली उच्च अधिकारीलाई उद्धृत गर्दै ८६ वर्षीय खामेनी मारिएको समाचार सम्प्रेषण गरेका छन्। सार्वजनिक भएका पछिल्ला स्याटेलाइट तस्बिरहरूमा तेहरानस्थित खामेनीको निवास पूर्ण रूपमा ध्वस्त भएको देखिएको दाबी गरिएको छ।

इरानको कडा खण्डन

पश्चिमा सञ्चारमाध्यम र अमेरिकी राष्ट्रपतिको दाबीलाई इरानले ठाडै अस्वीकार गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी समाचार संस्था एनबीसीसँग कुरा गर्दै सर्वोच्च नेता खामेनी ‘पूर्ण रूपमा सुरक्षित र स्वस्थ’ रहेको बताएका छन्।

त्यसैगरी, अलजजिरा न्युज च्यानलसँग कुरा गर्दै खामेनीको कार्यालयका जनसम्पर्क प्रमुखले खामेनी मारिएको भन्ने समाचार शत्रु राष्ट्रहरूले चलाएको ‘मनोवैज्ञानिक युद्ध’ मात्र भएको जिकिर गरेका छन्।

को हुन् आयतोल्लाह अली खामेनी ?

सन् १९३९ अप्रिल १९ मा इरानको मशहदमा जन्मिएका अली खामेनी सन् १९७९ को इरानी इस्लामिक क्रान्तिका एक प्रमुख हस्ती हुन्। अमेरिका समर्थित शाह मोहम्मद रेजा पहलवीको सत्ता ढाल्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

इरानका प्रथम सर्वोच्च नेता रुहोल्लाह खोमेनीका निकटतम सहयोगी रहेका खामेनी सन् १९८१ देखि १९८९ सम्म इरानको राष्ट्रपति बनेका थिए। सन् १९८९ मा खोमेनीको निधन भएपछि उनी सर्वोच्च नेताको पदमा आसीन भएका हुन्।

साढे तीन दशकभन्दा लामो समय सत्तामा रहेका खामेनीले इरानको राजनीति र सैन्य संयन्त्रमाथि निरंकुश पकड जमाएका छन्। इरान मामिलाकी जानकार तथा ‘द फरेन डेस्क’ की प्रधान सम्पादक लिसा डाफ्तारीका अनुसार खामेनीको शासनकाल आन्तरिक दमन र बाह्य कठोरताका लागि चिनिन्छ। देशभित्र उठ्ने असन्तुष्टिका स्वरहरूलाई कठोरतापूर्वक दबाउने, मृत्युदण्डको व्यापक प्रयोग गर्ने र अमेरिका तथा इजरायलप्रति चरम आक्रामक नीति अपनाउने अनुदार नेताका रूपमा उनले आफ्नो पहिचान बनाएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours