२१ फागुन, काठमाडौँ । अमेरिका र इजरायलको संयुक्त सैन्य अभियानको पाँचौँ दिन इरानको सुरक्षा संयन्त्रलाई लक्षित गरी इजरायलले भीषण हवाई आक्रमण गरेको छ । पछिल्लो २४ घण्टामा भएको भीषण बमबारीमा परी ज्यान गुमाउनेको संख्या १,०४५ पुगेको छ ।
इरानी समाचार एजेन्सी ‘तस्निम’का अनुसार बुधबार इजरायली वायुसेनाले राजधानी तेहरान, धार्मिक सहर कोम, पश्चिमी क्षेत्र र इसफाहान प्रान्तलाई निशाना बनाएको छ । यी आक्रमणहरूमा सैन्य संरचनाका साथै सर्वसाधारणका आवासीय भवनहरूमा समेत अपूरणीय क्षति पुगेको छ । इजरायलले भने आफ्नो मुख्य निशाना इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) अन्तर्गतको ‘बसिज’ बल र आन्तरिक सुरक्षा कमाण्डका रणनीतिक भवनहरू रहेको दाबी गरेको छ ।
यो युद्धको सबैभन्दा ठूलो मारमा निर्दोष नागरिकहरू परेका छन् । हालसम्म ६,००० भन्दा बढी मानिस गम्भीर घाइते भएका छन् । अस्पतालहरू घाइतेले भरिएका छन्, जसमा ३०० भन्दा बढी बालबालिका र किशोरकिशोरीहरू रहेका छन् । संयुक्त राष्ट्र संघको तथ्याङ्कअनुसार युद्धको त्रासका कारण फेब्रुअरी २८ देखि मार्च १ को अवधिमा मात्रै करिब एक लाख मानिसले राजधानी तेहरान छाडेर सुरक्षित स्थानतर्फ पलायन भएका छन् ।
यसैबिच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले इसफाहानस्थित आणविक केन्द्र वरपरका भवनहरूमा क्षति पुगे पनि मुख्य आणविक भण्डार र केन्द्रहरू सुरक्षित रहेको स्पष्ट पारेको छ । एजेन्सीका अनुसार हालसम्म रेडियोधर्मी चुहावटको कुनै ठोस जोखिम देखिएको छैन ।
गत शनिबारको पहिलो चरणको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र रक्षामन्त्री अमिर नासिरजादेह मारिएपछि इरान अहिले नेतृत्व संकटबाट गुज्रिरहेको छ । मारिएका नेताहरूको अन्त्येष्टिमा लाखौँको जनसागर उत्रिने देखिएपछि सुरक्षा चुनौती थप पेचिलो बनेको छ ।
इरानको ‘एसेम्बली अफ एक्सपर्ट्स’ का सदस्य अहमद खातमीले देश युद्धको कठिन मोडमा भए पनि चाँडै नयाँ सर्वोच्च नेता चयन गरिने जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खामेनीका पुत्र मोज्ताबा खामेनीलाई आगामी नेतृत्वको बलियो दाबेदारका रूपमा चित्रण गरेका छन् ।
यद्यपि, इजरायलले नयाँ नेतृत्वलाई पनि कडा चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले भनेका छन्, ‘इजरायल र स्वतन्त्र विश्वको अस्तित्वमाथि धावा बोल्ने जोसुकै नयाँ नेता पनि हाम्रो निसानामा पर्नेछन् ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वको संरचना पूर्ण रूपमा ध्वस्त भएको टिप्पणी गरेका छन् । ट्रम्पको यस भनाइप्रति इरानले कडा आपत्ति जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पले कूटनीतिक मर्यादाको उपहास गरेको र ‘वार्ताको टेबुलमा बमबारी’ गरेर शान्तिको सम्भावना समाप्त पारेको आरोप लगाएका छन् ।


+ There are no comments
Add yours