ट्रम्पले भने– ठूलो अमेरिकी सेना इरानतर्फ अघि बढिरहेको छ

१० माघ, काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाको ठूलो फ्लिट अघि बढिरहेको बताएका छन् । यो भनाइपछि पश्चिम एसियामा तनाव झन् बहिरहेको छ ।

ट्रम्पले अमेरिका इरानमाथि निकट निगरानीमा रहेको बताएका छन् । उनले ठूलो अमेरिकी सेना इरानतर्फ अघि बढिरहेको पनि भनेका छन् ।

‘एयर फोर्स वन’मा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “ठूलो सेना इरानतर्फ अघि बढिरहेको छ, तर अहिलेसम्म केही हुने देखिँदैन । तर हामी तिनीहरूमाथि निकट निगरानीमा छौँ ।”

ट्रम्पले इरानमा ८३७ जनालाई दिइएको फाँसीको सजाय रोकेको दाबी गरे । तिनीहरूमध्ये धेरैजसो युवा रहेको उनले बताए । उनले भने, “मैले के भनेको थिएँ भने यदि तिमीहरूले ती मानिसहरूलाई फाँसी दियौ भने, तिमीहरूविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा कारबाही हुनेछ । तिमीहरूको आणविक कार्यक्रममाथि हामीले गरेको कारबाही यस कारबाहीको अगाडि सानो लाग्नेछ । र, तिनीहरूले साँच्चै के बताए भने उनीहरूले यसलाई रद्द गरेका छन्, स्थगित गरेका होइनन्, बरु रद्द गरेका छन् । त्यसैले यो राम्रो संकेत थियो ।”

ट्रम्पले भने, “हाम्रो ठूलो फ्लीट त्यस दिशातर्फ अघि बढिरहेको छ र सम्भवतः हामीले त्यसको प्रयोग गर्नुपर्ने छैन, हेरौँ ।”

इरानमा बढ्दो महँगी र कमजोर अर्थतन्त्रका कारण सरकारविरोधी प्रदर्शनका क्रममा हजारौँ प्रदर्शनकारी मारिएका छन् । धेरै प्रदर्शनकारीहरूलाई इरानी प्रशासनले गिरफ्तार गरेको थियो ।

गत हप्ता आएका धेरै रिपोर्टहरूमा यी प्रदर्शनकारीहरूलाई इरानले फाँसी दिन लागेको दाबी गरिएको थियो । पछि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी प्रदर्शनकारीहरूलाई दिइने फाँसी रोकेको दाबी गरे ।

इरानमा पाँच हजारभन्दा बढी मृत्यु, हजारौँ गिरफ्तार

इरानमा सरकारविरोधी प्रदर्शनमाथि गरिएको कडा कारबाहीमा मृतक संख्या कम्तीमा पाँच हजार दुई पुगेको छ ।

इरानमा डिसेम्बर २८ बाट सुरु भएका विरोध प्रदर्शनका कारण अवस्था निरन्तर बिग्रँदै गएको छ । इन्टरनेट बन्द र अन्तर्राष्ट्रिय कल रोकिएकाले सही जानकारी ल्याउन कठिन भएको छ । यद्यपि, मानवअधिकार कार्यकर्ताहरूले सुरक्षा बलहरूको कारबाहीमा हजारौँ मारिएको बताएका छन् । ट्रम्पले यी अवस्थामाथि प्रतिक्रिया दिँदै अमेरिकी नौसेनाको जहाजहरूको ठूलो समूह सो क्षेत्रतर्फ अघि बढिरहेको बताएका हुन् ।

मानवअधिकार संगठनहरूका अनुसार, मृतकमध्ये चार हजार ७१६ प्रदर्शनकारी छन् । यसबाहेक २०३ सरकारी पक्षका, ४३ बालबालिका र ४० यस्ता नागरिक पनि मारिएका छन् जो प्रदर्शनमा सामेल थिएनन् । त्यस्तै, २६ हजार ८०० भन्दा बढीलाई हिरासतमा लिइएको छ । यो संख्या इरानका विगतका धेरै दशकका कुनै पनि आन्दोलनभन्दा ठूलो छ र सन् १९७९ को इस्लामिक क्रान्तिको सम्झना गराउँछ ।

इरानी सरकारले पहिलोपटक आधिकारिक रूपमा मृतक संख्या सार्वजनिक गरेको हो । सरकारका अनुसार, कुल तीन हजार ११७ जनाको मृत्यु भएको छ । यसमा दुई हजार ४२७ नागरिक र सुरक्षाकर्मी छन् । बाँकी मृतकहरूलाई सरकारले ‘आतंककारी’ भनेको छ ।

मानवअधिकार कार्यकर्ताहरूले सरकारको संख्यामाथि प्रश्न उठाइरहेका छन् । पहिलेदेखि नै इरानमाथि मृतक संख्या कम देखाउने आरोप लाग्दै आएको छ । इरानी राज्य टेलिभिजनले प्रदर्शनकारीहरूलाई बारम्बार दंगा भड्काएको भनेर चित्रण गरिरहेको छ । सरकारी सञ्चारमाध्यमले अमेरिका र इजराइलमाथि प्रदर्शन भड्काउने आरोप लगाइरहेको छ ।

ट्रम्पको दाबी र बढ्दो सैन्य तनाव

ट्रम्पले आफ्नो हस्तक्षेपले ८०० जनाको फाँसी रोकेको दाबी गरेका थिए, तर इरानका शीर्ष अभियोजकले यो दाबीलाई पूर्ण झूट भनेका छन् । अभियोजकले कुनै यस्तो सूची नभएको र सामूहिक फाँसीको आदेश नभएको स्पष्ट पारेका छन् । यसबीच अमेरिकाले आफ्ना युद्धपोत र विमानवाहक पोत क्षेत्रतर्फ पठाएको छ । ट्रम्पका अनुसार, यो सावधानीपूर्ण कदम हो, तर विश्लेषकहरूले अवस्था कुनै पनि बेला झन् गम्भीर हुन सक्ने ठानिरहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours