३० असाेज, एजेन्सी । हमासले अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार थप दुई इजरायली बन्धकको शव फिर्ता गरेको छ।
बाँकी शव खोज्न विशेष उपकरण आवश्यक भएको भन्दै थप समय मागिएको छ। बाँकी बन्धकहरूको शव पत्ता लगाउन र फिर्ता गर्न विशेष उपकरण आवश्यक पर्ने हमासको सशस्त्र शाखाको भनाइ छ।
हमासले सम्झौताको पालना गरेन भने इजरायली सेनाले गाजामा पुनः लडाईं सुरु गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेकै समयमा हमासको यो प्रतिक्रिया आएको हो।

रेडक्रसबाट बन्धकहरूको शवहरू भएको कफिनहरू प्राप्त त भएको तर तिनीहरूको आधिकारिक पहिचानको प्रक्रिया चलिरहेको इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा भनेको थियो।
विज्ञप्तिमा भनिएको छ, ‘आईडीएफ (इजरायली रक्षा बल) आम जनतालाई संवेदनशीलता अपनाउन र आधिकारिक पहिचानको प्रतीक्षा गर्न आग्रह गर्दछ। यसको सूचना सबैभन्दा पहिले मृतक बन्धकका परिवारलाई दिइनेछ।’
गाजा शान्ति योजनाको पहिलो चरणअन्तर्गत हमासले कुल २८ जना बन्धकको शव फिर्ता गर्नुपर्नेछ।
बुधबार राति फिर्ता गरिएका दुई शव इजरायली बन्धक भएको पुष्टि भएमा हमासले फिर्ता गरेको बन्धक शवको कुल संख्या ९ पुग्ने बीबीसीले जनाएको छ।


+ There are no comments
Add yours