नेपाल नागरिकता विधेयकमा आमाको पनि वंश कायम गरिएको छः गृहमन्त्री लेखक

१८ भदौ, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि वंश कायम हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको बताए ।

‘हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौँ। आमाबाट पनि वंश कायम हुन्छ। आमाकै नागरिकताका आधारमा सन्तानले नागरिकता प्राप्त गर्छ भन्ने कुरालाई विधेयकमा सुनिश्चित गरिएको छ । बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयकको आधारभूत तत्व हो’, उनले भने ।

विधेयकमा १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ ।

उनले भने, ‘संविधानको भावनाबमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुने छैन । साथै नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्नेगरी संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनेछ भने आमा वा बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरुले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ।’

विद्यमान सामाजिक परिवेशअनुसार पहिचानविहीन भएर बस्नुपरेको वैदेशिक रोजगारमा गएका नेपाली महिलाका सन्तान नागरिकताविहीन भइरहेको अवस्थामा अङ्गीकृत नागरिकता प्राप्त गर्नसक्ने उनको भनाइ छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours