२३ साउन, काठमाडौँ । बौद्ध क्षेत्रमा तामाङ कल्याण गुठीको आयोजना र काठमाडौं महानगरपालिका ६ को सहयोगमा हुने सांस्कृतिक पर्वहरू यसपटक पनि सुरु हुँदैछन् । गुठीको पहलमा नेवारी संस्कृतिसँग जोडिएका गाईजात्रा, रोपाइँजात्राजस्ता ऐतिहासिक पर्वका लागि काठमाडौं महानगरपालिकाको संस्कृति संरक्षण कोषबाट आवश्यक सहयोग जुट्ने गरेको गाईजात्रा तथा रोपाइँजात्रा (घोनाइ जात्रा) मूल समारोह समिति २०८२ का प्रवक्ता सम्पूर्णकुमार लामाले बताउनुभएको छ । उहाँका अनुसार साउन २५ र २६ गते दुर्ई दिन मनाइने उक्त पर्वका अवसरमा गुठीले विभिन्न १३ विधामा पुरस्कार प्रदान गर्ने भएको छ ।
उल्लेखित विधाहरूमा हल गोरु, युवा बाउसे, युवा रोपाहार, बाल रोपाहार, बाल बाउसे, व्यंग्य, हास्य, युवा लाखे, बाल लाखे, झाँकी, घोडा, विद्यालय र घोनाई मौलिक नाच रहेका छन् । प्रथम हुनेलाई १० हजार, द्वितीयलाई सात हजार, तृतीयलाई पाँच हजार र सान्त्वनालाई २५ सय राशिको पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । मूल समारोह समितिका संयोजक वरिष्ठ समाजसेवी जयमंगल लामाले नेपाली सांस्कृतिक पर्व बचाउन पनि तामाङ कल्याण गुठीको सक्रियता र स्थानीय संघ-संस्था र समाजसेवीहरूको सहयोगमा नेपाली संस्कृतिको संरक्षण गर्न कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
आयोजकका अनुसार ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक नगरी बौद्धको रोपाइँ जात्रा सांस्कृतिक विविधताभित्रको पहिचान हो । संस्कृति राष्ट्रको गौरव हो । सोही पर्वलाई स्थानीय तामाङ भाषामा ‘घोनाई’ भनिन्छ । घोनाई पर्व मुख्यगरी जनैपूर्णिमादेखि प्रारम्भ भई गाईजात्रा हुँदै रोपाइँजात्रामा समापन हुन्छ । जनैपूर्णिमाको दिनलाई स्थानीय तामाङ भाषामा ‘घोनाई हृया’ भनिन्छ । सोही दिन बिहानै मन्दिर, चैत्य, कुलदेवता र खेत–खेतमा क्वाँटी र तीतेपाती चढाइन्छ र घर-घरमा क्वाँटी खाने गरिन्छ । नेवारी भाषामा गाईजात्रालाई ‘सापारु’ भनिन्छ । विशेषगरी गाईजात्रा नेवारी समुदायले मनाउने गर्छन्, जुन मृत्यु संस्कारसँग सम्बन्धित पर्व हो । असारको रोपाइँ सकेर फुर्सदिला बनेका किसानहरू रोपाइँको प्रतीकात्मक स्वरूप झझल्को दिने गरी रोपार, बाउसे, हलीको भेषमा अभिनयसहित मनोरञ्जन गर्दै रोपाइँजात्रा मनाउने गर्दछन् । अर्कोतर्फ दिवंगतको स्मृतिमा घर-घरबाट रोपार, बाउसे बनाई रोपाइँजात्रामा सहभागी गराउने चलन छ ।
कान्तिपुरका मल्लकालीन राजा प्रताप मल्ल (सन् १६४१-१६७४) ले गाईजात्राको सुरुवात गर्नुभएकाले १६औैँ/१७ औँ शताब्दीदेखि नै रोपाइँजात्रा मनाउन थालिएको देखिन्छ । राजा प्रताप मल्लको छोरा चक्रवतीन्द्र मल्लको कलिलै उमेरमा मृत्यु भएकाले पुत्रशोकबाट भावविहृवल रानी अनन्तप्रियालाई सान्त्वना दिन प्रताप मल्लले जात्रा सुरुवात गर्नुभएको बताइन्छ । बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा काठमाडौं महानगरपालिका ६ को सहयोगमा रोपाइँजात्रालाई भव्य, सभ्य, मर्यादित र व्यवस्थित बनाउन गाईजात्रा तथा रोपाइँजात्रा(घोनाई जात्रा) मूल समारोह समिति-२०८२ समेत गठन गरिएको छ ।


+ There are no comments
Add yours