रुसबाट तेल लिएको भन्दै ट्रम्पले लगाए भारतीय सामानमा ५० प्रतिशत भन्सार शुल्क

२२ साउन, काठमाडौं । अमेरिकाले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाएको छ। पहिले लागू भइसकेको २५ प्रतिशत ट्यारिफमा थपिएर कुल ५० प्रतिशत पुगेको छ।

यो थप शुल्क राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ।

भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसबाट तेल आयात गरिरहेको भन्दै अमेरिकाले त्यहाँबाट आउने सबै वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउने निर्णय गरेको हो।

अमेरिकाको यो निर्णयले अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्ने बताइएको छ। उनीहरुका अनुसार भारतको अमेरिका तर्फको निर्यातमा ४० देखि ५० प्रतिशतसम्म गिरावट आउन सक्नेछ ।

अमेरिकाको यो निर्णयपछि भारतको परराष्ट्र मन्त्रालयले ‘अनुचित, अकारण र तर्कहीन’ भनेर टिप्पणी गरेको छ ।

भारतले १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षा सुनिश्चित गर्न रुसबाट तेल आयात गर्नुपरेको प्रष्ट पारेको छ। ‘रुसी तेल आयात गरेको भनेर अमेरिकाले थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको छ,जबकि त्यस्तै काम अरू धेरै देशहरूले पनि आफ्ना राष्ट्रिय हितमा गरिरहेका छन्’, भारतले भनेको छ, ‘हामी फेरि दोहोर्‍याउँछौँ कि अमेरिकाको यो कदम अनुचित, अकारण र तर्कहीन छ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours