विधान महाधिवेशनका लागि सुझाव संकलनमा जुट्यो एमाले

२१ साउन, काठमाडौं । नेकपा एमालेका नेताहरू विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरुमाथि सुझाव संकलनमा जुटेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले गत १२ साउनमा अन्तरपार्टी निर्देशिका–१२, जारी गरी सुझाव संकलन गर्ने डेडलाइन तोकेका थिए । अपानि अनुसार आगामी १० भदौभित्र केन्द्रीय कमिटीलाई सुझाव पठाइसक्नुपर्नेछ ।

सुझाव संकलनका लागि एमालेले पार्टी संरचना र इमेललाई माध्यम बनाएको छ । ‘मातहतका कमिटीहरुले व्यवस्थित छलफल, बहस मार्फत् सुझाव संकलन गर्ने र त्यसलाई केन्द्रीय कमिटीमा पठाउने एउटा विधि अपनाइएको छ’ केन्द्रीय सदस्य निरज आचार्य भन्छन्, ‘इमेल मार्फत् पनि सुझाव संकलन गरिदैछ । आफूलाई लागेको सुझाव इमेलबाट पनि पठाउन सकिन्छ ।’

पार्टीको इमेलबाट सुझाव पठाउने निर्णय पार्टीका हरेक सदस्यको व्यक्तिगत इच्छामा भरपर्ने भएपनि कमिटीगत छलफल भने एमालेले बाक्लो बनाएको छ । अपानि जारी भएपछि अहिले केन्द्रीय कमिटी भन्दा मुनिका पार्टी संरचनाहरुको बैठक लगातार बसिरहेको छ ।

‘प्रदेशहरुको बैठक धमाधम बसिरहेको छ । प्रदेशपछि जिल्ला, पालिका हुँदै वडा तहमा छलफल र बैठक राखेर सुझाव संकलन गरिनेछ’ आचार्य भन्छन् । केन्द्रीय विभाग, जनसंगठन र निकायहरुमा हुने छलफलको संयोजन केन्द्रीय कार्यालयले नै गरिरहेको छ ।

महासचिव शंकर पोखरेलकै नेतृत्वमा सुझाव संकलन कार्य अगाडि बढेको छ । सकेसम्म बैठकहरुको संयोजन महासचिव पोखरेलले नै गरिरहेका छन् ।

केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार अबको केही समय एमाले सुझाव संकलनमै केन्द्रीत हुनेछ । ‘हामीले बैठकहरु सुरु गरिसकेका छौं । अब व्यवस्थित विधिबाट सुझाव संकलन गरी पठाइनेछ’, उनी भन्छन् । रिजाल इन्चार्ज रहेको मानव अधिकार तथा सामाजिक न्याय मञ्चको सचिवालय बैठक बुधबार बसेको छ । ‘पहिले सचिवालयका नेताहरु बस्ने र त्यसपछि केन्द्रीय सदस्यहरुको भेला राख्ने विधि अपनाएका छौ’, उनी भन्छन् ।

यद्यपि सुझाव संकलनका निम्ति जारी अपानिमा भने संस्थापनको धारणा मात्र उल्लेख छ । विधान संशोधन मस्यौदामा ७० वर्षे उमेर हद हटाउने, पदाधिकारी र केन्द्रीय कमिटीको आकार घटाउने जस्ता प्रस्ताव अपानिमा उल्लेख छ । दुई कार्यकाल बढी एउटै पदमा रहन नपाउने व्यवस्थालाई अपानिले छलफलको विषय समेत मानेको छैन ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने र उनको सदस्यता नवीकरण नगर्ने पार्टीको निर्णय पनि अपानिमा समावेश छ । पूर्वराष्ट्रपतिका बारेमा छलफल गर्न समेत रोक लगाइएको छ ।

महासचिव पोखरेल सहितकै नेतृत्वमा प्रदेश इन्चार्जहरु मार्फत् अपानिमा उल्लेख भए अनुसारकै भाषामा पूर्वराष्ट्रपतिबारे छलफल नगर्न उर्दी जारी गरिएको छ । जबकि पूर्वराष्ट्रपति भण्डारीको विषयमा एमालेका शीर्ष नेतृत्वमै असहमति छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहित पदाधिकारीको फरक मत छ । तर फरक मतलाई एमालेले छलफल गर्नै रोक लगाएको छ ।

साउन पहिलो साता सम्पन्न सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदनको मस्यौदा प्रस्तुत नगरेका ओलीको भाषणलाई अपानिमा समावेश गरिएको छ । ‘अध्यक्षको सम्बोधन र दिशानिर्देश’ शीर्षकमा ओलीले बोलेको कुरालाई अपानिमा राखेर पूर्वराष्ट्रपतिबारे छलफलमा रोक लगाइएको छ ।

अर्थात् नवौं केन्द्रीय कमिटीबाट विधान महाधिवेशनका लागि अगाडि बढाइएको मस्यौदामा दायाँबायाँ नगर्न नमिल्नेगरी एमालेले सुझाव संकलन प्रक्रिया अगाडि बढाएको छ ।

तर २०–२२ भदौमा तोकिएको विधान महाधिवेशनमा केन्द्रीय कमिटीबाट अगाडि बढाइएको मस्यौदा प्रस्ताव उल्ट्याउनुपर्ने संस्थापन इतर नेताहरुले बताइरहेका छन् । ‘पार्टीलाई दिशाबोध गर्ने निकाय विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन नै हो । केन्द्रीय कमिटी सहित अरु कमिटीले प्रस्ताव तयार पार्ने हो’ विद्या भण्डारी निकट एक नेता भन्छन्, ‘केन्द्रीय कमिटीबाट अगाडि बढाइएको मस्यौदा उल्ट्याउनेगरी हामी पनि सुझाव संकलनमा जुटेका छौं ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours