१६ बैशाख, काठमाडौं । मिति २०८२ साल बैशाख १७ गते बुधबार बैशाख शुक्लपक्ष अक्षयतृतिया तिथी बेलुका ६ / २८ बजेसम्म त्यस उप्रान्त चौथी तिथी आरम्भ हुने भएकोले ,अक्षयतृतीया{सातु ,सर्वत दानगर्ने}वैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई पुराण ग्रन्थहरु अनुसार यो दिन जो पनि शुभ कार्य गरिन्छ, त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ। “नास्ति क्षयो यस्य सः अक्षयः’ (शब्दकल्पद्रुम) अर्थात् -कहिल्यै नाश नहुने अक्षय शब्दको अर्थ हुन्छ । अक्षय तृतीयाका दिन गरिएका कार्यको फल । यसै कारण अक्षय तृतीया भनिएको हो।सबै बाह्र महिनाका शुक्ल पक्षीय तृतीया शुभ छन् ,तर वैशाख महिनाको तिथि स्वयंसिद्ध मुहूर्तहरुमा मानिन्छ।भविष्य पुराण अनुसार यस तिथिको युगादि तिथिहरुमा गणना हुन्छ, त्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको थियो।वैशाखशुक्लतृतीयायां चन्द्रे रोहिणीभे द्वितीयप्रहरे शोभनयोगे त्रेतोत्पत्तिः ।।’ (काशी विश्वनाथ पञ्चाङ्ग, २०७१, पृ.२) अर्थात् वैशाख शुक्ल तृतीया तिथि, रोहिणी नक्षत्रको द्वितीय प्रहर शोभनयोगमा त्रेता युगको आरम्भ भएको हो ।
भविष्य पुराणमा सोमबार औँसी, आइतबार सप्तमी, मंगलबार चतुर्थी र बिहीबार अष्टमी तिथि परेको दिनलाई पनि अक्षया भनिएको छ ।अर्थात् ‘अमा वै सोमवारेण रविवारेण सप्तमी । चतुर्थी भौमवारेण अक्षयादपि चाक्षया । अर्थात् यी तिथिसहितको बार परेको दिनलाई पनि अक्षया भनिन्छ । “वैशाखे मासि राजेन्द्र शुक्लपक्षे तृतीयका ।अक्षया सातिथिः प्रोक्ता कृत्तिकाराहिणीयुता ।तस्यां दानादिकं पुण्यमक्षयं समुदाहृतम् ।”अर्थात् -कृत्तिका वा रोहिणी नक्षत्रयुक्त अक्षय तृतीयामा गरिएको दान अक्षय पुण्यफलदायी हुन्छ ।
भगवान विष्णुको नर-नारायण, हयग्रीवको अवतरण पनि यसै तिथिमा भएको थियो।हिन्दुशास्त्रहरुका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरु पर्छन ।ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया (Axaya Tritiya)। यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ ।ज्योतिषहरुका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ ।वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ ।
हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरु छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ ।अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहोस ।चार युगहरुमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो ।यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ ।चार धामहरुमध्ये एक बद्रीनाथधामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ ।भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । “यत्किञ्चिद्दीयते दानं स्वल्पं वा यदि वा बहु। तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता।।”अर्थात् कुनै वस्तु वा चिज आजको दिन यदि थोरै या धेरै कसैले दान दिन्छभने त्यसले दिएको दान कहिल्यै नाश नहुने भएर रहनेछ।
“एष धर्मघटो दत्तो ब्रहृमाविष्णुशिवात्मकः ।
अस्य प्रादानातृप्यन्तु पितरोऽपि पितामहाः ।।
गन्धोदकं तिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम् ।
पितृभ्यः संप्रदास्यामि ह्यक्षय्यमुपतिष्ठतु ।।’
ब्रहृमा, विष्णु र रुद्रात्मक धर्मघट दान गर्नाले पितृ, पितामहादि सम्पूर्ण पितृ तृप्त हुन्छन् भन्ने शास्त्रीय मत रहेको छ ।धर्मघट भनेको जल, तिल, फल, अन्नसहितको कुम्भ अर्थात् कलश हो ।जसको दानले पितृले अक्षयतृप्ति प्राप्त गर्दछन् भन्ने शास्त्रीय वचन रहेको छ ।
यो कुनैपनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए ।कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयग्रीव जन्म यसै तिथिमा भएको थियो ।लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरुको बलबृद्धि हुन्छ ।यस दिन जलले भरिएका कलश जूत्ता, गाई भूमि स्वर्णपात्रको दान गर्नुपर्छ ।अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण गरिन्छ ।वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ ।दालचिनी ल्वाङ सुकुमेल अलैँची मह चिनी सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ ।यो दिन बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ ।यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधानअनुसार यो दिन दियो कलश र गणेशलाई पूजी कलसमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।शास्त्रमा अक्षय तृतीया एवं अक्षय तृतीयाको माहात्म्य यस प्रकार रहेको छ।
१।शुभ एवं पूजनीय कार्य यसै दिन गरिन्छ, जसबाट प्राणी (मनुष्य) को जीवन धन्य हुन जान्छ ।
२।यस दिनबाट सत्ययुग र त्रेतायुगको आरम्भ भएको विश्वास गरिन्छ ।
३।श्री हयग्रिव अवतरण पनि यसै दिन भएको थियो ।
४।यसै दिन चारधाम मध्ये एक श्री बद्रीनारायणको ढोका खुल्दछन ।
५।नर-नारायण यसै दिन अवतरित हुनु भएको थियो ।
६।वृन्दावनका श्री बाँकेबिहारीको मन्दिरमा यसै दिन श्रीविग्रहको चरणको दर्शन गर्न सकिन्छ अन्यथा संपूर्ण वर्ष श्रीचरणलाई लुगाले ढाकिन्छ ।
७।जो मनुष्य यस दिन गंगास्नान गर्दछ, त्यसलाई अनेकौ पापबाट मुक्ति मिल्दछ ।
८।श्रीकृष्णले पनि यस तिथिलाई परम पुण्यमय मान्नु भएको छ ।
‘तस्यां कार्यो यवैर्होमो यवैर्विष्णुं समर्चयेत् ।
यवान् दद्यात् द्विजातिभ्यः प्रयतः प्राशयेद्यवान्।
अर्थात् -जौ को हवन, दान र प्राशन गर्नाले मानव जीवन सुखी हुन्छ भनी व्रह्मपुराणमा बताइएको छ।यस दिन मध्याह्नभन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृ-तर्पण तथा दान आदि सम्पन्न गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुने अवसर प्राप्त गर्दछ ।
पं-बालमुकुन्द देबकोटा
सदस्य,सनातन विद्वत्
परिषद् नेपाल।


+ There are no comments
Add yours