एकै जिल्लामा फल्यो ३ हजार ३४ मेट्रिक टन तोरी

०४ वैशाख, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष ३ हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष २ हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा उक्त परिमाणमा उत्पादन भएको हो ।

केन्द्र प्रमुख कुलप्रसाद तिवारीले उत्पादन भएको तेलहन बालीमध्ये तोरी १ हजार ३१९ र सर्स्युँ १ हजार ७१५ मेट्रिक टन रहेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा यहाँ २ हजार ४४३ हेक्टर क्षेत्रफलमा तोरी खेती गर्दा २ हजार ९७१ मेट्रिक टन र २०७९/८० मा २ हजार ४३३ हेक्टर क्षेत्रफलमा खेती गरिँदा २ हजार ९२० मेट्रिक टन उत्पादन भएको थियो ।

आव २०८०/८१ भन्दा यस वर्ष तोरीखेती गर्ने क्षेत्रफल २६ हेक्टर र उत्पादन ६३ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि बालीविज्ञ सञ्जय ढकालले बताए । ‘विगत ३ वर्षको तथ्यांक हेर्दा तोरी खेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढिरहेको छ । जिल्लामा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ,’ उनले भने ।

ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्ले अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गर्नु राम्रो हुने बुझाइले किसानहरू तोरी खेतीमा आकर्षित हुँदै गएकाे बताउँछन् ।

यहाँको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours