२३ फागुन, काठमाडौं । यही फागुन २५ गतेदेखि सुरु हुने सहिद स्मारक बी डिभिजन लिग फुटबलको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । सहभागी क्लबहरुमा आरसिटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड व्वाइज क्लब, व्वाइज यूनियन क्लब, मध्यपुर युथ क्लव, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बांसवारी क्लब, नयाँ वस्ती युथ क्लब, सरस्वती यूथ क्लब, वीरगंज युनाइटेड क्लव, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड छन् ।
सिंगल राउन्ड रोबिनका आधारमा हुने लिगमा कुल ९१ वटा खेलहरु संचालन हुनेछन् । प्रतियोगिताको खेलहरु त्रिप्रेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाइने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
एन्फाले तीन महिना बी डिभिजन लिग सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ । तर क्लबहरुले भने लिग चाँडै सकाउन माग गरेका थिए । एन्फा प्रवक्ता शाहले बि डिभिजन लिग २०८२ साल जेठ २५ गतेसम्म गर्ने भनेर निर्णय गरेको बताए ।
‘क्लबले चाँडै सकाउने प्रस्ताव गर्नुभाको थियो तर हामी पटक-पटक छलफल गरेर यसअघि निकालेको खेल तालिका अनुसार नै सञ्चालन हुनेछ’ प्रवक्ता शाहले भने । लामो समयपछि बी डिभिजन लिग आयोजना हुन लागेको हो ।
बी डिभिजन लिगको विजेताले १५ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १० लाख र तेस्रो हुनेले ५ लाख पाउनेछन् । यसैगरी फेयर प्ले टिमले १ लाख पाउनेछ भने उत्कृष्ट खेलाडीले पनि १ लाख हात पार्नेछ ।
उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५० हजार पाउनेछन् भने हरेक खेलको प्लेअर अफ दि म्याचले ७ हजार ५०० पाउनेछ । यस्तै हरेक खेलको विजेता टोलीले थप २५ हजार पाउनेछ भने बराबरी भए दुवै टिमले १०-१० हजार पाउनेछ ।
लिगको कूल बजेट ३ करोड, ९३ लाख १ हजार ८१४ रुपैयाँ रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । प्रतियोगिताको मार्केटिङ्ग, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्ट्सलाई प्रदान गरिसकिएको छ ।
यसअघि नै एमडीएसीले ए, बी र सी डिभिजन लिगको अधिकार किनेको थियो । त्यही अनुसार नै बी डिभिजनको मार्केटिङ्ग, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्ट्सलाई नै दिईएको प्रवक्ता शाहले बताए ।
प्रतिगोगिताको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ रु १०० र भीआइपी पारापिटतर्फ रु ३०० तय गरिएको छ। त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा सामान्य पारापिटतर्फ रु १०० कायम गरिएको प्रवक्ता शाहले जानकारी दिए ।
बी डिभिजन लिगको शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछ भने पूछारको दुई टोली घटुवा हुनेछ ।


+ There are no comments
Add yours