मानव कङ्‍काल ओसारपसार प्रकरण : ३ वर्षअघि पनि पक्राउ परेका थिए विनोद

२१ पुस, विराटनगर । आइतबार सशस्त्र प्रहरीले विराटनगरको सीमावर्ती क्षेत्रबाट मानव कङ्‍काल ओसारपसारमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लियो । उनको साथबाट ३८ वटा मानव खप्पर र १० नली खुट्टाको हाड बरामद भएको थियो । पक्राउ पर्ने व्यक्ति थिए, विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद राय ।

विनोद यसअघि २० असोज २०७८ मा पनि २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डीसहित पक्राउ परेका थिए । त्यसबेला उनी १७ दिन प्रहरी हिरासतमा बसेर छुटेका थिए । प्रहरीले त्यसबेला उनलाई अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । ५ हजार धरौटी बुझाएर छुटेका उनी फेरि तीन वर्षपछि आइतबार मानव कङ्‍कालसहित पक्राउ परेका हुन् ।

आइतबार भारतबाट रिक्सामा आउँदै गर्दा विराटनगर–१५ स्थित २ नम्बर ढाटमा चेक गर्दा उनको साथमा रहेको झोलामा मानव कङ्‍काल फेला परेको थियो ।

मानव कङ्‍काल ओसारपसारमा संलग्न व्यक्तिलाई कस्तो कारबाही हुने भन्ने विषयमा कानुनले केही नबोलेको प्रहरीको भनाइ छ ।
उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

हिरासतमा रहेका रायलाई कुन मुद्दा चलाउने भन्ने विषयमा प्रहरी स्वयम् अन्योलमा छ । किनकि मानव कङ्‍काल ओसारपसारमा संलग्न व्यक्तिलाई कस्तो कारबाही हुने भन्ने विषयमा कानुनले केही नबोलेको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा रायले बरामद गरिएका मानव कङ्‍कालहरू तान्त्रिक विधिमा प्रयोग हुने बयान दिएका छन् ।

धामीझाँक्रीलाई बिक्री गर्ने उद्देश्यले उक्त मानव कङ्‍काल बोकेको बयान विनोदले प्रहरी समक्ष दिएका छन् । ‘मानव कङ्‍काल धामीझाँक्री र लामाहरूलाई बिक्री गर्न ल्याएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले भने, ‘यस विषयमा थप अनुसन्धान जारी छ ।’

रायलाई कुन मुद्दा चलाउने भन्ने अन्योल रहेको उनी स्वयम् स्वीकार गर्छन् । ‘ मानव कङ्‍कालको विषयमा कानुनले केही बोलेको छैन,  कुन मुद्दा चलाउने भन्ने परामर्शमा छौं,’ उनले भने, ‘ पहिले उनीमाथि अभद्र व्यवहारमा मुद्दा चलाइको रहेछ ।’

प्रहरी स्रोतका अनुसार यस्ता मानव कङ्‍काल चीनतर्फ पनि निकासी हुने अनुमान छ । तर, ठोस आधार भेटिएको छैन । पक्राउ परेका रायले आफूलाई भारतको जोगबनीबाट विराटनगर बजारसम्म पुर्‍याउने जिम्मेवारी रहेको प्रारम्भिक बयान दिएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours