Advertisement

वायु प्रदूषणको सामना गर्दै दक्षिण एसिया

0 12

Advertisement

२८ चैत, काठमाडौँ । स्विस जलवायु समूह आइक्युएयरले सन् २०२३ मा १३४ देशमा गरेको अनुगमनमा सबैभन्दा खराब वायु गुणस्तर बंगलादेशको थियो । त्यसबाहेक प्रतिवेदनमा समग्र दक्षिण एसिया विश्वमा सबैभन्दा खराब प्रदूषणबाट ग्रस्त रहेको भनिएको छ । प्रतिवेदनमा पाकिस्तान र भारत वायु प्रदूषणका हिसाबले हाराहारीमा छन् । प्रदूषणबारे प्रतिवेदनका केही अन्तर्दृष्टि यहाँ उल्लेख गरिएको छ, जसले हामीलाई दक्षिण एसियाली देशका सरकारबारे बताउँछ ।

एक अध्ययनअनुसार उच्च प्रदूषणका कारण भारतीयको औसत आयु ५.३ वर्षसम्मले घट्ने गरेको छ

प्रतिवेदनले विश्वभरका सात हजार आठ सय १२ सहरबाट पिएम २.५ वायु गुणस्तर तथ्यांकको एक सिंहावलोकन प्रदान गर्छ । पिएम २.५ भन्नाले २.५ माइक्रोन वा सोभन्दा सानो व्यास भएको सूक्ष्म कणलाई जनाउँछ । यी मानव श्वासप्रश्वास प्रणालीको गहिराइमा पुग्न सक्ने भएकाले खतरनाक हुन्छन् । यी कण प्राकृतिक घटना, जस्तै– धुलो, तुफान, डढेलो, कोइला जलाउँदा वा कृषिजन्य कार्यजस्ता मानव गतिविधिले गर्दा उत्पन्न हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दिशानिर्देशअनुसार पिएम २.५ को औसत वार्षिक स्तर प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । तथापि, प्रतिवेदनमा सूचीबद्ध १० देशले मात्र यो मानक पुरा गरेका छन् । तिनमा फ्रान्सेली पोलिनेसिया, न्युजिल्यान्ड, फिनल्यान्ड र इस्टोनियालगायत विश्वको सबैभन्दा स्वच्छ हावा भएको मुलुक समावेश छन् । बंगलादेशको पिएम २.५ स्तर ७९.९ माइक्रोग्राम प्रतिघनमिटर छ, जुन विश्व स्वास्थ्य संगठनले स्वस्थ्य भनेर सिफारिस गरेकोभन्दा झन्डै १६ गुणा बढी हो । गत वर्षको तुलनामा पाकिस्तानमा ७३.७ र भारतको हावामा ५४.४ माइक्रोग्राम पिएम २.५ कण प्रतिक्युबिक मिटर थियो ।

आइक्युएयरद्वारा अनुगमन गरिएका प्रत्येक देशभित्रै पनि हावाको गुणस्तर एक सहरदेखि अर्को सहरमा फरक–फरक पाइएका छन् । रिफाइनरी र पावर स्टेसन भएको भारतको बिहारको औद्योगिक र आर्थिक राजधानी बेगुसराइमा सन् २०२३ मा प्रतिघनमिटर औसतमा ११८.९ माइक्रोग्राम पिएम २.५ कण थिए । त्यसबाहेक अरु सहरमा पिएम २.५ कण कुरा गर्दा, नयाँदिल्लीमा ९२.७, बंगलादेशको ढाकामा ८०.२ र धुवाँले ढाकेको पाकिस्तानी सहर लाहोरले ९९.५ को औसत रेकर्ड गरेको थियो । भारतका ८३ सहरमा स्वास्थ्य भनी सिफारिस गरिएको सीमाभन्दा १० गुणा बढी छ ।

प्रतिवेदनअनुसार सन् २०२३ मा औसतमा प्रतिघनमिटर २.५ पिएम कणको स्तर केबल २.७ माइक्रोग्रामको साथ संसारको सबैभन्दा कम प्रदूषित सहर सान जुआन (प्युर्टो रिको) बनेको थियो । प्रतिवेदनमा ३.१ माइक्रोग्रामका साथ दोस्रो नम्बरमा न्युजिल्यान्डको वेलिंगटन छ भने अस्ट्रेलियाको क्यानबेरा ३.८ माइक्रोग्रामसहित तेस्रो स्थानमा छ ।

दक्षिण एसियामा खराब हावाको गुणस्तरमा प्रायः इँटाभट्टा र अन्य औद्योगिक उत्सर्जन, कृषि उपज निकालसकपछि बाँकी रहने परालजन्य वस्तुमा आगजनी गर्ने अभ्यासआदीको योगदान रहेको पाइन्छ । विशेषगरी यस भेगमा खाना पकाउन र अन्य कामको लागि ताप उत्सर्जन गर्न दाउरा, गुईठा(दाउरामा गोबर दलेर सुकाएर बनाईने)जस्ता ठोस इन्धन जलाउँने प्रचलन छ । यसले पनि वायु प्रदूषण बढाउँछ । त्यस्तै न्युन हावाको गुणस्तरमा प्लास्टिक जलाउने क्रिया र सवारीसाधनको धुवाँको पनि उत्तिक्कै भूमिका छ । पराल बाल्ने सिजनमा पाकिस्तान, भारत, नेपालमा बन्ने धुवाँ हावाले बंगलादेशतर्फ लान सक्छ । त्यसबाहेक बंगलादेशभित्र झन्डै आठ हजार इँटाभट्टा छन्, जसमध्ये केही अवैध रूपमा सञ्चालित छन् ।

उत्तरी भारत र दिल्लीमा विशेषगरी विधुत उत्पादन गर्न कोइलाको प्रयोग हुन्छ । कोइलाले वायुको गुणस्तर निक्कै खराब बनाउँछ । भारत र पाकिस्तानका किसानहरूले गहुँको रोपाईंको लागि खेत तयार गर्न धान काटेपछि बोटको बाँकी अवशेष जलाउँछन् । वर्षेनी चल्ने यस बाली जलाउने प्रक्रियाले पनि वायु प्रदूषण बढाएको छ । वायु प्रदूषण बढाउनमा दक्षिण एसियाको भूगोलले पनि केही योगदान छ । बंगलादेश, पूर्वी पाकिस्तानको ठूलो भूभाग, उत्तरी र पूर्वी भारत र नेपालको दक्षिणी भूभाग समेट्ने गंगा मैदानबाट उत्सर्जन हुने प्रदूषण तटीय हावाले उठाउँदा पनि उत्तरतर्फको हिमालयले टाढा फैलिन दिँदैन, यहीँ रोकिदिन्छ ।

एसियामा खराब हावाको प्रभाव के छ ?

‘इम्पेरियल कलेज लन्डन’को पर्यावरण अनुसन्धान समूहले वायु प्रदूषणबारे दशकौँ वैज्ञानिक अनुसन्धानपछि अप्रिल २०२३ मा एक समीक्षा प्रकाशित गर्‍यो । समीक्षाले वायु प्रदूषण र नवजात शिशुहरूको स्वास्थ्य, कम तौल, गर्भपतन र मृत बच्चाबीचको सम्बन्ध फेला पारेको छ । यसले यो पनि पत्ता लगायो कि वायु प्रदूषणको प्रारम्भिक जोखिमले विकासलाई बाधा पुर्‍याउन सक्छ । अगस्ट २०२३ मा सिकागो विश्वविद्यालयको ऊर्जा नीति संस्थान (इपिआइसी)ले प्रकाशन गरेको एयर क्वालिटी लाइफ इन्डेक्स (एक्युएलआई) अनुसार प्रदूषणका कारण औसत भारतीयको आयु ५.३ वर्षले घटेको छ । नयाँदिल्लीमा औसत आयु १० वर्षले घटेको छ ।

प्रतिवेदनले डब्ल्युएचओका दिशानिर्देश पूरा गरेमा वायुको गुणस्तरले औसत पाकिस्तानी ३.९ वर्ष बाँच्ने देखाएको छ । स्वास्थ्य प्रभावबाहेक पाकिस्तान र भारतमा वायु प्रदूषणले शिक्षा र व्यापारजस्ता दैनिक गतिविधिलाई असर गरेको छ । सन् २०२३ को नोभेम्बरको सुरुमा धुवाँले ढाकेको पाकिस्तानको पन्जाब प्रान्त, लाहोर, गुजरनवाला र हाफिजाबादमा आपत्काल घोषणा गरियो र सबै सार्वजनिक स्थान बन्द गरियो । भारतको राजधानी दिल्लीमा एकै समयमा वायु प्रदूषणको खतरनाक स्तरका कारण विद्यालय बन्द गरिनुका साथै निर्माण कार्य रोकिएको थियो । पछि सन् २०२३ को नोभेम्बरमा लाहोरमा फेस मास्क अनिवार्य बनाइयो ।

वायु गुणस्तर संकट समाधान गर्न के गर्न सकिन्छ ?

आइक्युएयरले जारी गरेको प्रतिवेदनले सरकारलाई नवीकरणीय ऊर्जा पहलमा लगानी गर्न, सफा सवारीसाधनलाई प्रोत्साहित गर्न, पैदल यात्रुमैत्री पूर्वाधारमा सुधार गरेर तिनको गतिशिलता बढाउन र पराल जलाउने अभ्यासमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । प्रतिवेदनले विशेषगरी दक्षिण एसियामा सरकारद्वारा सञ्चालित वायु गुणस्तर अनुगमन स्टेसनहरूको अभावलाई उजागर गरेको छ । पाकिस्तानको लाहोर र पेसावर साथै बंगलादेशको ढाकामा हावाको गुणस्तरको तथ्यांक रिपोर्ट गर्ने लगभग ९६ प्रतिशत स्टेसन देशका सरकारहरूसँग सम्बद्ध छैनन् । प्रतिवेदनका अनुसार आम मानिस र समाजिक संस्थाले वायु प्रदूषण स्तरको दस्ताबेजीकरण र अनुगमन गर्न चाहे पनि सरकारले त्यसो गर्ने जिम्मेवारी दिइरहेको छैन ।

वायु प्रदूषण नियन्त्रण गर्न दक्षिण एसियाली सरकारले प्रयास नै नगरेका भने होइनन् । उदाहरणका लागि सन् २०२३ को जनवरीमा वायु प्रदुषण उच्च भएपछि दिल्लीको राष्ट्रिय राजधानी क्षेत्रमा कोइला जलाउन प्रतिबन्ध लगाइएको थियो । त्यस्तै, सन् २०१८ मा दिल्लीमा पुराना गाडीलाई प्रतिबन्ध लगाइयो । यस निर्णयले सडकमा कारको संख्या ३५ प्रतिशतले घट्न पुग्यो । सन् २०२३ को नोभेम्बरमा दिल्ली राज्य सरकार र ‘इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी–कानपुर’ले मिलेर गरेको अध्ययनले दिल्लीको वायु प्रदूषणमा सवारीसाधनको उत्सर्जन सबैभन्दा ठूलो कारक रहेको देखाएको छ ।

उता भारतको छिमेकी मुलुक पाकिस्तानले उसको सबैभन्दा घना जनसंख्या भएको र कृषिकेन्द्रित राज्य पन्जाबमा बाली जलाउन प्रतिबन्ध लगाएको छ । त्यहाँ निजी सवारीसाधनको प्रयोग घटाउन सार्वजनिक यातायात सुदृढीकरण परियोजना सुरु गरिएको छ । यद्यपि, यी प्रतिबन्धका बाबजुद किसानले गैरकानुनी रूपमा बाली जलाउने कार्यलाई जारी राखेका छन् । धुवाँलाई नियन्त्रण गर्न भारत र पाकिस्तानले कृत्रिम वर्षा गराउन कृत्रिम वर्षा गराउने ‘क्लाउड सिडिङ’तर्फ पनि ध्यान दिएका छन् । क्लाउड सिडिङअन्तर्गत जमिनमा जेनेरेटर वा आकाशमा विमानको प्रयोग गरी बादललाई क्रिस्टल बनाउने प्रक्रियालाई तीव्र बनाइन्छ । क्रिस्टलले वर्षाको पानीका थोपा निर्माण गर्न मद्दत गर्छ । बंगलादेशको वातावरण, वन र जलवायु परिवर्तन मन्त्रालयले जनवरीमा इँटाभट्टा ट्य्राकर प्रयोग गर्ने योजनाको घोषणा गर्‍यो । यसले हानिकारक इँटाभट्टा पहिचान गर्न र कार्यान्वयन सुधारमा ‘रिमोट सेन्सिङ’ प्रविधि प्रयोग गर्नेछ ।

(अलजजिराका लागि सारा समिमको आलेख)



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.