Advertisement

प्रहरी सुरक्षाबीच बञ्चरे डाँडामा फोहोर विसर्जन

0 22

Advertisement

०६ साउन, काठमाडौँ । स्थानीयको अवरोधबीच प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहोर बञ्चरे डाँडामा विसर्जन गर्न सुरु गरिएको छ । शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १२० वटा गाडी बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट पुगेका थिए । फोहोर बोकेर गएका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजे पनि प्रहरीले बल प्रयोग गरेर भिड पन्छाएको थियो ।

स्थानीयले फोहोरका कारण दुर्गन्ध फैलिएको, गिद्धले सिनोहरू ल्याएर मानिसको छत र आँगनमा झार्ने गरेको, फोहोरका कारण रोगव्याध लाग्ने गरेको र झिँगा फैलिएर बस्तीमा खाना खानसमेत अप्ठेरो परेको गुनासो गर्दै आएका छन् ।

उनीहरूले अव्यस्थित रूपमा फालिएको फोहोर व्यवस्थापन नगरेसम्म र फोहोरबाट अति प्रभावित भएका स्थानीयलाई अर्काे बस्तीमा स्थानान्तरण नगरेसम्म काठमाडौं उपत्यकाको फोहोर ल्याण्डफिल्ड साइटमा जान नदिने अडान राख्दै आएका छन् । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेका कुनै पनि गाडी केही दिनदेखि ल्याण्डफिल्ड साइट जान सकेका थिएनन् । बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरूले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन १ साउनदेखि फोहोर बोकेर ल्याण्डफिल साइट गएका गाडीहरूलाई बाटोमै रोकेका थिए ।

दैनिक ३८० वटा ट्रक बञ्चरेडाँडा जाने गरे पनि अवरोध हुँदा काठमाडौंमा फोहोर व्यवस्थापनमा समस्या सिर्जना भइसकेको थियो । २ साउनमा गएको ३० वटा फोहोर बोकेका गाडी बाटोबाटै फर्केको पछि फोहोर बोकेको गाडी काठमाडौंबाट जानै रोकिएको थियो । तर, बिहीबार क्यापिङ गर्न माटो लिएर २० वटा ट्रक बञ्चरेडाँडा जाँदा अवरोध भएको थिएन । पाँच दिनसम्म फोहोर नउठ्दा टेकु ट्रान्सफर स्टेसन भरिँदै आएको छ भने ललितपुर महानगरपालिकाले घरभित्र फोहोर व्यवस्थापन गर्न महानगरवासीलाई सूचना जारी गरेको छ । काठमाडौंका मैतीदेवी, रातोपुल, न्युरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ ।

केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरूलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो । तर, स्थानीयले शुल्कभन्दा नागरिकको स्वास्थ्य महत्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने अडान लिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको उनीहरूको आरोप छ । डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडिनी लगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको उनीहरूको भनाइ छ ।

उनीहरू ‘कि हामीलाई मारिदे, कि बस्ती सारिदे भन्दै आन्दोलनमा उत्रिएका हुन् । ‘फोहोररहित मानव, मानवरहित फोहोर, फोहोर हामीलाई चाहिँदैन, मान्छे मार्न पाइँदैन,’ लगायत नारासहित फोहोरमैला पीडित नागरिक आन्दोलनमा उत्रिएका छन् । २०६२/०६३ सालमा केही वर्षका लागि उपत्यकाकाको फोहोर ओखरपौवाको सिसडोलमा बिसर्जन गरिएको थियो । त्यहाँ भरिएपछि डेढ किमि तल नयाँ ल्याण्डफिल साइट बञ्चरे डाँडामा निर्माण गरेर केही वर्षदेखि फोहोर बिसर्जन हुँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.