Advertisement

आँखाको उपचार गर्न धरान बाहिर जानु पर्दैन:डा. इच्छा जोशी

0 49

Advertisement

डा. इच्छा जोशी सोनीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी अप्थाल्मोलोजी गरेकी छन् । उनले विराटनगर आँखा अस्पतालमा रेटिना र विराट आँखा अस्पताल विराटनगरमा फेको (मोतीविन्दु) को तालिमपश्चात् ६ वर्षदेखि आँखा विशेषज्ञको रूपमा काम गर्दै आएकी थिइन् । अहिले उनले धरान–१२ मा सूर्य आई केयर (आँखा उपचार केन्द्र) स्थापना गरेकी छन् । उनै डा. इच्छासँग डिजिटल खबरले गरेको कुराकानीको सम्पादित अंश ।

 आँखाका के के समस्या हुन्छन् ?

–आँखाको कमन समस्या दृष्टिदोष हो । चश्मा लगाउनु पर्ने हुन्छ । मोतीविन्दु, जलविन्दु, रेटिना, आँखाको ढकनी तल झर्ने, माथि पल्टिने, आँसु आइरहने, सिजनल आँखा पाक्ने समस्या हुन्छन् ।

 लक्षणहरू के के देखा पर्छन् ?

–दृष्टिदोषमा आँखा कम देख्ने, मोतीविन्दुमा बत्ती छरिएको र धमिलो देखिने, बादल लागेजस्तो देखिने, चश्माको पावर बढ्दै जाने हुन्छ । जलविन्दुमा आँखा दुख्ने हुन्छ । आँखा पाक्नेमा रातो हुने, कचेरा आउने, च्यापच्याप आँखा टालिने हुन्छ । धुलोधुवाँबाट हुने एलर्जीको लक्षण चिलाउने, सुन्निने, रातो हुन्छ । रेटिनाको लक्षणमा दृष्टि कम हुन्छ ।

 के कारणले आँखामा समस्या आउँछ ?

–वंशाणुगत र उमेरका कारणले हुन्छ । अँध्यारो कोठामा पढ्ने मोबाइल हेर्नेको आँखाको प्रेसर बढेर पनि हुनसक्छ । चोट लागेर हुन सक्छ ।

कसरी बच्न सकिन्छ ?

–आँखालाई बचाउन घाममा हिँड्दा सन ग्लास लगाउनु पर्छ । घामका किरणले मोतीविन्दु, एलर्जी हुनसक्छ । कम्प्युटर, मोबाइल चलाउँदा प्रत्येक १५–२० मिनेटमा विश्राम लिनुपर्छ । १ फिटको दूरीमा राखेर मात्रै हेर्ने । प्रोटेक्सन चश्मा लगाउने, आँखाको एक्सरसाइज गर्नुपर्छ । हरियो सागसब्जी कलरफुल फलफूल, ओमेगा थ्री माछा खाने र सफा राख्ने गर्नुपर्छ ।

अहिले सूर्य आई केयर सञ्चालन गर्नुभएको छ, के के सेवा पाइन्छ ?

–चश्मा, आँखाको प्रेसरको जाँच, ओसिटी जाँच गरिन्छ । ओसिटीमा आँखाको फोटो खिच्ने, आँखाको रेटिनाको स्क्यान गरिन्छ । अल्ट्रासाउन्ड हुन्छ । रेटिनामा लेजर हुन्छ । मोतीविन्दु भइसकेपछि लेजर गर्नुपर्छ । बच्चादेखि वृद्धवृद्धासम्मको आँखा परीक्षण हुन्छ । आँखामा मासु पलाएको, मोतीविन्दु, रेटिनादेखि सबै शल्यक्रिया गर्छौं ।

 आखाँका लागि धरानबाहिर जाने बाध्यता छ । यहाँ के सेवा पाइन्छ ?

–तिलगङ्गा आँखा अस्पतालमा पाउने सेवा सबै यहीँ पाइन्छ । लेजर सर्जरी, चश्मा हटाउनेबाहेक सबै सेवा पाउनुहुन्छ । विराटनगरको सेवा पनि सबै यहीँ पाइन्छ । मेरो प्राथमिकतामा रेटिना हो ।

 शुल्क कति लाग्छ ?

–विराटनगरको सरकारी र गैरसरकारी संस्थाले फन्डेड गरेको अस्पताल हो । त्यहाँको तुलनामा यहाँ केही बढी शुल्क राखेका छौँ । अप्रेशनको शुल्क समान छ ।

सूर्य आई केयरले विभिन्न स्थानमा शिविर चलाइरहेको छ । प्रचारकै लागि हो ?

–म विराटनगरमा कार्यरत हुँदा धरानका धेरै बिरामीको सेवा गरेँ । धरानका बिरामीलाई आउन–जान गाह्रो हुन्थ्यो । शिविरको मुख्य उद्देश्य आँखाको उपचार धरानमै हुन्छ भनेर थाहा होस् भन्ने हो । ६५ वर्षमाथिका बुबाआमालाई छुटसहित सेवा दिइरहेका छौँ । सेवासँगै प्रचार–प्रसार भइहाल्छ ।

कति लागतमा सुरु गर्नुभएको हो ?

–मेसिन र अस्पताल सेटअप गरेर साढे ४ करोड खर्च भएको छ ।

 जटिल शल्यक्रिया सफल भएको कुनै अविस्मरणीय क्षण छन् तपाईंका ?

–रेटिनाको शल्यक्रिया गर्दा सधैँ च्यालेन्जिङ नै हुन्छ । रेटिनाको पर्दामा सानो नशाको अप्रेशन हुन्छ । आँखा नदेख्ने बुबाआमा आउनुहुन्छ । अप्रेशनपछि आँखा देखेपछि हामीलाई पनि खुसी लाग्छ । उहाँहरूले आशीर्वाद दिनुहुन्छ । त्यसो गर्दा साह्रै खुसी लाग्छ । 

अन्य अस्पतालमा सेवा दिइरहनुभएको थियो, अस्पताल खोल्नुपर्ने अवस्था किन आयो ?

–६ वर्षदेखि विराटनगर धाइरहेकी थिएँ । व्यक्तिगत जीवन भएन । बच्चा पनि हेर्न सकिनँ । सधैँ बिहानै धाउनु पर्ने । घरपरिवार र आमाबुबा हेर्न सकिनँ । धरानमा विशेषज्ञ आँखा क्लिनिकको पनि कमी देखेको थिएँ र खोलिएको हो । 

 सेवा कि व्यापार ?

–दुवै । सेवा नगरी व्यापार र व्यापार नभई सेवा हुँदैन ।

आँखाको सबै उपचार कहिलेदेखि सुरु हुन्छ ?

–सुरुको दुई वर्ष मोतीविन्दु, जलविन्दु र रेटिनामा प्राथमिकता दिएका छौँ । लेजर (चश्मा नलाउनु पर्ने) सेवा ५ वर्षमा दिने योजना छ ।

आँखाभित्र पनि विशिष्टता हुन्छ ?

–सातवटा फरक–फरक स्पेशलिटी हुन्छन् । जेनेरल अप्थाल्मोलोजी, जसले सबै हेर्छन् । रेटिना, पेट्राटिक, कर्निया, जलविन्दु, लेजर (चश्मा हटाउने सर्जरी र नशाको न्यूरो अप्थाल्मोलोजी हुन्छ । 

नौ महिनाको अवधिमा प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

–मैले सोचेभन्दा राम्रो छ । औषतमा दैनिक ३० जनाले सेवा लिइरहनु भएको छ । हप्तामा १०–१२ जनाको अप्रेशन हुन्छ ।

महिला भएर काम गर्दा केही समस्या भोग्नुपर्यो ?

–आँखाका प्रायः डाक्टर महिला हुने भएकाले समस्यामा परिनँ । आँखामा  आकस्मिक केस कम हुने भएकाले प्रायः महिला नै डाक्टर हुन्छन् ।

आगामी योजना के छन् ?

–राम्रो सेवा दिने र अझै सुविधा बढाउनेछौँ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.