Advertisement

वरिष्ठ उपाध्यक्षमा सहमति जुट्न नसक्दा महासंघ नेतृत्व दबाबमा

0 31

Advertisement

१८ चैत्र, काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिएसँगै नेतृत्वका लागि दौडधूप बढेको छ । अन्य पदाधिकारीमात्र नभई भावी अध्यक्ष वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसमेत प्रतिस्पर्धीको व्यवस्थापनका लागि दबाबमा हुनुहुन्छ । खासगरी वरिष्ठ उपाध्यक्षमा तीनजना प्रतिस्पर्धीका कारण महासंघको आगामी निर्वाचन पेचिलो बन्दै गएको छ । किनभने हालसम्म वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धीबीच सहमतिको संकेत देखिएको छैन ।

त्यसैले पनि महासंघका भावी अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षका तीनैजना उम्मेदवार योग्य र सक्षम रहेको भन्दै सबै प्रदेशको सहमतिको सन्देश बुझ्न आग्रह गर्नुभएको छ । उहाँले तीन वर्षबाट दुईवर्षे कार्यकाल बनाएर भए पनि तीनैजना नेतृत्वमा पुग्नुपर्ने अवस्था रहे पनि सहमति हुन नसक्दा दुईजना सक्षम व्यक्ति बाहिरिनुपर्ने अवस्था आउने बताउनुभयो । शुक्रबार महासंघ मधेश प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ढकालले यस्तो बताउनुभएको हो । महासंघको चैत २८ गते हुने साधारणसभाबाट ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्नुहुनेछ भने ढकालपछि स्वतः अध्यक्ष बन्ने योजनासहित अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षका दौडमा रहनुभएको छ ।

यसैबीच वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुःख दिन थालेको आरोप लगाउनुभएको छ । सरकारले उद्योगी व्यवसायीको मनोबल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्थामा विभिन्न खालका समस्या सिर्जना गरेर हतोत्साहित गरेको उहाँको भनाइ छ ।

खासगरी वरिष्ठ उपाध्यक्षका तीनजना प्रतिस्पर्धीका कारण महासंघको आगामी निर्वाचन पेचिलो बन्दै गएको छ । किनभने हालसम्म वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धीबीच सहमतिको संकेत देखिएको छैन ।

श्रेष्ठले भन्नुभयो, ‘आर्थिक क्षेत्रको संवाहक निजी क्षेत्र हो । निजी क्षेत्र नभई सरकार चल्दैन । अहिलेको अवस्थामा निजी क्षेत्रको मनोबल उकास्न नयाँ-नयाँ कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ । बजारमा आएको मागमा गिरावटका कारण अहिले उद्योगी व्यवसायीको सामान बिक्री हुने अवस्था छैन, जसका कारण बैंकको कर्जा तिर्न सक्ने अवस्थामा छैनौँ । तर पनि हामी उद्योगी व्यवसायीले बैंकको कर्जा वा ब्याज तिर्दैनौँ भनेका छैनौँ तर अहिलेको अवस्थामा राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीकरण र सरकारले ब्याजमा सहुलियत दिनु जरुरी छ ।’

उहाँले व्यावसायिक हकहितका लागि महासंघमा कुशल नेतृत्व आवश्यक भएको भन्दै त्यसका लागि अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सारथीका रूपमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘अहिले महासंघले प्रदेश, जिल्ला, नगर, वस्तुगत संघ र एसोसिएट्स सदस्यबीच समन्वय गरेर व्यवसायीका वास्तविक समस्या समाधान गर्न सकेको छैन, जबसम्म जिल्ला, नगर तथा वस्तुगतका साथीहरूले महासंघको केन्द्रीय नेतृत्वलाई गाली गर्ने अवस्था आइरहन्छ, तबसम्म महासंघ सुधार भएको मानिँदैन ।’ अहिले महासंघको पुरानो गरिमामा आँच आएको भन्दै उहाँले आफूलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाएको अवस्थामा उक्त गरिमा उच्च बनाउँदै सम्मानित व्यवसायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी उमेशलाल समूहबाट जिल्ला, नगरतर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला, नगर उद्योग वाणिज्य संघ रहेको भन्दै उहाँले यही ठाउँबाट सशक्त अभियान सञ्चालन गर्न जिल्ला, नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको बताउनुभएको हो । श्रेष्ठले अहिलेको अवस्थामा व्यावसायिक हितका लागि फुटेरभन्दा पनि जुटेर अघि बढ्नुपर्ने अवस्था आएकाले उमेशलाल श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा अघि बढाएको समेत जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो क्षेत्रको नेतृत्व गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृत्व गरेसरह हो भन्ने विश्वाससाथ मैले महासंघको जिल्ला, नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ । देशको अर्थतन्त्र र निजी क्षेत्र नाजुक हुँदै गएको वर्तमान अवस्थामा समकालीन चेम्बर अभियन्ता जुटेर जानुपर्नेमा त्यसले सार्थकता पाएन । नयाँ नेतृत्व चयनका लागि सहमति प्रयास गर्दै गर्दा सहमति हुन नसक्नु दुःखलाग्दो विषय हो ।’

देशका सम्पूर्ण निजी क्षेत्रको धरोहरका रूपमा रहेको महासंघलाई नयाँ दिशातर्फ अघि लैजान आफूले उम्मेदवारी दिएको भन्दै श्रेष्ठले सदस्यहरूलाई मजबुतरूपमा संगठित गरी नयाँ जोस र सक्रियतातर्फ लम्काउन जरुरी रहेको बताउनुभयो । सबै सदस्यले पाउने सेवा सुचारुरूपले प्रदान गर्न, सबै वर्गका सदस्यले महासंघले आफूहरूप्रति समान व्यवहार गरेको महसुस गराउन, कुनै व्यक्ति, वर्गवाद वा समूहको स्वार्थपूर्तिको माध्यम बन्ने अवस्था आउन नदिन आफूले जिल्ला, नगर उपाध्यक्षमा उम्मेदवारी दिएको उहाँको भनाइ थियो ।

उपाध्यक्षका उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘विगत छ-सात वर्षदेखि जिल्ला तथा नगरसँग प्रत्यक्षरूपमा संलग्न हुने अवसर पाएँ । जिल्ला, नगरका साथीहरूले परिपक्व निर्णय गर्दै स्थानीय उद्योग व्यवसायलाई बुझेर नेतृत्वमा आउन दिएको आदेशले नै मैले उम्मेदवारी दिएको हो, जिल्ला, नगरमा रहेका उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीलाई सीमित सेवा दिन सकिरहेको अवस्था छ । त्यहाँका साना–ठूला समस्या सरकारसमक्ष पु¥याई समाधान गर्न सक्षम केन्द्रीय नेतृत्व हुनु जरुरी भएको साथीहरूको आग्रहलाई शिरोधार्य गर्दै उम्मेदवारी दिएको हुँ ।’

उहाँले लगानीयोग्य कोष अभाव, अनियन्त्रित बन्दै गएको चर्को बैंक ब्याजदर तथा वित्तीय संस्थाको ज्यादतीका कारण समग्र निजी क्षेत्रको मनोबल कमजोर र संवेदनशील हुँदै गएको भन्दै यस्तो विषम परिस्थिति सामना गर्दै आगामी दिनमा निजी क्षेत्रको आशाको केन्द्रबिन्दुका रूपमा रहेको महासंघको भूमिका सशक्त बनाउन झनै सक्षम, सबल, सशक्त र क्षमतावान नेतृत्व र समूहको आवश्यकता रहेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘अवस्था जटिल भयो भन्दै एकपछि अर्को गर्दै कडाइसाथ ल्याइएका नीतिगत व्यवस्थाले समस्या गम्भीर बनेको छ, बैंक वित्तीय संस्थाका नीतिगत दरहरू हेरफेर गरिदिने हो भने पनि निजी क्षेत्रलाई सहज हुनेमात्र नभई कारोबार चलायमान बन्दा अहिलेको समस्या टर्न सक्छ । यसबारे महासंघमा मेरो जोडदार पहल रहनेछ ।’ त्यस्तै, वस्तुगततर्फको उपाध्यक्षको प्रतिस्पर्धीमा हेमराज ढकाल र एसोसिएट उपाध्यक्षको प्रतिस्पर्धीमा जोत्सना श्रेष्ठ रहनुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.