Advertisement

ललितानिवास प्रकरण : भ्रष्टाचार मुद्दामा फागुन १ देखि अन्तिम सुनुवाइ हुने

0 286

Advertisement

२८ पुस, काठमाडाैँ । ललितानिवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फागुन १ गते देखि अन्तिम सुनुवाइ हुने भएको छ। विशेष अदालत काठमाडौंमा विचाराधीन रहेको भ्रष्टाचार मुद्दा २ वर्षपछि अन्तिम सुनुवाइ हुन लागेको हो।

२०७६ माघ २२ गते ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री, सचिव, अख्तियारकै पूर्वप्रमुख आयुक्त, मालपोत र भूमि सुधारका अधिकृत र कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले ११० जनालाई आरोपीका रूपमा र ६५ जनालाई जग्गा फिर्ताका लागि प्रतिवादी बनाएको थियो।

डेढ वर्ष म्याद तामेली र प्रतिवादीको खोजीमा बिताएको विशेषले फागुन १ गतेदेखि अन्तिम सुनुवाइका लागि सरकारी साक्षी वकपत्रका लागि पेसी तोकेको छ। विशेष अदालतका प्रवक्ता दीपेन्द्र अधिकारीका अनुसार यो मुद्दामा धेरै प्रतिवादी भएका कारण म्याद तामेलीले नै लामो समय लिएको हो। उनका अनुसार अब यो मुद्दामा बिनारोकावट सुनुवाइ हुनेछ।

जग्गा कीर्ते मुद्दा अनुसन्धानको प्रतिवेदन सरकारी वकिल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा घुमिरहँदा पहिलो मुद्दा भने फैसलाको क्रममा जाने भएको हो। विशेषले पटक–पटक म्याद तामेली गरेपनि उपस्थित नभएका मुख्य विचौलिया रामकुमार सुवेदीसहित फरार रहेका ३७ अभियुक्तहरुको हकमा सार्वजनिक सूचना प्रकाशन गर्दै अन्य अभियुक्तको मुद्दा अघि बढाएको हो।

पुस ९ गते विशेषले उक्त प्रकरणमा साक्षी बुझ्ने आदेश पनि गरेको थियो। न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेको इजलासले साक्षी बुझ्ने आदेश गरेपछि साक्षीहरुको वकपत्र गराउने नयाँ पेसी तोकिएको हो। इजलासले साक्षीको बयानपछि मुद्दालाई अन्तिम सुनुवाइमा लैजाने छ। उनीहरुको वकपत्रपछि विशेषले अन्तिम सुनुवाइ सुरु गर्नेछ।

अन्तिम सुनुवाइ सुरु हुदाँसम्म फरार अभियुक्तहरू उपस्थित भएमा समावेश गराउने छ भने नआएमा उनीहरुलाई फरारी कायम गरि फैसला सुनाउने छ। यसरी हुने फैसलामा चित्त नबुझेमा उनीहरु सर्वोच्च अदालत जान पाउने छन्। अन्य प्रतिवादीले विशेषको फैसलाविरुद्ध सर्वोच्च गएझैं उनीहरुले पनि पुनरावेदनको अधिकार पाउने छन्। तर, विशेषले उनीहरुकै लागि भनेर अब सुनुवाइ रोकेर राख्ने छैन।

१३८ जनाको मुद्दामा बहस हुने

विशेष अदालतले २०७६ माघमा अदालत उपस्थित हुन म्याद जारी गरेको थियो। अदालतको म्याद अनुसार हालसम्म १३८ जना प्रतिवादी उपस्थित भएका छन् भने एक जना मात्र पुर्पक्षका लागि थुनामा पठाइएका छन्। अन्य प्रतिवादीहरू पनि धरौटी र साधारण तारेखमा रिहा भएका छन्। अदालतले केही प्रतिवादीहरुलाई धरौटीमा रिहा गरेको छ भने केहीलाई अदालतले चाहेको समयमा उपस्थित हुने गरेर साधारण तारेखमा रिहा गरेको छ। अब हुने अन्तिम सुनुवाइमा उनीहरु उपस्थित हुने छन्।

मुख्य अभियुक्तको आरोप लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार गएको असार ३० गते विशेष अदालत हाजिर भएका थिए। एक वर्षदेखि फरार रहेका उनी विशेष अदालत सार्वजनिक सूचना जारी गर्ने प्रक्रियामा गएपछि उपस्थित भएका थिए।

करिब चार घण्टा बयान दिँदै सोही दिन १० लाख धरौटी बुझाएर उनी रिहा भएका थिए। उनी अदालत उपस्थित हुने १३३औं प्रतिवादी थिए। उनीपछि थप पाँच जना हाजिर भएर अदालतबाट रिहा भएका छन् ।

विशेषले तीन जनाको हकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। यसरी धरौटी माग हुने मुख्य अभियुक्तमा गच्छदारदेखि भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरका मालिक मिनबहादुर गुरुङसम्म थिए।

५४ जनालाई अदालतले खोजेको समयमा उपस्थित हुनेगरी साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो। विशेषले धरौटी नलिई रिहा गरेको उच्च तहका व्यक्तिमा पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.