युक्रेन युद्धको विरोध गरेकी रुसी पत्रकारलाई जर्मनीमा जागिर मिल्यो
२९ चैत, बीबीसी । जर्मनीको एउटा न्युज आउटलेटले रुसी सरकार विरोधी महिला पत्रकार मारिना ओभ्स्यान्निकोभालाई संवाददाताको रूपमा जागिर दिएको छ । ‘डाय वेल्ट’ नामक अखबारसमेत चलाउने गरेको सञ्चार कम्पनीले उनले अब रुस र युक्रेनबाट आफ्नो लागि रिपोर्टिङ गर्ने जनाएको छ ।
गत महिना ओभ्स्यान्निकोभाले रुसी टेलिभिजनमा च्यानलमा युक्रेनमाथिको रुसी आक्रमणको विरोध गरेकी थिइन् । उनले च्यानल वानको प्रत्यक्ष कार्यक्रममा युद्धविरुद्धका प्लेकार्ड प्रदर्शन गरेर तहल्का मच्चाएकी थिइन् । तत्काल पक्राउमा परेकी ४३ वर्षीया पत्रकारलाई रुसको एक अदालतले आर्थिक जरिबाना गराएको खबरले अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गरेको थियो ।
अबदेखि उनले डाय बेल्ट अखबारका लागि स्वतन्त्र पत्रकारको हैसियतले खबर लेख्नेछिन् । चाँडै नै उनी यसै जर्मन सञ्चार कम्पनीको टेलिभिजनमा पनि देखा पर्दैछिन् ।
उनले भनेकी छन्, “‘डाय बेल्ट’ अहिले युक्रेनी स्वतन्त्रताका लागि युक्रेनी भूमिमा उभिरहेका साहशी व्यक्तिहरूलाई प्रतिरक्षा गर्ने पर्याय बनिरहेको छ ।”
बेल्ट ग्रुपका प्रधानसम्पादक उल्फ प्रोस्चार्द्टले भनेका छन्, “राज्यको खतरा र दमनका बाबजुद ओभ्स्यान्निकोभाको अन–एयर विरोधले पत्रकारिताको सबैभन्दा महत्वपूर्ण नैतिकताको प्रतिरक्षा गरेको छ । म उनीसँग सहकार्य गर्न निकै उत्सुक छु ।”
मार्चको सो विरोधपछि आफूलाई दुई दिन सुत्न नदिएको र लगातार १४ घन्टासम्म सोधपुछ गरेको उनले बताएकी थिइन् । अनलाइनमा युद्ध विरोधी भिडियो पोस्ट गरेबापत उनलाई २८० अमेरिकी डलर जरिबाना तिराइएको थियो ।