११ कार्तिक, काठमाडाैँ । काठमाडौं महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्ने ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागी हुने भएको छ।
मंगलवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलकी निर्देशक आयुषा श्रेष्ठले नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह आयोजना गरिने जानकारी दिइन्।
काठमाडौंको संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको श्रेष्ठले बताइन्। पुराना कलाकारको सम्मान गर्दै उनीहरूको सिर्जनात्मक कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि महोत्सवको उद्देश्य रहेको उनले बताइन्।
अभिनेत्री आजमीले कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक संवाद कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ। त्यस्तै, जापानी निर्देशक ताकायुकी नाकामुराले सोही दिन राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रस्तुति दिनेछन्।
महोत्सवको पहिलो दिन कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्रा आयोजना गरिनेछ। कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रम तथा पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’ प्रदर्शन गरिने आयोजकले जनाएको छ।
निर्देशक श्रेष्ठका अनुसार महोत्सवमा प्रदर्शन गरिने सबै चलचित्र नागरिकले निःशुल्क हेर्न पाउनेछन्। दर्शकले भने सिट आरक्षण गर्नुपर्नेछ।
महोत्सव वसन्तपुर, सिटी हल, जय नेपाल सिनेमा र बौद्ध क्षेत्रमा सञ्चालन हुनेछ। आयोजकले महोत्सवको सुरुवात र समापन विश्व सम्पदा सूचीमा समावेश सम्पदासँग जोडिएका स्थानमा हुने गरी कार्यक्रम तय गरेको जनाएको छ। जय नेपाल हलमा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिनेछ।
महोत्सवअन्तर्गत ‘नेपाल पानोरामा सर्ट्स’ विधामा नेपाली परिवेशमा स्थानीय नवप्रतिभाले निर्माण गरेका चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन्। महानगरपालिकाले गरेको खुला आह्वानमा प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ। छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
महोत्सवमा नेपालसहित विभिन्न देशका चलचित्र प्रदर्शन गरिनेछन्। चलचित्रका माध्यमबाट काठमाडौंको सांस्कृतिक पहिचान, सम्पदा र सिर्जनात्मक सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले राखेको छ।


+ There are no comments
Add yours