२१ साउन, काठमाडौँ । नेपाल सरकारले नेपाली सेनासहित निजामती कर्मचारी, प्रहरी र शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले साउन १ गतेदेखि लागू हुने गरी नेपाली सेनाका विभिन्न दर्जाका सैनिकहरूको नयाँ तलब र सुविधा निर्धारण गरेको हो ।
नयाँ तलबमानअनुसार नेपाली सेनाको सर्वोच्च पद प्रधान सेनापतिको मासिक तलब स्केल ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। प्रधान सेनापतिको सुरुवाती तलब ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा दुई ग्रेड थप भएपछि यो रकम कायम भएको हो। त्यस्तै, रथीको कुल तलब ८७ हजार ८५ रुपैयाँ र उपरथीको ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ।
सैनिक अधिकारीहरूको तहगत तलब वृद्धिको विवरणअनुसार सहायक रथीको ७८ हजार २ सय २० रुपैयाँ, महासेनानीको ७२ हजार ८ सय ७६ रुपैयाँ र प्रमुख सेनानीको ६९ हजार ९ रुपैयाँ पुगेको छ। सेनानी दर्जाका अधिकारीको मासिक तलब ६७ हजार ९ सय ७ रुपैयाँ कायम हुँदा सह(सेनानीले ६२ हजार ३ सय १५ रुपैयाँ र उप–सेनानीले ५९ हजार ५ सय ३७ रुपैयाँ बुझ्नेछन्। सहायक सेनानीको तलब भने ४८ हजार ५८ रुपैयाँ तोकिएको छ।
जुनियर कमिसन्ड अफिसर (जेसीओ) तर्फ प्रमुख सुवेदारको मासिक तलब ४९ हजार ६ सय ७ रुपैयाँ पुगेको छ भने सुवेदारको ४७ हजार १ सय १४ रुपैयाँ र जमदारको ४३ हजार ३ सय ७२ रुपैयाँ कायम भएको छ। तल्लो तहका सैनिक कर्मचारीहरूमा हुद्दाको ३७ हजार ६ सय ४८ रुपैयाँ, अमलदारको ३७ हजार ४ सय ५७ रुपैयाँ र प्यूठको ३७ हजार १ सय १३ रुपैयाँ तलब कायम गरिएको छ।
नेपाली सेनाको आधारभूत पद सिपाहीको मासिक तलब ३६ हजार ३ सय ३८ रुपैयाँ पुगेको छ। त्यस्तै, रिक्रुटको २७ हजार १ सय ७२ रुपैयाँ र फलोअर्स (विभिन्न श्रेणी) को तलब दर्जाअनुसार २८ हजारदेखि ४० हजार रुपैयाँको हाराहारीमा रहेको छ।
विमान सम्भार समूह तर्फका प्राविधिक सैनिकहरूको तलब पनि सोही अनुपातमा केही बढी कायम गरिएको छ, जसमा पाइलट उपरथीको तलब ९० हजार ५ सय ९ रुपैयाँसम्म पुगेको छ। सरकारले साउन १ गतेदेखि लागू हुने गरी ग्रेड रकम र वृद्धिपश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता समेत दिने निर्णय गरेको छ।





+ There are no comments
Add yours