असार २९ देखि नयाँ ई–पासपोर्ट, अब पुरानो प्रणाली अन्त्य

२१ असार , काठमाडाैँ राहदानी विभागले नयाँ ई–पासपोर्ट प्रणाली लागू गर्ने अन्तिम तयारी गरेसँगै, देशभित्र र बाहिरबाट प्रवाह हुने राहदानी सेवा आगामी साता केही दिनका लागि पूर्ण रूपमा प्रभावित हुने भएको छ । राहदानी छपाइ ठेक्का प्रकरणको विवाद र अख्तियारको कारबाहीपछि नयाँ प्रणाली अघि बढ्ने भएको खबरका साथ उपस्थित भएका छौ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले हाल सञ्चालनमा रहेको राहदानी वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै नयाँ प्रणालीमा रूपान्तरण गर्ने भएको छ । विभागले शुक्रबार एक औपचारिक सूचना जारी गर्दै नयाँ विद्युतीय प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको जानकारी गराएको छ।

पुरानो प्रणालीबाट नयाँ प्रणालीमा डाटा स्थानान्तरण र अन्य व्यवस्थापकीय कार्य गर्नुपर्ने भएकाले नियमित सेवा प्रवाहलाई केही दिनका लागि स्थगित गर्नुपरेको विभागले जनाएको छ।यस स्तरोन्नतिका कारण देशभरका सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।

विभागको सूचनाअनुसार, देशभरका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित सम्पूर्ण नेपाली कूटनीतिक नियोगहरूबाट प्रदान गरिने राहदानीसम्बन्धी सेवा आगामी असार २४ गतेदेखि २६ गतेसम्म लगातार तीन दिन बन्द रहनेछ ।

यसैगरी, काठमाडौंस्थित केन्द्रीय राहदानी विभागबाट प्रवाह हुने प्रत्यक्ष सेवा भने असार २५ र २६ गते दुई दिनका लागि पूर्ण रूपमा स्थगित हुनेछ। आगामी असार २९ गतेदेखि भने नयाँ विद्युतीय प्रणालीमार्फत राहदानी सेवा नियमित र सुचारु रूपमा सञ्चालनमा आउने विभागले स्पष्ट पारेको छ।

नयाँ ई–पासपोर्ट (विद्युतीय राहदानी) छपाइको जिम्मेवारी पाएको जर्मन कम्पनीले आफ्नो प्राविधिक काम अन्तिम चरणमा पु¥याएको छ। उक्त कम्पनीले आफूहरू छपाइको काम सुरु गर्न पूर्ण रूपमा तयार रहेको लिखित जानकारी विभागलाई गराइसकेको छ।

साथै, कामको संवेदनशीलतालाई मध्यनजर गर्दै कम्पनीले आफ्ना कर्मचारीहरूको उचित सुरक्षा प्रबन्ध मिलाइदिनसमेत नेपाल सरकारसँग औपचारिक अनुरोध गरेको छ । एकातिर नयाँ प्रणालीको तयारी भइरहँदा, अर्कोतिर राहदानी छपाइको ठेक्का प्रक्रिया भने विवाद र कानुनी अड्चनको घेरामा परेको छ।

यसै ठेक्का प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ। अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउँदै अख्तियारले गत साता मात्रै यस ठेक्का प्रकरणमा अनियमितता भएको ठहर गर्दै १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिसकेको छ ।

यता सरकारले जर्मन कम्पनीबाटै नयाँ पासपोर्ट छपाउने प्रक्रिया पनि अघि बढाइएको छ । अब असार २९ गतेदेखि जर्मन प्रणालीबाटै नयाँ राहदानी छापिने सुनिश्चित भएको छ । राहदानी सेवाग्राहीले सेवा बन्द हुने यी दिनहरूलाई ध्यानमा राखेर आफ्ना कार्यहरू तय गर्न विभागले आग्रह गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours