आयो १६५ क्षेत्रकै नतिजा, कसको कति सिट ?

२६ फागुन, काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधि सभाका सबै १६५ वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ । फागुन २१ गते देशभर एकैसाथ सम्पन्न मतदानको अन्तिम परिणाम सोमबार राति संखुवासभाको मत गणना सकिएसँगै सार्वजनिक भएको हो ।

निर्वाचन आयोगका अनुसार संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पालाई पराजित गर्दै अन्तिम सिट सुरक्षित गरेका छन् । योसँगै प्रत्यक्षतर्फको १६५ सिटको छिनोफानो भएको छ ।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परम्परागत शक्तिहरूलाई निकै पछाडि छाड्दै प्रत्यक्षतर्फ मात्रै १२५ सिटमा सानदार जित हासिल गरेको छ । यसैगरी नेपाली कांग्रेस १८ सिटमा खुम्चिएको छ भने नेकपा एमालेले ९ सिटमा चित्त बुझाएको छ ।

अन्य दलहरूमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८ सिट प्राप्त गर्दा नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेको छ । यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले पनि जित निकालेर संसदको यात्रा तय गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ को नतिजा भने अदालती प्रक्रियाको घेरामा परेको छ । उम्मेदवारी खारेजीको विवादका बीच निर्वाचन आयोगले नेकपाका उम्मेदवार मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ । तर, आफ्नो उम्मेदवारी अन्यायपूर्ण तरिकाले खारेज गरिएको भन्दै रास्वपाका उम्मेदवारले अदालतमा मुद्दा दायर गरेका छन्, जसले गर्दा यहाँको परिणामलाई लिएर राजनीतिक वृत्तमा बहस जारी छ ।

प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि रास्वपाले आफ्नो पकड बलियो बनाएको छ । हालसम्म गणना भएको एक करोड मतमध्ये झण्डै आधा मत रास्वपाकै पोल्टामा देखिएको छ । आयोगका अनुसार ६ वटा राजनीतिक दलले मात्र ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गरेका छन् । जसमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा रहेका छन् ।

निर्वाचनको यो नतिजाले नेपालको संसदीय राजनीतिमा नयाँ समीकरण निर्माण हुने र पुराना स्थापित दलहरूलाई ठूलो धक्का पुगेको विश्लेषण गरिएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा अब समानुपातिक सिटको बाँडफाँडपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours