२३ साउन, काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा ल्यापटप आयात १ अर्ब रुपैयाँले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार, अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ल्यापटप आयातको मूल्य १ अर्ब ३२ करोड ९७ लाख १९ हजार रुपैयाँले बढेको हो ।
गत आर्थिक वर्ष विभिन्न मुलुकबाट १ लाख २९ हजार ५९ वटा ल्यापटप नेपाल भित्रिएको छ । उक्त ल्यापटप भित्रिदा नेपालले ८ अर्ब ८२ करोड ९६ लाख २५ हजार रुपैयाँ बुझाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष १ अर्ब ३२ करोड ३८ लाख ९९ हजार रुपैयाँ बढीको ल्यापटप आयात भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब ५० करोड ५७ लाख २६ हजार रुपैयाँको १ लाख १५ हजार ८२६ वटा ल्यापटप आयात भएको थियो ।
कुन देशबाट कति ?
गत आर्थिक वर्ष चीन, मलेसिया, यूएई, भियतनाम, अमेरिका, सिंगापुर, भारत, ताइवान, अष्ट्रेलिया, थाइल्यान्ड लगायत ४० वटा मुलुकबाट ल्यापटप आयात भएको छ । सो अवधिमा सबैभन्दा बढी चीनबाट ८ अर्ब ३९ करोड १५ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख २२ हजार ७०७ वटा ल्यापटप आयात भएको छ ।
मलेसियाबाट २ हजार ७१६ वटा ल्यापटप आयात हुँदा १५ करोड ९३ लाख ८६ हजार रुपैयाँ बाहिरीएको छ । यूएईबाट ७ करोड २२ लाख २ हजार रुपैयाँ बराबरको १ हजार ५४ वटा ल्यापटप आयात हुँदा भियतनामबाट ४८५ वटा ल्यापटप ४ करोड ४७ लाख ५ हजार रुपैयाँमा आयात गरेको हो ।
अमेरिकाबाट ३ करोड २० लाख ७६ हजार रुपैयाँ बराबरको ४२४ वटा ल्यापटप आयात भएको छ भने सिंगापुरबाट २ करोड १२ लाख ४० हजार रुपैयाँ बराबरको ३३८ वटा ल्यापटप आयात भएको हो ।
भारतबाट १ करोड ५७ लाख ५१ हजार रुपैयाँ बराबरको २०१ वटा, ताइवानबाट १ करोड ११ लाख ८ हजार रुपैयाँ बराबरको १०७ वटा, अष्टेलियाबाट ९४ लाख १८ हजार रुपैयाँ बराबरको १३६ वटा र थाइल्यान्डबाट ९१ लाख ७३ हजार रुपैयाँ बराबरको ८८ वटा ल्यापटप आयात भएको हो ।


+ There are no comments
Add yours