थाइल्यान्डमा नाटक मञ्चनपछि मिस मेक्सिको विजयी

०६ मंसिर, काठमाडाैँ । थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज हासिल गर्नुभयो । अन्तिम चरण अघि नै आयोजकसँगको विवाद, नाटकीय गल्तीहरू र मञ्चिय घटनाक्रमहरूले वातावरण तनावपूर्ण बनेको अवस्थामा उहाँ विजयी हुनुभएको हो ।

आइभोरी कोस्ट, फिलिपिन्स, थाइल्यान्ड र भेनेजुएलाका सुन्दरीहरू सहित १२० भन्दा बढी प्रतिस्पर्धीमध्येबाट छनोट भएकामध्ये बोश अन्तिम चरणसम्म पुग्नुभएको थियो । तर उहाँले ताज पहिरिनु अघि नै प्रतियोगिता अराजकता र आरोप–प्रत्यारोपले भरिएको थियो—उहाँको बुद्धिको अपमान, निर्णायकहरूको राजीनामा र केही सहभागी मञ्चमा वा बाहिर लडेकोजस्ता घटना निरन्तर सार्वजनिक भइरहे ।

यस महिना एक बैठकका क्रममा मिस युनिभर्स थाइल्यान्डका निर्देशक नवाट इतसाराग्रिसिलले सामाजिक सञ्जालमा प्रचार सामग्री पर्याप्त रूपमा पोस्ट नगरेको भन्दै मिस मेक्सिकोमाथि तीव्र आलोचना गर्नुभएको थियो । विवाद चर्किएपछि लाइभ स्ट्रिम भइरहेका बेला नै बोश कसैसँग केही नबोली नाटकीय रूपमा बैठकबाट बाहिरिनुभएको थियो । सुरक्षाकर्मीलाई बोलाइएको समयमा मिस इराक उहाँलाई घेर्न पुगेर वातावरण झनै तनावपूर्ण देखिएको थियो ।

अन्य केही प्रतिस्पर्धीले पनि बोशलाई समर्थन जनाउँदै आयोजकको व्यवहार सम्मानजनक नभएको टिप्पणी गरेका थिए । “आफ्नो निर्देशकबाट यस्तो अनादर सहनु पर्दा दुःख लागेको छ, उहाँले मलाई मूर्ख भन्नुभयो”, बोशले पत्रकारहरूलाई भन्नुभएको थियो, “हामी सक्षम महिलाहरू हौँ, यो हाम्रो आवाज उठाउने मञ्च हो, विश्वले यो देख्नैपर्छ ।”

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले घटना सार्वजनिक भएपछि बोशको खुलेरै प्रशंसा गर्दै उहाँलाई ‘महिलाहरूले आत्मविश्वासपूर्वक बोल्नुपर्ने उदाहरण’ भनेर प्रशंसा गर्नुभएको थियो । “सार्वजनिक कार्यक्रममा महिलाहरू बोल्दा उनीहरू झन् सुन्दर देखिन्छन् । त्यसैले मेरो समर्थन यी युवतीलाई नै हो”, राष्ट्रपति सेनबामले भन्नुभएको थियो ।

Miss Mexico Fatima Bosch (C) is crowned as she celebrates winning the 2025 Miss Universe pageant in Nonthaburi, north of Bangkok, on November 21, 2025. (Photo by Lillian SUWANRUMPHA / AFP)

नवाटले पछि माफी मागे पनि प्रतियोगिताका दिन पत्रकारहरूले सोध्दा उहाँले सुरुआतमा टिप्पणी गर्न अस्वीकार गर्दै ‘अब यसबारे प्रशंसकहरूले नै चर्चा गरून्, म परिणामको सम्मान गर्छु’ भन्नुभयो । तर त्यही पत्रकार सम्मेलनमा पछि उहाँले बोशलाई बधाई पनि दिनुभयो ।

मेक्सिकोमा बोशको पक्षमा चर्को उत्साह देखिएको थियो । सामाजिक सञ्जाल भरिएका थिए, समाचारमाध्यमले निरन्तर कभरेज दिएका थिए र भिलाहेरमोसामा रहेको उहाँको गृहनगरमा हजारौँ मानिस बेसबल स्टेडियममा भेला भई प्रत्यक्ष प्रसारण हेरेका थिए । बोशले ताज पहिरिँदा आतशबाजीसँगै ‘मेक्सिको, मेक्सिको!’ भन्दै भीड उत्साहित भएको स्थानीय मिडियाले जनाएको छ ।

प्रतियोगिताको अन्तिम चरणमा पुगुञ्जेल पनि नाटक थामिएन । दुई निर्णायकले राजीनामा दिंदै गैर–आधिकारिक र ‘गोप्य तथा अवैध मतदान’ भएको आरोप लगाइदिए । फ्रान्सेली सङ्गीतकार ओमार हार्फचले इन्स्टाग्राममार्फत आधिकारिक प्यानलका सदस्य नभएकाहरूले मतदान गरेको दाबी गर्नुभएको थियो । मिस युनिभर्स सङ्गठनले भने यस्तो कुनै ‘आकस्मिक निर्णायक मण्डल’ गठन नभएको भन्दै आरोप अस्वीकार गर्‍यो । पूर्व फुटबलर क्लाउड मेकले पनि ‘अप्रत्याशित व्यक्तिगत कारण’ बताउँदै जूरीबाट राजीनामा दिएका थिए ।

प्रतियोगिताका क्रममा मिस ब्रिटेन डेनियल ल्याटिमर ककनी चरित्र एलिजा डुलिटलबाट प्रेरित पोशाकमा स्टेजमै लड्नुभएको थियो । त्यस्तै, मिस जमैका ग्याब्रिएल हेनरी साँझको गाउन राउन्डका क्रममा मुख्य मञ्चबाट खस्नुभएको थियो । मिस युनिभर्स अर्गनाइजेसनका अध्यक्ष राउल रोचाका अनुसार उहाँलाई अस्पतालमा लैजाँदा गम्भीर चोट भने लागेको थिएन । मिस युनिभर्स जमैकाका जनसम्पर्क निर्देशक श्यानन–डेल रिडका अनुसार हेनरी ‘मेडिकल निगरानीमा आराम गरिरहनु भएको’ र उहाँको अवस्था स्थिर रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours