अस्ट्रेलियाको भिसा नीतिमा फेरबदल हुँदा विद्यार्थी पनि प्रभावित

१४ असोज, काठमाडौँ । अस्ट्रेलिया सरकारले आप्रवासन व्यवस्थापनलाई थप कडाइ गर्दै अस्थायी भिसासम्बन्धी नयाँ नियम घोषणा गरेको छ। सरकारले चालु आर्थिक वर्षमा नेट ओभरसिज माइग्रेसन (एनओएम) २ लाख ४५ हजारमा सीमित गर्ने लक्ष्यसहित भिसा प्रणालीमा थप नियन्त्रणको नीति अघि सारेको हो।

नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीले अर्को विद्यार्थी भिसाका लागि आवेदन दिँदा आफूले अध्ययन गरिरहेको भन्दा तल्लो तहको पाठ्यक्रममा परिवर्तन गर्न थप प्रतिबन्ध सामना गर्नुपर्नेछ।

विद्यार्थी भिसालाई अस्ट्रेलियामा लामो समयसम्म बस्ने माध्यमका रूपमा प्रयोग गर्दै अध्ययनको स्तर घटाउने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न यस्तो व्यवस्था ल्याइएको सरकारले जनाएको छ।

यस्तै, वर्किङ होलिडे भिसा कार्यक्रमअन्तर्गत दोस्रो र तेस्रो वर्षको भिसाका लागि नयाँ ब्यालोट प्रणाली लागू गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावअनुसार दोस्रो वर्षको भिसाका लागि वार्षिक ४५ हजार र तेस्रो वर्षका लागि ५ हजार कोटा छुट्याइनेछ।

योग्य आवेदकहरूमध्येबाट ब्यालोटमार्फत भिसाका लागि छनोट गरिनेछ। त्यसका लागि आवेदकले हालको नियमअनुसार तोकिएको क्षेत्रमा आवश्यक अवधि काम गरेको हुनुपर्नेछ। दोस्रो वर्षको वर्किङ होलिडे भिसाका लागि ८८ दिनको निर्दिष्ट काम पूरा गर्नुपर्ने व्यवस्था भने यथावत् रहनेछ।

सरकारले भिजिटर भिसा प्रयोग गरेर अस्ट्रेलिया प्रवेश गरी त्यसपछि अर्को प्रकारको भिसामा जाने प्रक्रियामा पनि कडाइ गर्ने जनाएको छ। यस अन्तर्गत केही भिजिटर भिसामा थप बसाइ लम्ब्याउन नपाइने सर्त लागू गरिनेछ।

अस्ट्रेलिया सरकारका अनुसार यी परिवर्तनको मुख्य उद्देश्य अस्थायी भिसा प्रणालीलाई व्यवस्थित गर्नु, भिसाको दुरुपयोग रोक्नु र आप्रवासनको स्तरलाई निर्धारित लक्ष्यअनुसार व्यवस्थापन गर्नु हो।

यद्यपि, नयाँ नियम सबै भिसावाहकमा एकै किसिमले लागू हुने छैनन्। कुन भिसा, कुन राष्ट्रियता र कस्तो परिस्थितिमा नयाँ व्यवस्था लागू हुन्छ भन्ने विषय सम्बन्धित सरकारी नियमअनुसार फरक पर्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours