०६ मंसिर, काठमाडाैँ । किफायती बलिङ गर्न चुकिरहेको पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा लगातार दोस्रो हारपछि दबाबमा परेको छ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले कीर्तिपुरमा शुक्रबार सुदूरपश्चिम रोयल्ससँग १८ रनले नतिजा सुम्पिएपछि दोस्रो सिजनमा दोस्रो हार सामना गरेको छ। बलिङले लय समाउन नसक्दा पोखराले फेरि हार सामना गरेको हो। अघिल्लो खेलमा पनि पोखराले किफायती बलिङ गर्न नसक्दा विराटनगर किङ्ससँग ५३ रनको फराकिलो हार बेहोरेको थियो।
विराटनगरविरुद्ध पोखराले दुई सय २१ रनको लक्ष्य पछ्याएको थियो, जुन अहिलेसम्म एनपिएलकै सबैभन्दा ठूलो लक्ष्य पनि हो। दोस्रो खेलमा पनि पोखराका बलर महँगा साबित भए। फेरि पहिले बलिङ गरेको पोखराले विशाल लक्ष्य सामना गर्नुपर्यो।
बलरले किफायती बलिङ गर्न नसक्दा विशाल लक्ष्य पछ्याउने क्रम दोस्रो खेलमा पनि जारी रह्यो। त्रिवि क्रिकेट मैदानमा पहिले टस जितेर बलिङ गर्ने पोखराको निर्णय सही बन्न सकेन। पोखराले ६ बलर प्रयोग गर्यो। तीमध्ये चार बलरले १० रनभन्दा माथि प्रतिओभर रन खर्चिए। अघिल्लो खेलमा पोखराले ६ बलर नै प्रयोग गरेको थियो। सबै बलरले १० रनभन्दा माथि प्रतिओभर खर्चिएका थिए। सुदूरपश्चिमविरुद्ध पनि बलिङ खराब भएपछि पोखरा दुई सय रनभन्दा माथिको लक्ष्य नजिक देखिन्थ्यो तर, अन्तिम पाँच ओभरमा लय समात्दा फेरि कीर्तिमानी लक्ष्य पछ्याउनबाट बचे पनि हार टार्न भने असफल भयो। सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा ३३ रन जोड्दा पाँच विकेट नै गुमाएको थियो।
यद्यपि, सुदूरपश्चिम एक सय ९४ रनको विशाल लक्ष्य दिन सफल भयो। जबाफमा पूरै ओभर खेले पनि पोखराले आठ विकेट गुमाउँदै एक सय ७५ रन मात्र बनाउन सक्यो। खराब बलिङपछि लगातार दोस्रो हार सामना गरे पनि पोखराका प्रशिक्षक राजीव कुमारले आफ्ना बलरको बचाउ गरे। उनले आफ्नो टोलीमा राम्रो बलर रहे पनि कहिलेकाहीँ योजनाभन्दा बाहिर हुने उल्लेख गरे। ‘हाम्रो टोलीमा राम्रै बलर छन् तर, टी ट्वान्टीमा कहिलेकाहीँ लक्ष्यभन्दा विपरीत हुन जान्छ,’ प्रशिक्षक राजीवले भने,‘हामीसँग अझै पाँच खेल छन् र पुनरागमन गर्ने अवसर छ।’
विशाल लक्ष्य पछ्याएको पोखराको सुरुआत पनि राम्रो हुन सकेन। लगातार दोस्रो खेलमा पनि पोखराको ओपनिङ साझेदारी राम्रो भएन।
ओपनर दिनेश खरेल फेरि दोहोरो अंकमा रन नबनाउँदै आउट भए। सुदूरपश्चिमसँग उनी र अर्का एडम रोसिङ्टनबीच तालमेल मिलाउन नसक्दा पोखरा सुरुमै दबाबमा पर्यो। पहिलो ओभरमै एडम १ रनमै रनआउट भए। पाँचौं ओभरमा तीन ब्याटर सस्तै आउट भए। तेस्रो ओभरमा हरमित सिंहले दिनेशलाई पनि हेमन्त धामीबाट क्याच गराए। त्यसपछि किरण ठगुन्ना ९ रनमै पभेलियन फर्किए। यद्यपि, चौथो विकेटका लागि कप्तान कुशल र जिमी निसामबीच ७५ रनको महत्त्वपूर्ण साझेदारी बन्यो। यी दुई लेब्याटिङ गर्दा पोखराले पूर्ण दबाब बनायो। यद्यपि, १२औं ओभरमा सुदूरपश्चिम कप्तान दीपेन्द्रसिंह ऐरीले निसामलाई बोल्ड गर्दै ठूलो सफलता दिलाए।
पहिलो दुई बलमा निसामले लगातार छक्का प्रहार गर्दै दीपेन्द्रमाथि दबाब बनाए। तर, तेस्रो बलमा दीपेन्द्रले उनलाई बोल्ड गरे। फेरि पोखरामाथि दबाब बढ्यो। निसामले २५ बलमा ४७ रन जोडे। उनले दुई चौका र पाँच छक्का प्रहार गरे। उनी आउट हुँदा पोखरा ११.३ ओभरमा ९५/४ को स्थितिमा पुग्यो। त्यसपछि कुशलले साथ पाउन सकेनन् । सुमित बर्मा ६ रनमा क्याच भए। दबाबमा परेका कुशल पनि १६औं ओभरमा ठूलो सट खेल्ने चक्करमा बोल्ड भए। उनले ३२ बलमा ५३ रन जोडे। उनको इनिङमा समान चार चौका र छक्का थियो। यो विकेटपछि सुदूरपश्चिमले खेलमा पूर्ण दबाब बनायो।
कप्तान कुशलले ५३ रनको अर्धशतकीय इनिङ खेले। पोखराले लगातार विकेट गुमाउँदै खेल सुम्पियो। अभिशेक तिवारी १३ बल खेलेर ३ रनमा आउट भए। आठौं नम्बरमा ब्याटिङ गर्न आएका डान डाउथवेटले १६ बलमा ३७ रन जोडे पनि जित दिलाउन सकेनन्। उनले एक चौका र पाँच छक्का हिर्काए। सुदूरपश्चिमको बलिङमा हरमित सिंहले दुई तथा स्कट कुग्गेलिन, दीपेन्द्रसिंह, हेमन्त धामी, अविनाश बोहोरा र नरेन साउदले समान एक विकेट लिँदै पोखरालाई लक्ष्य पूरा हुन दिएनन्। पोखराले लगातार दोस्रो खेलमा राम्रो ब्याटिङ गरे पनि सामान्य स्थितिमा पुर्याए पनि पर्याप्त भएन। पोखरामाथि खराब बलिङको चिन्ता बढेको छ। यता, उपविजेता सुदूरपश्चिमले पनि लगातार दोस्रो जित निकाल्दै यसपल्ट पनि क्वालिफायरको दाबेदारी दिएको छ।
पहिलो खेलमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजमाथि २९ रनको जित निकालेको थियो। सुदूरपश्चिमका बलर हेमन्त धामीले जित भइरहँदा टोलीमा राम्रो वातावरण सिर्जना हुने प्रतिक्रिया दिए। हेमन्तले शीर्ष क्रमका ब्याटर जोस ब्राउन, विनोद भण्डारी र क्रिस लिनले राम्रो ब्याटिङ गर्दै राम्रो योगफल बनाउँदा सहज भएको उल्लेख गरे। तर, अन्तिम केही ओभरमा राम्रो हुन नसक्दा दुई सय रन पार गर्ने योजना पूरा नभएको हेमन्त बताउँछन्। त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा सात विकेटको क्षतिमा एक सय ९३ रनको लक्ष्य जोड्यो। ओपनरद्वय जोस ब्राउनले ६८ रन र विनोद भण्डारीले ४३ रनको योगदान दिए।
यी दुईले पहिलो विकेटका लागि एक सय ८ रनको शतकीय इनिङको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। जिमी निसामले ११औं अेोभरमा ब्राउनलाई किरण ठगुन्नाबाट क्याच गराए। ब्राउनले ३५ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे। विकेटकिपर तथा ब्याट्सम्यान भण्डारीले भने सुस्त ब्याटिङ गर्दै अर्को छेउ समाले। उनले दोस्रो विकेटका लागि क्रिस लिनसँग ३४ रनको साझेदारी गरे। क्रिसले १३ बलमा ३१ रन जोड्दै आक्रामक ब्याटिङ गरे। तेस्रो विकेटका रूपमा आउट हुनुअघि उनले चार चौका र दुई छक्का हिर्काए। १३औं ओभरमा क्रिस आउट हुँदा सुदूरपश्चिमले १४२÷२ को राम्रो स्थितिमा थियो। सुदूरपश्चिमले १४.३ ओभरमा एक सय ५० रनको आँकडा पार गरेको थियो।
त्यसपछि सुदूरपश्चिमले राम्रो साझेदारी बनाउन सकेन र लगातार विकेट गुमायो। बाँकी सात ओभरमा सुदूरपश्चिमले पाँच विकेट गुमाउँदा ४७ रन जोड्यो। कप्तान दीपेन्द्रले १० बलमा समान एक चौका र छक्कासहित १५ रन जोडे। दीपेन्द्र १६औं ओभरमा डान डाउथवेटको बलमा आउट भए। लगत्तै ओभरमा विनोद पनि आकाश चन्दको बलमा सिकार भए। ओपनर विनोदले ४२ बलमा ६ चौका हिर्काए। त्यसपछि आएका ब्याटरले राम्रो रन नै बटुल्न सकेनन्। हरमित सिंह ४ रन, स्कट कुग्गेलिन ८ र आरिफ शेख शून्यमा नै पभेलियन फर्किए । पोखराको बलिङमा जिमी निसामले तीन विकेट तथा डान र आकाश चन्दले समान दुई विकेट लिए।


+ There are no comments
Add yours