Advertisement

बालाचतुर्दशीको धार्मिक महत्व !

0 339

Advertisement

०५ मंसिर, काठमाडौं मिति २०७९ साल मंसिर ६ गते मंगलबार त्रयोदशी तिथी प्रात:७ /१० बजेसम्म त्यस उप्रान्त चतुर्दशी तिथी आरम्भ भएकोले यो दिन मार्गकृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी एक नेपालमा मनाईने एक परम्परागत पर्व हो।जुन विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ ।सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ ।प्रत्येक वर्षकोहेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ ।यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ ।बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ ।अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ ।यसैकारण पनि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपतिपरिसरमा आइपुग्छन् ।पशुपतिनाथमा छरिने शतबीजको महिमा बताउँदै हेमादि्रले भनेका छन्-
‘सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते।’

नेपालीमा ‘शतम्’को अर्थ सय र ‘बीज’को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ ।तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ ।यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि काठमाण्डौको पशुपतिनाथको मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ ।आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्गा कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ ।प्रचलनअनुसार मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले पशुपतिनाथको मन्दिरवरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् ।सुरूमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका गणेश नजीक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्दछन्। भगवान् शिव मृगरूप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ। बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती पनि छ।

यसैगरी पशुपतिको मुर्दाघाटमा बस्ने बालानन्द नामक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको मुर्दाको टाउको फुट्न गई उछिट्टीएको गिदी उनको च्युरामा परेको र उक्त गिदीसँगै च्युरा खाँदा झन् मीठो स्वाद आएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्के।यस्तै आचरण तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित बृषसिंहमार्फत उसलाई मार्न लगाएको अर्को किम्वदन्ती पनि छ।आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई सतबीज छर्ने आज्ञा दिएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि सतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि सतबीज छर्ने गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ।आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ। पशुपति, मृगस्थली एवं कैलाशमा शतबीज छर्नाले अन्न वा सुनचाँदी दान गरेभन्दा पनि ठूलो पुण्य मिल्छ भन्ने पुराणमा बताइएको छ। भगवान् शिवले पनि आफ्नो बालककालमा शतबीज छरेकोले यस दिनको नाम बालाचतुर्दशी रहेको हो भन्ने कुराको उल्लेख पनि गरिएको छ।यसैगरी शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बालाचतुर्दशीको दिन शतबीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि पाइन्छ।मार्गकृष्ण त्रयोदशीको दिन बेलुकी त्यही वर्ष मातापिता वा आफन्त दिवंगत हुनेहरूका र धेरैवर्ष अगाडि नै दिवंगत भइसकेका पितृका सन्तानहरू पशुपतिका वरपर वा अन्य शिवालय परिसरमा गएर बत्ती बाल्ने गर्दछन्।यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ।तर
धर्मसिन्धु पृ.९६१ ,टि.२ को मत अनुसार “विशेषत :शिवपूजां प्रमीतपितृको नर : /यावद्वत्सरपर्यन्तं मनसापी नचाचारेत्।।” अर्थात् – बाबुआमा आदिको मृत्यु भएको वर्ष अशौची पुत्रादिले शिवालयमा जानु ,शिवजीको दर्शनगर्नु ,पूजागर्नुआदि केहिगर्न हुँदैन ,दर्शन पूजाको त के कुरा शिवजीलाई मनले सम्झनसम्म पनि हुँदैन भन्ने शास्त्रीय निर्णय रहेको छ।त्यसैले वरखी बारेको वर्ष पशुपतिनाथमा बत्तिबाल्ने ,सतबीज छर्ने जस्ता कार्य गर्नु पर्दैन भन्ने पनि निर्णय रहेको छ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.