२६ साउन, काठमाडौँ । अमेरिकाका बहुसंख्यक नागरिक सामाजिक सञ्जाल कम्पनीले सञ्चालन गर्ने तरिकामाथि सरकारले थप नियम लागू गर्नुपर्ने पक्षमा रहेको रोयटर्स/इप्सोसको सर्वेक्षणले देखाएको छ। यसमा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न उमेर प्रमाणीकरणका उपकरण अनिवार्य गर्नुपर्ने विषय पनि समावेश छ।
अगस्ट ३ मा समाप्त भएको ६ दिनको अवधिमा गरिएको यो सर्वेक्षण सामाजिक सञ्जाल कम्पनीहरू मेटा प्लेटफर्म्स र गुगलको युट्युबले युवा प्रयोगकर्तासँग गर्ने व्यवहारलाई लिएर कानुनी दबाब बढिरहेका बेला सार्वजनिक भएको हो।
मेटाले युवा प्रयोगकर्तालाई लत लाग्ने गरी आफ्ना उत्पादन डिजाइन गरेको आरोपमा राज्यका अभियोजकहरूले दायर गरेको मुद्दामा बुधबार सुनुवाइ सुरु हुने अपेक्षा गरिएको छ।
मेटाले आरोप अस्वीकार गर्दै आएको छ। राज्यहरू उक्त मुद्दामा विजयी भए कम्पनीले १.४ ट्रिलियन अमेरिकी डलरसम्म जरिवाना तिर्नुपर्ने हुन सक्ने मेटाले जनाएको छ। यसैबीच, न्यु मेक्सिकोको एक राज्य अदालतले बिहीबार मेटालाई किशोरको मानसिक स्वास्थ्य कोषमा ५६ करोड ७० लाख डलर जम्मा गर्न र युवा प्रयोगकर्ताका लागि आफ्ना प्लेटफर्मको सञ्चालनमा परिवर्तन गर्न आदेश दिएको थियो। बालबालिकाको कल्याणमा क्षति पुर्याएकोमा अदालतले मेटालाई जिम्मेवार ठहर गरेको थियो।
रोयटर्सका अनुसार युवामाथि सामाजिक सञ्जालको प्रभावलाई लिएर अमेरिकाभरका सांसदहरूले पनि प्रविधि कम्पनीमाथि निगरानी बढाइरहेका छन्।
एक दर्जनभन्दा बढी राज्यले नाबालिगको सामाजिक सञ्जाल पहुँचलाई नियमन गर्ने कानुन पारित गरिसकेका छन्। अनलाइन सुरक्षा बढाउन यस्तो व्यवस्था आवश्यक रहेको उनीहरूको भनाइ छ।
मेटा, टिकटक र स्न्यापजस्ता सामाजिक सञ्जाल कम्पनीको समर्थन रहेको व्यापारिक समूह नेटच्वाइसले प्रयोगकर्ताको उमेर प्रमाणीकरण अनिवार्य गर्ने कानुन रोक्न मुद्दा दायर गरेको छ। यस्तो कानुनले अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसम्बन्धी अधिकार उल्लङ्घन गर्ने उसको तर्क छ।
सर्वेक्षणमा सहभागीमध्ये ६१ प्रतिशतले सामाजिक सञ्जाल कम्पनीमाथि कडा निगरानी आवश्यक रहेको बताए। यसमा डेमोक्र्याटमध्ये ७१ प्रतिशत र रिपब्लिकनमध्ये ६२ प्रतिशतले समर्थन गरेका छन्। स्वतन्त्र मतदातामध्ये समर्थन केही कम थियो। उनीहरूमध्ये धेरैले यस विषयमा आफ्नो धारणा स्पष्ट नभएको बताएका थिए।
सर्वेक्षणले सामाजिक सञ्जाल कम्पनीलाई १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्ना प्लेटफर्ममा प्रवेश गर्न नदिन उमेर प्रमाणीकरणका उपकरण प्रयोग गर्न अनिवार्य गर्ने कानुनलाई ६६ प्रतिशत अमेरिकीले समर्थन गरेको पनि देखाएको छ। रिपब्लिकनमध्ये यसको समर्थन सबैभन्दा बढी ७४ प्रतिशत थियो भने डेमोक्र्याटमध्ये ६९ प्रतिशतले समर्थन गरेका थिए।
“कसैले त गर्नैपर्छ”
सन् २०२४ को निर्वाचनमा रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतदान गरेका टेनेसीका ६० वर्षीय मेकानिकल इन्जिनियर जेम्स बोसरडेटले अमेरिकी नागरिकको जीवनमा अमेरिकी सरकारको भूमिका कम हुनुपर्ने आफ्नो धारणा रहेको बताए। तर सामाजिक सञ्जाल कम्पनीमाथि कडाइ गर्ने विषयमा भने यो अपवाद हुन सक्ने उनको भनाइ छ।
“कसैले त गर्नैपर्छ,” उनले बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विषयमा भने। “के यो सरकारको काम हो? म चाहन्नँ कि यस्तो होस्। तर सायद हुनुपर्छ।”
अमेरिकी कंग्रेसले अहिलेसम्म सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्ने उद्देश्यले कुनै कानुन पारित गरेको छैन।
रोयटर्स/इप्सोसको सर्वेक्षणअनुसार ८५ प्रतिशत अमेरिकीले सामाजिक सञ्जाल बालबालिकाका लागि लत लाग्ने खालको हुन सक्ने बताएका छन्। त्यस्तै अनुपातका मानिसले सामाजिक सञ्जालको प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने बताएका छन्।
वासिङ्टन डीसीका ३४ वर्षीय क्रिस्टोफर चेनले सामाजिक सञ्जाल कम्पनीको किशोरमाथि अत्यधिक प्रभाव रहेको बताए। उनका अनुसार प्रविधि कम्पनीहरूले प्रयोगकर्ताले आफ्ना एपमा के हेर्ने भन्ने विषयमा धेरै नियन्त्रण राख्छन्।
“नियमन कस्तो हुनुपर्छ भन्ने मलाई थाहा छैन, तर जनताको सुरक्षाका लागि सरकारले केही गर्न आवश्यक छ,” सन् २०२४ को निर्वाचनमा ट्रम्पका डेमोक्र्याटिक प्रतिद्वन्द्वी कमला ह्यारिसलाई मतदान गरेका चेनले भने।
७३ वर्षीया पाउला डिकले सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकालाई अनुपयुक्त सामग्रीबाट टाढा राख्न अझ राम्रो काम गर्न सक्ने बताइन्। आफूले नातिनातिनीको हेरचाह गर्दा उनीहरूलाई युट्युब चलाउन नदिने भए पनि उनीहरूले यूट्युब चलाउने उपाय फेला पार्ने गरेको उनले बताइन्। कन्सासमा बस्ने डिकले सन् २०२४ मा ट्रम्पलाई मतदान गरेकी थिइन्।
“उनीहरूले आफ्ना अभिभावकले फोनमा लगाएका प्रतिबन्धलाई छल्ने उपाय फेला पार्छन्,” उनले भनिन्। “यस विषयमा उनीहरू निकै चलाख छन्।”
अमेरिकीलाई सामाजिक सञ्जाल मन पनि पर्छ
अमेरिकी नागरिकले सामाजिक सञ्जाल धेरै मन पराउने पनि सर्वेक्षणले देखाएको छ। ७० प्रतिशतले सामाजिक सञ्जालमा बिताउने समय रमाइलो हुने बताएका छन् भने ३५ प्रतिशतले यसले आफूलाई तनाव दिने बताएका छन्। उनीहरू सामाजिक सञ्जालको अत्यधिक प्रयोगबारे भने विभाजित छन्। ५२ प्रतिशतले आफूले दैनिक सामाजिक सञ्जालमा धेरै समय बिताउने बताएका छन् भने ४३ प्रतिशतले त्यस्तो नभएको बताएका छन्।
अनलाइनमार्फत गरिएको रोयटर्स/इप्सोस सर्वेक्षणमा अमेरिकाका ४ हजार ५०५ वयस्क सहभागी थिए। सर्वेक्षणको त्रुटि सीमा दुवैतर्फ २ प्रतिशत अंक रहेको थियो।


+ There are no comments
Add yours