मागभन्दा सात गुणा बढी आवेदन

२६ साउन, काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा साढे सात गुणाभन्दा बढीको आवेदन परेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सन् २०२६ मा इपिएसमार्फत दक्षिण कोरियाको रोजगारीमा सात हजार दुई जनाका लागि आवेदन माग गरेकोमा ७६ हजार १७२ जनाको आवेदन परेको जानकारी गराएको हो ।

विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालीका लागि आकर्षक गन्तव्य भएको र कमाइ एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनेको सङ्ख्या उच्च रहेको बताउनुभयो ।

उत्पादनतर्फ पाँच हजार, कृषि तथा पशुपालनतर्फ दुई हजार, सेवा र वनतर्फ एक/एक सय जनाको आवेदन माग गरेको छ । दक्षिण कोरियामा श्रमिकको माग अनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टममा उत्तीर्ण सङ्ख्या केही थपघट हुन सक्ने सो शाखाले जनाएको छ । सो शाखाका अनुसार उत्पादनतर्फ पाँच हजारका लागि ५२ हजार १२१ जनाले आवेदन दिएका छन् भने कृषि तथा पशुपालनतर्फ दुई हजारका लागि आवेदन माग गरेकामा २२ हजार ५१ जनाको आवेदन परेको छ । यस्तै सेवा र वनतर्फ एक/एक सय जनाको माग भएकोमा एक/एक हजार जनाको आवेदन परेको इपिएस कोरिया शाखाले जनाएको छ ।

शाखाका अनुसार विगतमा एउटै व्यक्तिले कृषि र उत्पादन दुवैतिर आवेदन दिने गरेकाले व्यवस्थापन समस्या भए पनि यस पटक भने एक व्यक्तिले एक क्षेत्रका लागि मात्रै दरखास्त फारम भर्न पाउने व्यवस्था गरेको थियो । प्रथम चरणको परीक्षा उत्तीर्ण गरेपछि छनोट गरिएको क्षेत्र परिवर्तन गर्न नपाइने पनि सो शाखाले यसअघि नै स्पष्ट पारिसकेको थियो ।

प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सिप परीक्षण र कार्यक्षमता मूल्याङ्कनमा समेत सहभागी भएर उत्तीर्ण भएपछि मात्रै छनोटमा पर्न सक्ने शाखाले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours