०८ असार, मुम्बई । मुम्बईका सातवटा मुख्य जलाशयहरूमा पानीको कुल मौज्दात घटेर जम्मा ९ प्रतिशतमा झरेपछि सहरमा खानेपानीको हाहाकार हुन सक्ने जोखिम बढेको छ। बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार मुम्बईमा पानी आपूर्ति गर्ने यी तालहरूमा अहिले पानीको मात्रा निकै चिन्ताजनक तहमा पुगेको हो।
मनसुन सुरु हुन ढिलाइ भएका कारण पानीको मुहान क्षेत्र (क्याचमेन्ट एरिया) मा पर्याप्त वर्षा हुन सकेको छैन। जसका कारण मुम्बईको कुल १४ लाख ४७ हजार ३६३ मिलियन लिटर क्षमतामध्ये हाल मात्र १ लाख ३० हजार २७५ मिलियन लिटर पानी मात्र बाँकी छ। यसले आगामी हप्ताहरूमा मुम्बईको खानेपानी सुरक्षामा ठुलो चुनौती थपेको छ।
मुम्बईमा पानी आपूर्ति गर्ने सातवटा प्रमुख तालहरूमा अपर वैतरणा, मिडल वैतरणा, भातसा, तान्सा, तुलसी, मोदक सागर र विहार रहेका छन्। यी जलाशयहरू मुम्बई, ठाणे र नासिक जिल्लाहरूमा फैलिएका छन्।
साना जलाशयहरूको अवस्था हेर्दा, मोदक सागरमा हाल २५.१८ प्रतिशत अर्थात् ३२ हजार ४६३ मिलियन लिटर पानी उपलब्ध छ। त्यस्तै, यस प्रणालीकै सबैभन्दा सानो ताल ‘तुलसी’ मा २२.२८ प्रतिशत अर्थात् १ हजार ७९२ मिलियन लिटर मात्र पानी बाँकी छ। अर्कोतर्फ, ‘विहार’ तालमा भने अन्य जलाशयहरूको तुलनामा भण्डारणको प्रतिशत अलि बढी देखिएको छ। कुल २७ हजार ६९८ मिलियन लिटर क्षमता भएको विहार ताल हाल ४१.४४ प्रतिशत भरिएको छ, जसमा ११ हजार ४७८ मिलियन लिटर पानी सञ्चित छ।


+ There are no comments
Add yours