०१ जेठ, नयाँ दिल्ली । बलिउड अभिनेता रणबीर कपुरले अयोध्यामा जग्गा किनेका छन् । अभिनेताले अयोध्याको रियल इस्टेट परियोजना ‘द सरयू’मा जग्गा किनेका छन् ।
समाचारअनुसार २ हजार १३४ वर्ग फिट जग्गाका लागि अभिनेताले ३ करोड ३१ लाख भारु खर्च गरेका छन् ।
‘द सरयू’मा जग्गा किन्ने रणवीर अमिताभ बच्चनपछि बलिउडका दोस्रो ठुला अभिनेता हुन् । ‘द सरयू’ सरयू नदीको किनारमा रहेको ७५ एकडको परियोजना हो । यस परियोजनामा एक भव्य क्लब हाउस, ३५ भन्दा बढी जीवनशैलीसँग सम्बन्धित सुविधाहरू बन्नेछ । यहाँ पाँच एकडमा द लीला होटल्सको शुद्ध शाकाहारी लक्जरी होटल पनि बन्दै छ ।
रणवीरले एक विज्ञप्तिमा अयोध्याले आफूलाई रोजेको भनेर भनेका छन् । रणवीर कपुर छिट्टै निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’मा देखिँदैछन् । हनुमान जयन्तीको अवसरमा फल्ममा भगवान् रामको रूपमा रणवीरको लुक सार्वजनिक गरिएको थियो । यस फिल्ममा रणवीरको निकै चर्चा भइरहेको छ ।
फिल्मको कुल बजेट लगभग ४ हजार करोड भारु रहेको रिपोर्ट गरिएको छ, जसले यसलाई भारतीय सिनेमाको सबैभन्दा महँगो फिल्ममध्ये एक भनिएको छ । यो फिल्म सबैभन्दा धेरै कमाउने भारतीय फिल्म दंगलका निर्देशक नितेश तिवारीले निर्देशन गरिरहेका छन् ।
फिल्मको संगीत ओस्कर विजेता एआर रहमान र हलिउड संगीतकार हंस जिमरले रचना गरिरहेका छन् । यो फिल्म नमित मल्होत्राको प्राइम फोकस स्टुडियो, डीएनईजी र यशको मोन्स्टर माइन्ड क्रिएसन्सले निर्माण गरिरहेका छन् । फिल्म आईम्याक्समा रिलिज हुनेछ।
फिल्मको भिजुअल इफेक्ट ओस्कर विजेता स्टुडियो डीएनईजी र प्राइम फोकसले ह्यान्डल गरिरहेका छन् । फिल्म दुई भागमा रिलिज हुनेछ । पहिलो भाग २०२६ को दिवालीमा र दोस्रो भाग २०२७ को दिवालीमा थिएटरहरूमा रिलिज हुनेछ ।


+ There are no comments
Add yours