०८ बैशाख, हेटौँडा । काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आइतबार केराको थोक मूल्य नै दर्जनको अधिकतम २६० रुपैयाँ थियो । सोमबार भने कालीमाटीले केराको मूल्यसूची नै निर्धारण गरेन ।
कालीमाटीबाट बाहिर निस्कने बित्तिकै खुद्रा फलफूल पसलहरूमा केराको मूल्य उच्च छ । उपभोक्ताले चर्को मूल्य तिरेर किन्न बाध्य भइरहँदा केरा उत्पादक किसानले भने निकै कम दरमा बिक्री गर्न विवश छन् ।
केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतो केरा विक्री बापत आफूहरूले प्रति कोसा ४ देखि ५ रुपैयाँ मात्र पाउने गरेको बताउँछन् । यो भनेको प्रतिकोसा ५ रुपैयाँकै दरले हिसाब गर्ने हो भने पनि किसानले पाउने ६० रुपैयाँ मात्रै हो ।
‘हाल चितवनका किसानले केरा विक्री बापत प्रतिकोसा ४ देखि ५ रुपैयाँ मात्र पाउँछन् । जसअनुसार एक दर्जनको ५० देखि ६० रुपैयाँ हुन्छ । तर, स्थानीय नारायणगढ बजारमै उपभोक्ताले सोही केरा प्रति दर्जन १५० रुपैयाँसम्म तिर्नुपर्छ ।’
कृषक र उपभोक्ताको बिचको मूल्य तेब्बर फरक रहेको उनको भनाइ छ । बिचको ठुलो मार्जिन थोक तथा खुद्रा बिक्रेताले लिने गरेको उनको भनाइ छ । यस्तो असमान मूल्यलाई समायोजन गर्न राज्यले चासो दिनुपर्ने उनको जो छ ।
चितवनमा केरा खेती उल्लेख्य वृद्धि भए पनि बजार मूल्यका कारण नै समस्या उत्पन्न भइरहेको उनको भनाइ छ ।
अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष किसानले केही राम्रो मूल्य पाएपनि दिगो बजार व्यवस्थापन र सरकारी सहयोगका लागि अझै धेरै काम गर्न बाँकी रहेको अध्यक्ष महतोले बताए ।
नेपाली केराले बजार नपाउनुको मुख्य कारण भारतीय केराको आयात रहेको समेत अध्यक्ष महतोले खुलाए । गत दसैँ, तिहार र छठ जस्ता पर्वहरूमा भारतीय केराका कारण नेपाली केरा बोटमै पाकेर झर्ने अवस्थामा पुगेको उनले स्मरण गरे ।
चितवन केराको सुपर जोन भए पनि राज्यले किसानका समस्याबारे कुनै सोधपुछ नगरेको महतोको गुनासो छ । उनका अनुसार सरकारले बिमामा केही अनुदान र यान्त्रिकीकरणमा सहयोग गरे पनि पहिले दिँदै आएको ब्याज अनुदान अहिले बन्द गरेको छ ।
सुपरजोनका लागि पर्याप्त बजेट नहुने र तोकिएको लक्ष्यअनुसारको बजेट पनि नआउने समस्या रहेको उनले बताए । समयमा बीमाको भुक्तानी नपाउने र नीतिगत झन्झटहरूका कारण किसानले सास्ती खेप्नुपरिरहेको उनको भनाइ छ ।
चितवनका केरा उत्पादक किसान सुन्दर न्यौपानेले पनि केराको उत्पादन लागत र बजार व्यवस्थापनमा चुनौती रहेको बताए ।
उनले हरियो प्रजातिको केरा खेती गर्दै आएका छन् । न्यौपानेका अनुसार अहिले हरियो प्रजातिको केराको अफ–सिजन हो, भने मालभोग केराको सिजन सुरु हुने समय हो । उनले आफ्नो कृषि फार्मबाट दैनिक औसत एक गाडी केरा उत्पादन गरिरहेको बताए । अहिले नेपाल र उत्तर भारतमा केराको उत्पादन कम हुने समय भएकाले दक्षिण भारतबाट आयात हुने केरामा बजार बढी निर्भर रहेको उनको भनाइ छ ।
अहिले बजारमा केराको मूल्य बढेको देखिए पनि किसानले पाउने वास्तविक मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा ठुलो अन्तर रहेको उनले पनि बताए ।
‘मैले आफ्नो फार्मबाट उत्पादित केरामध्ये दैनिक दुई गाडी काठमाडौँ पठाउने गर्छु भने बाँकी यतै स्थानीय बजारमा खपत हुने गरेको छ,’ उनले भने, ‘हामीले अहिले एक क्रेट केरा ७०० रुपैयाँमा बेच्छौँ । जसमा प्याकिङ खर्च थप २५ रुपैयाँ लाग्छ । एक क्रेटमा १२५ देखि १३० कोसा केरा हुन्छ । उक्त हिसाबले एउटा कोसाको मूल्य करिब साढे ५ रुपैयाँसम्म पर्न आउँछ ।’
केरा उत्पादनको लागत प्रति कोसा करिब ४ रुपैयाँ पर्ने उनको भनाइ छ । साढे ५ रुपैयाँमा बिक्री गर्दा प्रति कोसा करिब डेढ देखि दुई रुपैयाँ नाफा हुने उनले बताए । कम्तीमा साढे ४ रुपैयाँ मूल्य नपाए किसानको लगानी पनि उठ्न नसक्ने उनको भनाइ छ ।
यस्तै अध्यक्ष महतो चितवनमा हाल करिब ३ हजार बिघा क्षेत्रफलमा केरा खेती भइरहेको बताउँछन् । जसमा करिब ७१२ जना किसान प्रत्यक्ष आबद्ध रहेका छन् । जिल्लाबाट वार्षिक ७० हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको उनको भनाइ छ ।
वार्षिक रूपमा चितवनबाट करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको केरा बिक्री बापत आर्थिक कारोबार हुने गरेको उनले बताए । चालु आर्थिक वर्षमा मात्र थप ५ लाख केराका बिरुवा रोपिएको र किसानहरू क्षेत्रफल विस्तार गर्न उत्साहित रहेको उनले बताए ।
बिचौलियाहरूको चलखेल
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बजारमा केराको अत्यधिक मूल्यवृद्धि हुनुमा बिचौलियाहरूको चलखेल र विगतको सरकारको अदूरदर्शी नीति मुख्य जिम्मेवार रहेको बताउँछन् । उनले वास्तविक किसानले न्यून मूल्य पाइरहेको तर उपभोक्ताले भने चर्को मूल्य तिर्नुपरेको भन्दै आक्रोश व्यक्त गरे ।
बजारमा केराको मूल्य कतिसम्म अस्वभाविक छ भन्ने उदाहरण दिँदै उनले हालैको आमाको मुख हेर्ने दिनमा उपभोक्ताले प्रतिदर्जन ४ सय ५० रुपैयाँसम्म तिर्नुपरेको बताए । त्यही समयमा उत्पादन गर्ने किसानले भने प्रतिदर्जन ५० देखि ६० रुपैयाँ पनि नपाएको उनको भनाइ छ । बिचौलियाहरूले किसानबाट सस्तोमा उठाएर उपभोक्तालाई महँगोमा बेच्दा किसान र उपभोक्ता दुवै मारमा परेको उनले बताए ।
यस समस्याको समाधानका लागि उनले सरकारलाई केही सुझाव समेत दिएका छन् । महर्जनका अनुसार सरकारले गहुँ, धान र मकैको जस्तै केराको पनि ुन्यूनतम समर्थन मूल्य तोक्नुपर्छ । ‘स्वदेशी उत्पादनले माग धान्न नसकेको अवस्थामा गुणस्तरीय केरा आयात गरी बजारमा स्वस्थ प्रतिस्पर्धा गराउनुपर्छ’, उनले रातोपाटीसँग भने, ‘आपूर्ति व्यवस्थालाई सुदृढ गर्दै बिचौलियाहरूलाई निर्ममतापूर्वक कारबाहीको दायरामा ल्याउनु नै अहिलेको आवश्यकता हो ।’ उनले नयाँ सरकारले किसानको समस्या बुझेर सरोकार पक्षको हितमा काम गर्नुपर्नेमा जोड दिए ।


+ There are no comments
Add yours