०७ वैशाख, काठमाडौँ ।
“आज कति गते?”
यही प्रश्नबाट सुरु भएको नेपाली पात्रोको यात्रा, आज १ करोड ३० लाखभन्दा बढी डाउनलोड सहित् विश्वभर रहेका नेपालीहरूलाई तिथि-मिति, चाडपर्व र आफ्नो संस्कृतिसँग जोडिराख्ने प्रयासमा लागिरहेको छ।आज, हामी केवल नयाँ वर्ष सुरु गरिरहेका छैनौँ, हामी नयाँ सोच र नयाँ स्वरूपसहित अगाडि बढ्दैछौँ। “पात्रो केवल मिति हेर्ने साधन मात्र नभई, हाम्रो परम्परा, मूल्यमान्यता र साझा पहिचानलाई पुस्तौँपुस्ता र देशदेशान्तरसम्म जोड्ने एक जीवन्त सांस्कृतिक धरोहर हो भन्नेमा हामी विश्वास गर्छौँ। यसै विश्वास र नयाँ पहिचानसहित, बहुउपयोगी जानकारी, सिर्जनशील अभिव्यक्ति, कला प्रवर्धन र प्रविधिमार्फत विश्वभर रहेका नेपालीहरूलाई सुसूचित राख्दै आफ्नो संस्कृति तथा पहिचानसँग जोडिराख्ने प्रयासलाई निरन्तर अघि बढाउनेछौँ,” नेपाली पात्रोका संस्थापक विरिजन महर्जनले भन्नुभयो।
नेपाली पात्रोको नयाँ लोगोमा नेपाली अक्षर “ने” को अमूर्त रूप प्रस्तुत गरिएको छ, जसले नेपाल र नेपाली पहिचानलाई प्रतीकात्मक रूपमा झल्काउँछ। यसले क्यालेन्डर परिवर्तनको गतिशीलता समेत प्रतिनिधित्व गर्दै समयको निरन्तर प्रवाह र परिवर्तनको भाव व्यक्त गर्छ। यो केवल दृश्य परिवर्तन मात्र नभई, नेपाली पात्रोको मूल आधार र नेपाली पहिचानसँग अझ गहिरो सम्बन्धको अभिव्यक्ति हो।
यससँगै नेपाली पात्रोले संस्कृति, समुदाय, सिर्जना र प्रविधिलाई एकसाथ जोड्दै अझ अर्थपूर्ण र प्रेरणादायी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
नयाँ वर्ष २०८३ को मंगलमय शुभकामना !


+ There are no comments
Add yours