इरानसँगको युद्धमा अमेरिकी सेनाको क्षति हुँदा ट्रम्पले दिए चेतावनी, द्वन्द्व अझै चार हप्ता लम्बिने

१८ फागुन, काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सुरु गरेको सैन्य कारबाही तीव्र भएसँगै आइतबार पहिलो पटक अमेरिकी सेनाको तर्फबाट मानवीय क्षतिको विवरण सार्वजनिक भएको छ।

पछिल्लो दुई दिनदेखि जारी यस युद्धमा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्।

कुवेतस्थित सैन्य आधार शिविरमा इरानको प्रतिशोधात्मक आक्रमणका क्रममा यी सैनिकहरू मारिएको दाबी गरिएको छ। गत वर्ष कार्यभार सम्हालेयता ट्रम्पले चालेका ठूला सैन्य कदमहरूमध्ये यो पहिलो ठुलो क्षति हो।

युद्धको मैदानमा अमेरिकी सेनाले अहिलेसम्म इरानका ४८ जना उच्च नेताहरू मारिएको र इरानी नौसेनाका नौवटा युद्धपोतहरू ध्वस्त पारिएको दाबी गरेको छ।

अमेरिकी कमान्डका अनुसार शनिबारदेखि सुरु भएको यस अपरेसनमा विमान र युद्धपोतहरूले इरानका एक हजारभन्दा बढी लक्ष्यहरूमा आक्रमण गरिसकेका छन्।

यसमा बी-२ स्टिल्थ बमवर्षक विमानहरूले इरानका भूमिगत मिसाइल अखडाहरूमा भारी बम प्रहार गरेका छन्।

राष्ट्रपति ट्रम्पले यस द्वन्द्व अझै चार हप्तासम्म लम्बिन सक्ने संकेत दिँदै थप सैन्य क्षति हुन सक्ने भन्दै अमेरिकी जनतालाई मानसिक रूपमा तयार रहन आग्रह गरेका छन्। उनले मारिएका सैनिकको मृत्युको बदला लिने र आतंककारीहरूलाई कडा सजाय दिने उद्घोष समेत गरेका छन्।

यसैबीच, इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु र निरन्तरको आक्रमणले विश्व अर्थतन्त्र, ढुवानी र हवाई यात्रा क्षेत्रमा ठूलो हलचल पैदा गरेको छ।

इरानका विदेशमन्त्रीले अफगानिस्तान र इराकमा अमेरिकाले भोगेको पराजयबाट आफूहरूले पाठ सिकेको बताउँदै राजधानी तेहरानमा हुने बमबारीले आफ्नो युद्ध गर्ने क्षमतामा कुनै असर नपर्ने चेतावनी दिएका छन्।

उनले इरानी सेना प्रतिकारका लागि पूर्ण रूपमा तयार रहेको सन्देश सामाजिक सञ्जालमार्फत दिएका छन्।

अमेरिकाभित्र भने यो युद्धलाई लिएर जनमत विभाजित देखिएको छ। रोयटर्स र इप्सोसले गरेको पछिल्लो सर्वेक्षण अनुसार केवल २७ प्रतिशत अमेरिकीले मात्र इरानमाथिको यस आक्रमणलाई समर्थन गरेका छन्।

४३ प्रतिशतले यसको विरोध गरेका छन् भने २९ प्रतिशत नागरिक अझै अन्योलमा छन्। संयुक्त राष्ट्र संघका लागि अमेरिकी दूत माइकल वाल्ट्जले भने स्वतन्त्रता कहिल्यै निःशुल्क प्राप्त हुँदैन भन्दै सैन्य कारबाहीको बचाउ गरेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours