नागु क्षेत्रका बासिन्दाले सडक निर्माणको माग पूरा नभएसम्म आगामी निर्वाचनमा मतदान नगर्ने ‘नो भोट’ निर्णय

०३ फागुन, काठमाडाैँ । दार्चुलाको नौगाड गाउँपालिका–१ स्थित नागु क्षेत्रका बासिन्दाले दल्लेख–नागु सडक निर्माणको माग पूरा नभएसम्म आगामी निर्वाचनमा मतदान नगर्ने ‘नो भोट’ निर्णय गरेका छन्। विकास निर्माणका विषयमा पटक–पटक आश्वासन पाए पनि कार्यान्वयन नभएको भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन्।

स्थानीय सुशीला डडालले २०७० सालदेखि निरन्तर मतदान गर्दै आए पनि यसपटक भने भोट नदिने अडान लिएकी छन्। सडक निर्माणको आश्वासन वर्षौंदेखि दोहोरिए पनि गाउँसम्म सडक नपुगेको, हिँड्ने गोरेटोसमेत जोखिमपूर्ण रहेको र वर्षेनि घोडा–खच्चड भीरबाट लडेर मर्ने अवस्था रहेको उनले गुनासो गरिन्। विद्यालय भवन अभाव, बाढीले झोलुङ्गे पुल बगाएपछि पाँच मिनेटको दूरी पार गर्न एक घण्टा लाग्ने, दूरसञ्चार सेवा अव्यवस्थित हुने जस्ता समस्या अझै समाधान नभएको उनको भनाइ छ।

स्थानीय ठगेन्द्रसिंह जुहारीले कम्तीमा सडक काट्ने काम सुरु भएको भए मतदान गर्न तयार हुने बताए। अर्का स्थानीय लालसिंह डडालले २०६४ देखि २०७९ सम्म विभिन्न दलका उम्मेदवार जिताए पनि विकासका काम २० प्रतिशत पनि कार्यान्वयन नभएको आरोप लगाए। नागु विकास संघर्ष समितिका संयोजक करनसिंह डडालका अनुसार दल्लेख–नागु सडक निर्माणको स्पष्ट लिखित प्रतिबद्धता नआएसम्म कुनै पनि चुनावमा सहभागी नहुने निष्कर्षमा स्थानीय पुगेका छन्।

स्थानीयलाई फकाउन माघ २४ गते प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको सरकारी टोली नागु पुगे पनि सार्थकता पाउन सकेन। टोलीले नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य तथा पशु उपचार सेवा सञ्चालन गरेको थियो। तर स्थानीयले सडक निर्माणबारे लिखित प्रतिबद्धता माग गरेका छन्। प्रजिअ पौडेलका अनुसार उम्मेदवारसँग संयुक्त छलफल गर्न स्थानीय तयार छन्, तर अहिलेसम्म कुनै ठोस प्रतिक्रिया आएको छैन।

दल्लेख–नागु–सिना सडक चालु आर्थिक वर्षमा बजेटविहीन बनेको छ। प्रदेश सरकारअन्तर्गत रहेको उक्त सडकमा गत वर्षसम्म बजेट विनियोजन भए पनि यस वर्ष शून्य बजेट राखिएको छ। हालसम्म दल्लेखदेखि पारिमेलासम्म करिब ९.४ किलोमिटर सडक निर्माण भए पनि डीपीआरअनुसारको बाँकी खण्ड अधुरै छ। पिनातोलीदेखि नागु क्षेत्र जोड्न अझै करिब १० किलोमिटर सडक निर्माण हुन बाँकी छ।

निर्वाचन बहिष्कार घोषणापछि सरकारले नागु क्षेत्रमा खाद्यान्न ढुवानी सुरु गरेको छ। पहिलो चरणमा ३३ कठ्ठा चामल पठाइएको छ भने वडानम्बर १ का लागि एक हजार क्विन्टल खाद्यान्न ढुवानी भइरहेको छ। तर स्थानीयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपलब्ध गराएको चामल बजारभन्दा महँगो भएको भन्दै असन्तुष्टि जनाएका छन्।

विकासको अभाव, अधुरा योजना र बजेट कटौतीका कारण निराश बनेका नागुवासीले दल्लेख–नागु सडक निर्माणलाई मुख्य मागका रूपमा अघि सारेका छन्। सडक निर्माणको ठोस प्रगति नभएसम्म ‘नो भोट’ अडान कायमै रहने उनीहरूको चेतावनी छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours