३० पुष, काठमाडाैँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियामा देखिएको अन्योल चिर्दै आज (बुधबार) उम्मेदवारी मनोनयन हुने भएको छ । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र विवादका कारण मंगलबार स्थगित भएको मनोनयन दर्ता प्रक्रिया आज बिहानका लागि तय गरिएको हो ।
निर्वाचन समिति संयोजक सीताराम केसीले दिएको जानकारी अनुसार, आज बिहान ८ देखि ९ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । मंगलबार साँझ नै उम्मेदवारी दर्ता खुला गरिए पनि नेताहरूबीचको विवाद नसुल्झिएपछि तालिका हेरफेर गर्दै बुधबारका लागि सारिएको थियो ।

किन लम्बियो महाधिवेशन ?
गत पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नीतिगत बहसभन्दा पनि आन्तरिक शक्ति संघर्षको छायामा परेको छ । विशेष गरी संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधर समूहबीचको ‘इगो’ र राजनीतिक भविष्यको सुनिश्चितताको विषय नटुंगिदा महाधिवेशन लम्बिन पुगेको हो ।
स्रोतका अनुसार, दुई पक्षबीच मुख्यतया दुईवटा एजेन्डामा ‘काँडे भिडन्त’ चलिरहेको छ । पहिलो र सबैभन्दा पेचिलो विषय— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि नै वर्तमान सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने माग हो । वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेताहरूले देउवाको सम्मानजनक बहिर्गमनको सर्त अघि सारेका छन् भने संस्थापन पक्षले यसलाई सिधै अस्वीकार गरेको छ ।
दोस्रो विवादित विषय निर्वाचनको टिकट वितरणसँग जोडिएको छ । असन्तुष्ट पक्षले आसन्न आम निर्वाचनमा उम्मेदवारलाई टिकट दिँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर चल्नुपर्ने अडान राखेको छ । तर, संस्थापन पक्षले पार्टीको आधिकारिक उम्मेदवार तय गर्ने अधिकार कटौती गर्न नमानेपछि वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
सहमति नजुटे पनि लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन निर्वाचन समितिले आज बिहान छोटो समय राखेर मनोनयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।


+ There are no comments
Add yours