२३ मंसिर, काठमाडौँ । आज ९ डिसेम्बर। विश्व इतिहासका विभिन्न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९७९- दादुरा उन्मुलन भएको घोषणा
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आजकै दिन दादुरा विश्वभरबाट उन्मुलन भएको घोषणा गरेको थियो। विभिन्न चरणमा सञ्चालित खोप अभियानपछि यस्तो घोषणा गरिएको थियो। हालसम्म मानिसमा लाग्ने दादुरा र पशुहरूमा लाग्ने रिन्डरपेस्ट रोग उन्मुलन भएका छन्। रिन्डरपेस्टलाई सन् २०११ मा उन्मुलन भएको घोषणा गरिएको थियो।
– सन् १९६१- अफ्रिकी मुलुक टांगानिका स्वतन्त्र
तत्कालीन पूर्वी अफ्रिकी मुलुक टांगानिका आजकै दिन ब्रिटिस पञ्जाबाट मुक्त भएको थियो। उक्त मुलुक सन् १९१६ देखि ब्रिटिस पञ्जामा थियो। पछि यो मुलुक जर्मन पूर्वी अफ्रिका बन्यो। अप्रिल १९६४ मा यो मुलुक पिपुल्स रिपब्लिक अफ जंजिबारमा सामेल भयो। अहिले यो संयुक्त गणराज्य तान्जानियामा सामेल छ।
– सन् १८९३- फ्रान्सेली चेम्बर अफ डेपुटिजमाथि बमबारी
फ्रान्सेली अराजकतावादी अगस्टे भाइलेन्टले आजकै दिन फ्रान्सको चेम्बर अफ डेपुटिजमा बमबारी गराएका थिए। त्यसबाट कोही घाइते भएनन्। तर, त्यस अपराधका निम्ति अगस्टेलाई पक्राउ गरेर फाँसी दिइयो।
– सन् १९९०- लेख वालेन्सा पोल्यान्डको राष्ट्रपति निर्वाचित
नोबेल शान्ति पुरस्कार विजेता लेख वालेन्सा आजकै दिन पोल्यान्डको राष्ट्रपति निर्वाचित भएका थिए। उनले पोल्यान्डमा स्वतन्त्र ट्रेड युनियन सोलिडारिटीको नेतृत्व गरेका थिए। मुलुकको पहिलो राष्ट्रपति चुनावमा उनी भारी बहुमतका साथ निर्वाचित भएका थिए। सन् १९८३ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
– सन् २००६- जिग्मे सिंगे वाङचुकले त्यागे राजगद्दी
सन् २००६ मा आजकै दिन भुटानका तत्कालीन राजा जिग्मे सिंगे वाङचुकले राजगद्दी त्यागेका थिए। उनी सन् १९७२ देखि भुटानका राजा थिए। राजगद्दी त्यागेर उनले आफ्ना छोरा जिग्मे खेसर नाम्ग्याल वाङचुकलाई राजा बनाएका थिए। बाबु जिग्मे दोर्जी वाङचुकको निधनपछि उनी राजा बनेका थिए।
– सन् २०१६- दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग
भ्रष्टाचारको आरोपमा आजकै दिन दक्षिण कोरियाकी तत्कालीन राष्ट्रपति पार्क गुन-हेमाथि महाभियोग लगाइएको थियो। नेसनल एसेम्ब्लीले गरेको निर्णयविरुद्ध उनी अदालत गइन्। तर, संवैधानिक अदालतले संसदको निर्णय सदर गरेपछि पदबाट राजीनामा दिइन्।
– सन् २०१८- अयोध्यामा राम मन्दिर बनाउन माग गर्दै विशाल प्रदर्शन
सन् २०१८ मा आजकै दिन भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर बनाउन माग गर्दै राजधानी नयाँदिल्लीमा लाखौं मानिसले प्रदर्शन गरेका थिए। सन् १९९० को दशकदेखि त्यहाँ राम मन्दिर र बाबरी मस्जिदसम्बन्धी विवाद थियो। पछि राम मन्दिर बनेर भव्य समारोहबीच उद्घाटन पनि भइसकेको छ।
– सन् २०२१- मेक्सिकोमा मारिए ५४ आप्रवासी
सन् २०२१ मा आजकै दिन आप्रवासी बोकेको एक ट्रेलर ट्रकसँग ठोक्किँदा ५४ जनाले ज्यान गुमाएका थिए। ट्रेलरमा डेढ सय आप्रवासी सवार थिए।
– सन् २०२२- युरोपियन संसदकी उपसभापति गिरफ्तार
सन् २०२२ मा आजकै दिन युरोपियन संसदकी उपसभापति इभा काइली पक्राउ परेकी थिइन्। ‘कतारगेट’ भ्रष्टाचार काण्डमा संलग्नता देखिएपछि उनलाई गिरफ्तार गरिएको थियो।
– सन् २०२२- डार्बिनको ‘थ्यौरी अफ इभोलुसन’लाई ८ लाख ८२ हजार डलर
सन् २०२२ मा आजकै दिन चार्ल्स डार्बिनको हस्तलिखित ‘थ्यौरी अफ इभोलुसन’ ८ लाख ८२ हजार अमेरिकी डलरमा बिक्री भएको थियो। उक्त हस्तलिखित कपी उनले सन् १८६५ मा लेखेका थिए।
– सन् २०२४- गुगलको क्वान्टम कम्प्युटर
सन् २०२४ मा गुगलले एक नयाँ क्वान्टम कम्प्युटर सार्वजनिक गरेको थियो। उक्त कम्प्युटरले ५ मिनटमा यस्तो गणितीय गणना गर्न सक्छ, जो हालसम्मको सबैभन्दा शक्तिशाली मानिएको सुपर कम्प्युटरले १० सेप्टिलियन वर्षमा पनि पूरा गर्न सक्दैन।


+ There are no comments
Add yours