२५ कार्तिक, एजेन्सी। भारतीय फरेन्सिक टोलीहरूले मङ्गलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको विनाशकारी कार विस्फोटको खोजी कार्य जारी राखेका छन्।
सोमबार राति भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको र १९ जना घाइते भएको पुष्टि गरिएको छ।
विस्फोट पुरानो दिल्लीको भीडभाडयुक्त क्षेत्रमा, ऐतिहासिक लालकिल्ला नजिकै भएको थियो। विस्फोटपछिको आगलागीले वरिपरिका अन्य सवारी साधनहरू पनि जलेका थिए। प्रहरीले अहिलेसम्म विस्फोटको कारणबारे कुनै आधिकारिक विवरण दिएको छैन।
गृहमन्त्री अमित शाहले पत्रकारहरूसँग कुरा गर्दै भने, “सुरक्षा निकायहरूले सबै कोणबाट अनुसन्धान गरिरहेका छन्। फरेन्सिक नमूनाहरूको विश्लेषण नभएसम्म घटनाको वास्तविक कारण बताउन कठिन छ।”
मङ्गलबार बिहान एएफपीका पत्रकारहरूले विस्फोटस्थलमा प्रहरीद्वारा सेतो कपडाले घेरेर राखिएको क्षेत्रमा जलेका गाडीहरूको भग्नावशेष देखेका थिए। घटनास्थलमा फरेन्सिक विज्ञ र आतङ्कवाद विरोधी एकाइका अधिकारीहरू प्रमाण सङ्कलनमा व्यस्त थिए। नयाँदिल्लीभरि सुरक्षा कडा पारिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले गृहमन्त्री अमित शाहसँग ‘स्थितिको प्रत्यक्ष समीक्षा’ गरेको र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


+ There are no comments
Add yours