२८ भदाै, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले नवनियुक्त अन्तरिम मन्त्रिपरिषदमा आफू सहभागी नहुने बताएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश जारी गर्दै उनले पदमा नरही सरकारलाई पूर्ण समर्थन गर्ने बताएकी हुन् ।
श्रेष्ठले लेखेकी छन्, ‘म अन्तरिम मन्त्रिमण्डलमा जान लागेको हैन । मेरो यस सरकारप्रति पूर्ण समर्थन छ ।’ उनले यो सरकारलाई असफल हुने सहुलियत नभएको भन्दै पृष्ठभूमिमा बसेर आफ्नो अनुभव, सञ्जाल र समय दिएर सरकारलाई सफल बनाउन सहयोग गर्ने बताएकी छन् ।

जेनजीको आन्दोलनपछि पुरानो शक्तिसँगको सहकार्यले आन्दोलनको मर्म प्रदूषित हुने गरेको भन्दै उनले आफू यसपटक त्यस्तो प्रदूषणको कारक नबन्ने स्पष्ट पारेकी छन् । उनले भनेकी छन्, ‘यसको उपलब्धि संस्थागत गर्न दिलोज्यान दिएर काम गर्छु ।’ उनले आफ्नो उद्देश्य ‘सत्ता होइन, सेवा गर्ने’, ‘कुर्सी होइन, कर्म गर्ने’ र ‘नाम होइन, काम गर्ने’ रहेको उल्लेख गरेकी छन् ।


+ There are no comments
Add yours