२३ भदाै, काठमाडौँ । देशमा व्याप्त भ्रष्टाचार, बेतिथि र सरकारले गरेको सामाजिक सञ्जाल बन्दका विरुद्ध जेनजी पुस्ताले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछन् । सोमबार बिहान ११ बजे माइतीघरमा भेला भएर जेनजी पुस्ताले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका हुन् ।
सरकारले नेपालमा दर्ता नभएका फेसबुकसहितका सामाजिक सञ्जाललाई निस्क्रिय बनाएपछि आक्रोशिन बनेको जेनजी पुस्ता ‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध’ भन्दै प्रदर्शनमा उत्रन लागेको हो ।
माइतीघरदेखि नयाँ बानेश्वरको एभरेस्ट होटलसम्मको बिच सडकमा जेनजी पुस्ताले प्रदर्शनको तयारी गरेको छ । जेनजी युवापुस्ताका तर्फबाट सवल गौतम र पुरुषोत्तम यादवले सूचना जारी गर्दै प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् ।

‘जवाफदेही, पारदर्शिता र सुधारको आन्दोलनका लागि शान्तिपूर्ण कानुनी र अडिग भएर उभिएका छौँ। हाम्रो मिसन स्पष्ट छः भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चै कानुनी र राजनीतिक हस्तक्षेपविहीन बनाउने ताकि भ्रष्टाचारलाई निस्प्रभावि पार्न सकियोस् र न्याय, शान्ति र विकास सम्भव होस्,’ सूचनामा भनिएको छ ।
सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्तालाई जेनजी पुस्ता भन्ने गरिएको छ । ‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’को आयोजनामा हुन लागेको आजको प्रदर्शनमा २८ वर्ष उमेरसम्मका युवाहरू सहभागी हुने बताइएको छ ।
उनीहरुलाई विभिन्न संघसंस्था र व्यक्तिहरूले पनि एक्यवद्धता जनाएका छन् । विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलामा उपस्थित भएर देशमा व्याप्त भ्रष्टाचार र बेतिथि अन्त्यका लागि खबरदारी गर्नसमेत उनीहरूले आह्वान गरेका छन् ।
उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने बताएका छन् । आन्दोलनमा जेनजी पुस्ता तथा विद्यार्थी मात्रै सहभागी हुने उनीहरूको भनाइ छ ।


+ There are no comments
Add yours